Nepal Life

डिजिटलाइजेसन र सुधार

Global Ime detail Page
  • डा. चन्दन सापकोटा
  • 2022 Jan Wed 20:48
डिजिटलाइजेसन र सुधार
National Life

 

सन् १९९० को दशकबाट सुरु गरिएको आर्थिक संरचनात्मक सुधारले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गर्यो । यस्तो सुधार संस्थागत, नीतिगत, नियमन र कानुनी रूपमा सबै क्षेत्रमा गरिएको थियो । त्यसबेला निजी क्षेत्रलाई अगाडि सारेर सरकारी स्तरमा सुधार ल्याउन खोजिएको थियो । सरकारले घाटामा गएका केही सरकारी संस्थानहरूलाई निजीकरण गरेको थियो तर त्यसमा राजनीति हावी हुँदा प्रभावकारी हुन सकेन । आर्थिक सुधारले भर्खरै जरा गाड्दै थियो । त्यसैबेला २०५२ बाट माओवादी द्वन्द सुरु भयो । हामीले कागजमा गरेको संरचनात्मक परिवर्तनको खाका द्वन्द्व सुरु भएपछि कार्यान्वयनमा लैजान सकेनौँ । माओवादी द्वन्द्वका बेला काम गर्न घुस दिनुपर्ने संस्कार मौलायो । यसले विकास निर्माणका काम अगाडि बढ्न सकेनन् । स्वदेशमा रोजगारीका अवसर नहुँदा युवा जमात विदेश पलायन हुन थाल्यो भने देशमा घरजग्गा कारोबार मौलायो ।

आर्थिक सुधारका काम गर्न नसक्दा त्यसको फाइदा माओवादीलाई पनि पुग्यो । माओवादी द्वन्द्वपछि पुनः सुधारका काम र संस्थागत संरचनामा सुधार हुँदै गर्दा फेरि राजाले शासनसत्ता आफ्नो हातमा लिए । हामीले कागजमा ल्याएको आर्थिक सुधारको काम सन् २००६ सम्मै व्यवहारमा लैजान पाएनौ । देश संघीयतामा गइसकेपछि पनि चुनाव र संविधान निर्माणमा लामो समयसम्म अल्झियौं ।

यस बीचमा हामीले दिगो रूपमा आर्थिक सुधारका कामलाई अगाडि बढाउन सकेनौँ । विदेश जानेको संख्या बढिरहेकाले अर्थतन्त्र रेमिट्यान्सले नै धानिरहेको थियो । तर, अहिले कोभिड–१९ पछि भने हामी केही समस्यामा परेका छौँ । अहिले वित्तीय घाटा बढ्नुका साथै विकास निर्माणका लागि राजस्व संकलन कम भएको छ । अहिले विश्वको अर्थतन्त्र पनि संरचनात्मक रूपमै पहिलेको भन्दा फरक हुँदै गएको छ । यस्तो अवस्थामा हाम्रो विकासको रणनीति के ? नयाँ ढंगले सोच्ने बेला आएको छ । अहिले विश्वभर काम गर्ने तरिकाका साथै व्यापारिक दृष्टिकोणमा नै परिवर्तन आएको छ । यस्तो परिप्रेक्ष्यमा हाम्रो विकासको एजेन्डा के हो ? प्रस्ट हुनु आवश्यक छ । पहिलेजस्तो हाइड्रोपावरको निर्यात गर्ने हाम्रो विकासको एजेन्डा हुन सक्दैन । अहिलेसम्म देशले आम्दानी गर्ने भनेको वस्तु निर्यात, पर्यटन, रेमिट्यान्स र अनुदान सहयोगबाट हो । अहिले यी सबै क्षेत्रबाट आउने पैसा घटिरहेको छ । अब यी क्षेत्रबाट आउने पैसाले मात्रै देशको अर्थतन्त्र थेग्दैन ।

डिजिटलाइजेसनको अवसर

अब हामी देशको आर्थिक विकासका लागि नयाँ रणनीति बनाएर अगाडि बढ्नुपर्छ । हाम्रो सोच्ने, सञ्चालन गर्ने र संगठित गर्ने तरिकामा डिजिटलाइजेसनको भूमिका महत्वपूर्ण हुन्छ । डिजिटलाइजेसनको मुख्य उद्देश्य छिटो काम हुनाका साथै ग्राहकले राम्रोसँग सेवा पाउन भन्ने नै हो । डिजिटलाइजेसनको उपयोग गरेर उपभोक्ताले सरकारी र निजी क्षेत्रबाट पाउने सेवालाई गुणस्तरीय बनाउने हो । सरकारी क्षेत्रले खर्चको नियमन राम्रोसँग नहुँदा यो बढिरहेको अवस्था छ । सामाजिक सुरक्षा भत्ता मरेका मान्छेका नाममा पनि गइरहेको छ । यस्ता चुहावट नियन्त्रण गर्ने मुख्य उपाय भनेकै डिजिटलाइजेसन हो । प्रत्येक मानिसलाई बायोमेट्रिक राष्ट्रिय परिचयपत्र दिएर त्यसलाई बैंक खाता र फोन नम्बरसँग लिंक गर्नेबित्तिकै राज्यबाट गलत मान्छेले सामाजिक भत्ता लिन सक्दैन ।

अब एउटा डिजिटल परिचयपत्रको सेरोफेरोमा सबै सेवा दिन मिल्ने बनाउनुपर्छ । जस्तो, भारतमा आधार कार्डका आधारमा बैंकमा केवाईसी भर्नैपर्दैन । एक ठाउँमा भरेपछि त्यो सबै ठाउँमा भर्नुपर्दैन, बैंकले पनि त्यहीबाट लिन्छ । यसले कर छलीलाई पनि धेरै हदसम्म नियन्त्रण गर्छ । डिजिटल आईडीका आधारमा प्यान, भ्याट नम्बर लिइएको हुन्छ ।

बैंकले डिजिटल आईडी र प्यान, भ्याट नम्बर नभएर खाता खोल्नै दिँदैन । यसरी यी तीनै कुरालाई एकआपसमा लिंक गर्दा कर छलीमा पनि कमी आउँछ । डिजिटलाइजेसनले सबै सर्भिसलाई एकै ठाउँमा ल्याउँछ । यसले गर्दा सरकारी काममा पनि एकरूपता ल्याउँछ । जस्तो, अघि सामाजिक सुरक्षा भत्ताको कुरा गर्यौँ । भत्ता पाउनयोग्य व्यक्ति तपाईं हो भने महिना मरेपछि स्वतः तपाईंको खातामा पैसा आउँछ, वडामा वा बैंक कतै हस्ताक्षर गर्न गइरहन पर्दैन । तपाईंले त्यो पैसा मोबाइल फोनबाट प्रयोग गर्न सक्नुहुन्छ । डिजिटलाइजेसनको उपयोग गरेर सरकारी र निजी क्षेत्रबाट पाउने सेवालाई प्रभावकारी बनाउँदै खर्च कम गराउने बाटोमा हामी अगाडि बढ्नुपर्छ । तर, हामी यो बाटोमा अगाडि बढ्न सकेका छैनौ । हामी एउटा क्यूआर कोडबाट भुत्तानी गर्न पाउँदा दंग परिरहेका छौँ । त्यस्तै, कतिपय क्षेत्रमा डिजिटलाइजेसन भएर पनि सेवा प्रभावकारी हुन सकेको छैन । जस्तो, पहिला नेपाल टेलिकमको १ सयको रिचार्ज कार्ड प्रयोग गर्दा कार्ड छाप्न पैसा खर्च हुन्छ भनेर करिब २ रुपैयाँ काटिन्थ्यो । तर, अहिले बैंक तथा पेमेन्ट कम्पनीबाट पैसा राख्दा पनि त्यति नै पैसा काटिरहेको छ । यो सरासर उपभोक्तामाथिको ठगी हो । एउटा बैंकबाट अर्कोमा पैसा पठाउँदा पैसा काटिइरहेको छ । हामी देशव्यापी डिजिटल गेट वेस्टोर बनाउने परिकल्पना गर्दै छौँ र कतिपय सेवा निःशुल्क बनाउनुपर्छ भन्ने हो । तर, यस बाटोमा काम हुन सकिरहेको छैन । सरकारी कर्मचारी र निजी क्षेत्र दुवैले पहिलेको यथास्थितिवाद छाड्न सकेका छैनन् । नाफा कमाउनेतिर सबैको ध्यान गएको छ । डिजिटलाइजेसन गरेर कम मूल्यमा जनतालाई सेवा–सुविधा दिनेतिर अझै ध्यान जान सकेको छैन ।

हामीले दोस्रो चरणको आर्थिक सुधारको कुरा पछिल्लोचोटि डा. रामशरण महत अर्थमन्त्री भएपछि गर्दै आइरहेका छौं । यो पनि सात/आठ वर्ष भइसक्यो । हामी कोभिडपछि पनि यही आर्थिक सुधारको कुरा गरिरहेका छौँ । यो बीचमा हाम्रा काम र व्यवसायमा धेरै संरचनात्मक परिवर्तन भइसके । त्यसैले हामीले दोस्रो चरणको सुधार गर्दा अबको परिप्रेक्ष्यबाट गर्नुपर्छ । जस्तो, अहिले करका सबै प्रक्रिया अनलाइनबाट हुनुपर्ने हो ।

हामीले भारतबाट सामान आयात गर्छौं । मानौँ, हामीले बच्चाको डाइपर आयात गर्दै छौँ । डाइपर एउटा प्याकको खुद्रा मूल्य १ हजार रुपैयाँ लेखेको छ । यो मूल्य भारतको परिप्रेक्ष्यमा लेखेको हो । हाम्रा व्यापारीले एमाजोनबाटै किन्दा पनि १ हजार खुद्रा मूल्य भएको सामान ६ सय रुपैयाँमा पाउँछन् । व्यवसायीले खुद्रा मूल्यमा नभएर होलसेल मूल्यमा सामान खरिद गरेर ल्याउँछन् र त्यही बिल भन्सारमा देखाउँछन् । ६ सय भारुमा ल्याएको सामान यहाँ १ हजार भारुमा बिक्री हुन्छ । अझ कोहीले त त्यसमा भ्याट पनि थपेर लिन्छन् । बोर्डरमा ल्याएको सामान एचएसएट डिजिटभन्दा माथिको आसिकुडामा तिर्नुपर्ने हुन्छ, त्यसलाई हाम्रो खुद्रा बिक्री मूल्यसँग जोड्न सकियो भने राजस्व छली पनि कम हुन्छ । जनताले पनि कम मूल्यमा सामान पाउँछन् । बजारमा व्यापारीले हचुवाका भरमा मूल्य बढाउन पाउँदैनन् । खरिद गरेको सामानको निश्चित प्रतिशत नाफा मात्र व्यापारीले लिन पाउँछन् । तर, अहिले जतिमा बेचे पनि त्यो सामान ल्याउने व्यापारीको भन्सारसँग लिंक नगराएकाले हामीले सजिलै उसको डाटा हेर्न पाउँदैनौँ । डिजिटलाइजेसनको दोस्रो चरणको सुधारका लागि हामी यो बाटोबाट अगाडि बढ्नुपर्ने हो । तर, हामीले यसरी सोच्ने गर्दैनौँ । प्यान नम्बरलाई बैंक खातासँग लिंक गरेर त्यसलाई राष्ट्रिय परिचयपत्रसँग लिंक गराउनुपर्छ । दोस्रो चरणको आर्थिक सुधार गर्न डिजिटलाइजेसनका माध्यमबाट सेवा–सुविधा जनतालाई छिटो–छरितो तरिकाले कम मूल्यमा उपलब्ध गराउने गरी सोच्नुपर्छ । दोस्रो चरणको सुधारका लागि सबैभन्दा पहिले संस्थागत सुधार गर्नुपर्छ । उद्योगको विकास गर्ने हो भने हामीले सेज मात्र बनाएर पुग्दैन, त्यसलाई सञ्चालन गर्नुपर्ने अरू कुरा जस्तो, विभिन्न छुट दिनुपर्ने हुन्छ । त्यसमा कन्जुस्याइँ गर्नुहुँदैन । कुनै लगानीकर्तालाई सेजमा आउन के कारणले सजिलो हुन्छ, त्यो सरकारले मिलाइदिनुपर्छ ।

सस्थागत संयन्त्रको आवश्यकता

अहिले हामीलाई विकास निर्माणका लागि एउटा सस्थागत संयन्त्र चाहिएको छ । सरकारको बजेट राम्रोसँग खर्च हुन सकिरहेको छैन । विभिन्न विकास निर्माणका काम वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, कर छुटलगायत कारणले लामो समयसम्म कार्यान्वयनमा जान सकिरहेका हँुदैनन् । अर्को समस्या भनेको एउटा मन्त्रालयले भनेको अर्कोले मान्दैन । मानौँ, यातायात मन्त्रालयले कुनै सडकको वातावरणीय मूल्यांकनका लागि वातावरण मन्त्रालयमा पठायो भने उसले कडा सर्त तेर्साउँछ किनभने वातावरण मन्त्रालयको काम वातावरण संरक्षण गर्ने हो, लगानी प्रर्वद्वन गर्ने होइन । हो, यसैका लागि सरकारका शक्तिशाली मन्त्रीहरू सम्मिलित एउटा संयन्त्रको आवश्यकता छ र यसले गरेको निर्णय क्याबिनेटले गरेको निर्णयसरह मान्यता दिनुपर्छ । तत्काल कुनै समस्या समाधान गर्नुपरे सरकारको क्याबिनेट मिटिङ नबसे पनि यो संयन्त्रको मिटिङ बसेर समस्या समाधान गर्न सकियोस् । अहिले त सबै निर्णय गर्न प्रधानमन्त्रीकै मातहतमा कमिटी बनाइएको हुन्छ । दोस्रोमा राष्ट्रिय योजना आयोगलाई प्रदेशको योजना आयोगसँग समन्वयतात्मक तरिकाले अगाडि बढाउनुपर्छ । अहिले राष्ट्रिय योजना आयोग त्यति शक्तिशाली पनि छैन । यसलाई शक्तिशाली बनाएर भविष्यमा गर्नुपर्ने कामको अध्ययन गरी योजना बनाएर सरकारलाई दिनुपर्छ । कुनै काम हुनुअगाडि भन्दा भइसकेपछि योजना बनाउने काम राष्ट्रिय योजना आयोगले गरिरहेको छ । यसका लागि एउटा संयन्त्र बनाएर अगाडि बढ्नुपर्छ । क्षेत्रगत सुधारमा मुख्य हाइड्रोपावरको अहिलेकै नीति नियम र संयन्त्रले पार लगाउन गाह्रो छ । नयाँ तरिकाले सोच्ने बेला आएको छ ।

उपभोक्ता तथा संस्थागत विद्युत् खपत बढाउन कदम चाल्नुपर्ने देखिन्छ । संसद्मा विभिन्न विधयेक पेस हुन्छन् । यस्ता विधेयक संसद्बाट पास हुँदा सरकारको दायित्व तथा भार कति थपिन्छ भनेर पहिले नै अध्ययन भएको हुँदैन । सांसदहरूले पनि केही बौद्धिक व्यक्तिसँग छलफल गरेर पूर्ण जानकारी नलिई त्यसमा राजनीतिक लाभहानि जोडेर निर्णय लिन्छन् । विधेयकको गुणात्मक फाइदालाई गौण राखेर राजनीतिक आधारमा निर्णय लिइन्छ ।

हामीले यस्ता समस्या समाधान गर्न संसद्भित्रै ‘बजेट थिंक ट्यांक’ बनाउनुपर्छ । जुनै पार्टीको सरकार आए पनि सरकारको दायित्य घटाउने वा बढाउने विधेयक आएको छ भने सरकार आफैंले यसमा निर्णय लिन सकोस् । ‘थिंक ट्यांक’ ले यस्ता विधेयकमा आएका कुराको लागत, दायित्य, फाइदा, बेफाइदा तथ्यगत रूपमा बाहिर ल्याउन सकोस् । यसबाट सांसदलाई पनि सही निर्णय लिन मद्दत पुग्छ । अहिले धेरै देशहरूले संरचनात्मक परिवर्तन गर्न माथि भनिएजस्तै तरिकाले काम गरिरहेका छन् । यो बेला हामीले बल्ल ती कुराबारेमा सोचिरहेका छाँै । अरू देशले बनाएर लागू गरेपछि हामीले बल्ल बनाउन सुरु गर्छौं, जसले गर्दा हामी जहिले पनि पछाडिको पछाडि पर्छौं । अरूले बनाउनुभन्दा पहिले हामीले बनाएर लगानीकर्तालाई कसरी छिटो हामीले ल्याउने भन्नेबारे सोच्नुपर्छ । निजी क्षेत्र पुरानै हिसाबले चल्ने, थप नाफा कमाउने, कर छली गर्नेलगायतका काम गरेर चलिरहेको अवस्था छ । तल्लो लेभलमा प्रतिस्पर्धा देखिए पनि माथिल्लो स्तरमा पूर्ण कार्टेलिङ चलिरहेको छ ।

कुनै वस्तुको मूल्य कुनै निश्चित निकायभन्दा पनि ठूला व्यवसायीले तोक्ने गर्छन् । सिमेन्टलगायत विभिन्न वस्तुको मूल्य, बैंकको ब्याजदर । यस्ता कुरा सबै मिलेर एउटै तोक्छन् । यहाँ धेरै ठाउँमा एसोसिएसनका भरमा कार्टेलिङ चलिरहेको छ । यस्ता कुरालाई सरकारले नियम कानुनमा बाँधेर प्रतिस्पर्धात्मक बजारको विकास गराउन सक्नुपर्छ । अर्को, नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा सशक्त रूपमा अगाडि बढ्न सरकारले वातावरण बनाइदिनुपर्छ । सरकारले पहिले योजना बनाउँछ अनि राजस्वका बारेमा सोच्न थाल्छ । यो प्रक्रिया उल्टो हो । अब हामीले पहिला ५ वर्षे राजस्व संकलन योजना पहिले नै बनाउनुपर्छ । हामीले अहिलेको अवस्थामा कति राजस्व उठाउन सक्छौँ, थप कर बढाएर कति उठाउन सक्छाँैर करको दर नबढाएर यसको क्षेत्र बढाएर कति राजस्व उठाउन सक्छौँ । यसको हिसाब निकाल्नुपर्छ ।

साथै, यसरी राजस्व संकलन गर्न हामीले के–के संरचनात्मक परिवर्तन गर्नुपर्छ । यसमा डिजिटलाइजेसनदेखि सरकारी खर्च घटाउन के–के गर्न सकिन्छ, पहिलो काम त्यो गर्नुपर्छ । यो सबै समेटेर राजस्व संकलन योजना बनाउनुपर्छ । यसको आधारमा हामीले बल्ल ५ वर्षे खर्च योजना बनाउनुपर्छ । अनि, बल्ल बजेटमा राजस्व र खर्चको तालमेल मिल्छ । त्यस्तै, बजेट घोषणा गर्दा सरकारले कुन फ्रेममा बनेको हो भनेर जानकारी दिँदैन । बजेटसँगै त्यो वर्षको सूक्ष्म आर्थिक विश्लेषण पनि अनुसूचीमा राख्दा कुन परिप्रेक्ष्यमा बजेट बनेको हो भनेर बुझ्न सजिलो हुन्छ ।

NIMB

यसरी राजस्व संकलन गर्न हामीले के–के संरचनात्मक परिवर्तन गर्नुपर्छ । यसमा डिजिटलाइजेसनदेखि सरकारी खर्च घटाउन के–के गर्न सकिन्छ, पहिलो काम त्यो गर्नुपर्छ

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया