कार्यकाल सकिनै लाग्दा बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, नागरिकताको विवरण हेरफर गरेको आरोप
- BFIS News
- 2024 Dec Mon 17:37
काठमाडौँ, मङ्सिर २४ गते । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा फरक–फरक जन्ममिति कायम गरी प्राधिकरणको अध्यक्षमा बहाल रहेको भन्दै मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार सिलवालले पटक–पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा उनिविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
सिलवालको जन्म मिति २०१५ साउन १५ गते भएको स्वीकार गरे पनि फरक फरक ठाउँमा फरक जन्ममिति उल्लेख गरी नागरिकता, पासपोर्टसहितका अरु कागजात लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा २०८० साल साउन १६ गतेबाट अनिवार्य अवकाशमा जानुपर्नेमा ६६औँ वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९ (नौ) महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी सिलवालले लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार एक सय ५४ रुपियाँ १६ पैसा जफत र असुल उपर हुनुपर्ने आरोप पत्रमा माग दाबी गरिएको छ ।
सिलवाल निजामती सेवाबाट २०७३।०४।१५ गते अनिवार्य अवकाश भएका थिए । त्यस आधारमा उनले २०१५।०४।१५ लाई नै जन्म मिति कायम र स्वीकार गरे गराएको भए पनि कूटनीतिक राहदानी तथा विशेष राहदानी प्राप्त गर्न उनले भरेको पासपोर्ट फार्म आफ्नो जन्म मिति २०१८ कात्तिक २४ गते उल्लेख गरेको पाइएको आयोगको भनाइ छ ।
प्रतिक्रिया