बोनसदरको सस्तो प्रचारले बीमित भ्रमित, प्रचारका लागि तयार पारिएको बोनसदर हटाउन अभिकर्ताको माग
- BFIS News
- 2024 Dec Sat 09:39

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अधिकतम बोनसदरलाई मात्रै प्रचार गर्दा बीमितहरु भ्रमित हुन गरेका छन् । कम्पनीहरुले नियोजित रुपमा केहि पोलिसीमा सर्वाधिक बोनसदर कायम गरि त्यसलाई मात्रै प्रचारको साधन बनाउदा बीमितहरुमा भ्रम सिर्जना भएको बीमा विज्ञहहरु बताउछन् ।
कतिपय कम्पनीहरुको न्युनतम बोनसदर २० रुपैयाँ छ । तर उनिहरुले ३० वर्ष भन्दा माथिको अवधि कायम गरि केहि पोलिसीमा ९० रुपैयाँसम्म देखाएर न्युनतम बोनसदरलाई ढाक्दै भ्रम सिर्जना गर्ने काम भएको उनिहरुको तर्क छ ।
विशेषगरी नयाँ जीवन बीमा कम्पनीहरुले यसलाई प्रचारको बलियो रणनीतिक साधन बनाएका छन् । यद्यपी यसको सुरुवात भने पुरानै बीमा कम्पनीहरुले गरेका हुन् । जतिवेला नयाँ बीमा कम्पनी बजारमा आए त्यतिवेला पुराना कम्पनीहरुले नयाँको बोनसदर एकदमै कम हुन्छ भन्दै आफ्नो सर्वाधिक बोनसदरलाई प्रचार गरेका थिए ।
बीमितका लागि जति धेरै बोनसदर त्यति नै राम्रो मानिन्छ तर यसका लागि धेरै वटा कुराले प्रभाव पार्दछ । कम्पनीले पोलिसी डिजाइन गर्दा, मोर्टालिटी, इन्भेष्टमेन्ट रिटर्न, एजेन्सी कष्ट, म्यानेजमेन्ट कष्ट, क्लेम रेसियो, जोखिम बहन गर्न सक्ने क्षमता लगायतका कुराहरुलाई आधार मानिन्छ । जुन कम्पनीको पूँजी, जीवन बीमा कोष, व्यवस्थापन खर्च र लगानी रणनीति राम्रो हुन्छ अवश्य पनि ति कम्पनीले बीमितलाई भविष्यमा राम्रो प्रतिफल दिन सक्छन् । त्यसैले जीवन बीमामा जति लामो समयको पोलिसी लिइयो त्यसको बोनसदर धेरै हुन्छ ।
जुन कम्पनीको न्युनतम बोनस अर्को कुनै कम्पनीको अधिकतम हुन्छ ति कम्पनीहरुले बजारमा प्रचारका लागि केहि पोलिसी ३० वर्ष भन्दा लामो अवधिको जारी गरी त्यसैमा अधिकतम ९० प्रतिशतसम्मको घोषणा गरिदिन्छन् । जवकी उनिहरुको सर्वाधिक धेरै जारी भएको पोलिसी संख्याले पाउने बोनसदर औषत भन्दा पनि कम ५० प्रतिशत भन्दा मुनि छ ।
यस्तो अवस्थालाई मध्यनजर गर्दै पेशागत बीमा अभिकर्ता संघले बीमा प्राधिकरणमा यसलाई व्यवस्थापन गर्नु पर्यो भन्दै सुझाव दिएका छन् । तर प्राधिकरणले बोनसदर सार्वजनिक गर्दा जारी पोलिसी संख्या पनि अनिवार्य देखाउनु पर्ने व्यवस्था गरिदिएकाले यस्तो कुरालाई बीमितले बुझ्नु पर्ने तर्क दिएको छ ।
सार्वाधिक धेरै पोलिसी जारी भएको बोनसदरलाई नै आधार मानेर बीमितले कुन कम्पनीको बोनसर राम्रो छ र कुन कम्पनीको बोनस नराम्रो छ भन्ने कुरालाई निर्धारण गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।
कतिपय कम्पनीहरुले थोरै पोलिसीमा सर्वाधिक धेरै बोनसदर देखाएर बीमितलाई भ्रमित पार्ने काम बन्द गर्नु पर्ने पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले बताए । यसरी प्रचार मात्रै गर्न खोजिएको कुरालाई प्राधिकरणले रोक्नु पर्ने उनको तर्क छ । उनले भने 'जुन पोलिसीमा एकदमै कम संख्या छ र त्यसको सर्वाधिक धेरै बोनसदर देखाएर प्रचार मात्र गर्न खोजिएको छ भने त्यसलाई प्राधिकरणले एक तहको मार्किङ गरेर रोक्नु पर्छ ।'
उनले भने 'यहाँ कतिपय कम्पनीको न्युनतम बोनसदर नै ६० रुपैयाँ छ तर उनिहरुको अधिकतम ८० रुपैयाँ मात्रै छ भने बीमितले फलानो कम्पनीको त ९० रुपैयाँ छ, तपाईकोमा त कम रहेछ नि भन्दै प्रश्न गर्नु हुन्छ ।'
उनले भने 'हामीले कसैलाई पनि यो कम्पनी राम्रो या नराम्रो त्यो पोलिसि राम्रो नराम्रो भन्नु हुँदैन तर बीमितहरुलाई भ्रम फैलाउनु हुँदैन ।' बोनसदर कम वा बढि हुँदैमा राम्रो नराम्रो भन्नु भन्दा पनि सम्बन्धित पोलिसीमा के कस्ता विशेषता छन् भन्ने कुराहरु महत्वपुर्ण हुन्छ । साथै कम्पनीले सर्वाधिक बोनसदर दिनका लागि कस्तो रणनीति बनाएको छ भन्ने कुरालाई पनि हेरिनु पर्ने विज्ञहरु बताउछन् ।
कम्पनीले बोनसदर घोषणा गर्ने तरिका
जीवन बीमाका बीमितहरुले भुक्तानी गरेको सम्पूर्ण बीमाशुल्क र उक्त बीमाशुल्क प्राप्त गर्न लागेको खर्च कट्टा गरी जीवन बीमा कोषमा जम्मा गरीन्छ र जीवन बीमा कोषमा भएको रकमहरु बीमा समितिबाट स्वीकृत प्राप्त क्षेत्रहरु जस्तैः कृषि, पर्यटन, जलस्रोत, सरकारी ऋणपत्र, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा, डिवेञ्चर, ट्रेजरी बिल, बैंक तथा वित्तीय संस्थाको सामूहिक लगानी कोष, म्युचुअल फण्ड, पव्लिक लिमिटेड कम्पनिको साधारण सेयर, घरजग्गा व्यवसाय, तथा अन्य स्वीकृत प्राप्त क्षेत्रमा लगानी गरिन्छ ।
यसरी जीवन बीमा कोषमा जम्मा भएको रकम र लगानीको प्रतिफलहरु समेतबाट कम्पनी बीमितहरुको मृत्युदावी, सर्मपण तथा कम्पनीको आवश्यक खर्चहरु कट्टा गरी आएको रकमहरु मध्येबाट चालू प्रतिफल तथा खर्च, भविष्यमा प्राप्त हुने प्रतिफल दावी तथा खर्चलाइ मध्यनजर गरी बीमाको विज्ञ (बीमाङ्की) द्वारा बीमाङ्कीय मूल्यांकन गरी निकालिएको दरलाई बीमा क्षेत्रको नियमन गर्ने निकाय बीमा समितिबाट स्वीकृती प्राप्त भए पश्चात घोषणा गरी लागु गर्ने गरीन्छ ।
यसरी घोषणा गरिएको बोनस जुन आर्थिक वर्षको हिसाबबाट गणना गरिएको हुन्छ सोहि वर्षको लागि लागु हुन्छ । तसर्थ प्रत्येक आवको वोनस फरक फरक हुन सक्दछ । घोषणा नगरीएको आवका लागि अघिल्लो घोषणा गरिएको बोनस दर लागु हुन्छ जसलाई अन्तरिम बोनसदर भनिन्छ ।
बोनसदर गणनाको उदाहरण
बोनसदर सामान्यतः प्रतिवर्ष प्रतिहजार बीमाङ्क उल्लेख गरिन्छ । जस्तै ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार भन्नाले १० लाख रुपैयाँ बीमाङ्कमा ७२ x१०,००,०००/१,०००= ७२ हजार प्रत्येक वर्षका दरले थप रकम प्राप्त हुन्छ । यसलाई विस्तारित रुपमा उदाहरण सहित यसरी बुझ्न सकिन्छ ।
कुनै व्यक्तिले १० लाख रुपैयाँको नाफामा सरिक हुने जीवन बीमा गरेको रहेछ, जसको बीमा अबधि २१ वर्ष रहेछ र बीमा कम्पनीले २१ वर्ष सम्म एकनास बोनस दर ७२ रुपयाँ प्रतिवर्ष प्रतिहजार घोषणा गरेको रहेछ भने बीमा अवधि पश्चात बीमितले निम्नानुसार रकम प्राप्त गर्दछ ।
क) बीमाङ्क रकम: -१० लाख रुपैयाँ
ख) बोनस रकम ( ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार x २१ वर्ष x रु.१०,००,०००/१,०००) -१५ लाख १२ हजार रुपैयाँ
कुल प्राप्त हुने रकम (क + ख) -२५ लाख १२ हजार रुपैयाँ
यदि उपरोक्त उदाहरणमाः कथंकदाचित बीमितको बीमा चालु भएको ५ वर्षमा मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा इच्छाएको व्यक्ति नभएमा बीमितको नजिकको हकदारले निम्नानुसार रकम प्राप्त गर्दछ ।
क) बीमाङ्क रकम -१० लाख रुपैयाँ
ख) बोनस रकम ( ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार x ५ वर्ष x १०,००,०००/१,०००) -३ लाख ६० हजार रुपैयाँ
कुल प्राप्त हुने रकम (क + ख) -१३ लाख ६० हजार रुपैयाँ
कम्पनीको कार्यक्षमतामा मूल्याङ्कन
बोनस कम्पनीको आम्दानीबाट खर्च कट्टा गरी आएको वचतबाट गणना गरी निकालीने हुँदा धेरै बोनस आउन धेरै आम्दानी हुनुपर्ने र कम खर्च गर्नुपर्ने हुन्छ र बीमीतहरु बाट प्राप्त बीमाशुल्कलाई मितव्ययी ढंगले सञ्चालन गरी नाफा उच्च देखाउनुले बोनसमा सकारात्मक असर पार्दछ । तसर्थ धेरै बोनस हुनुले कम्पनीको उच्च वित्तीय एवम व्यवस्थापकिय कार्यदक्षता प्रतिबिम्ब गर्दछ ।
बीमालेखको समर्पण मूल्य गणना तथा बीमालेख धितोकर्जामा भुमिका
यदि कसैले बीमाङ्क १० लाख रुपैयाँको १५ वर्षको जीवन बीमा गरेको छ र लगातार ५ वर्षको पूरा बीमाशुल्क भुक्तान गरी ५ वर्ष पश्चात बीमितले कर्जा लिँदा पाउने रकम र समर्पण गर्दा पाउने रकम, उक्त अवधिको कम्पनीको घोषित बोनस दर ६२ रुपेयाँ (प्रति वर्ष प्रति हजार बीमाङ्कमा) रहेछ भने निम्नानुसार हुन्छ-
दाबी भुक्तानीमा बोनसदरको प्रभाव
जीवन बीमा चालु रहेको अवधिलाई कम्पनीको घोसित बोनस दरले गुणन गरी कुल बोनस रकम प्राप्त हुदा बोनस दर कम भएमा बीमा अवधि समाप्तिमा वा मृत्यु दावी रकम प्राप्त गर्दा कम रकम प्राप्त हुन्छ ।
नोटः– जीवन बीमाको मुख्य उद्देश्य लगानी र उच्चतम प्रतिफलका लागि नभई आर्थिक जोखिम हस्तान्तरणको लागि भएकोले बोनस लगायतका प्राथमिकता जीवन बीमामा दोस्रो उद्देश्य भएकोले बोनसका लागि होइन जोखिम न्यूनीकरण, आफू र आफ्नो परिवारको बाँकी जीवनको निरन्तरता र आर्थिक सुरक्षाका लागि हो ।
प्रतिक्रिया