नबिल एसएमईको चौथो फेलोसिप कार्यक्रमको औपचार सुरुवात, आफ्नो व्यवसायिक अवधारणालाई विश्व बजारमा पुर्याउने अठोट
- BFIS News
- 2024 Dec Tue 19:18
काठमाडौं । नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो फेलोसिपको सुरुवात गरेको छ । त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियु) सँगको सहकार्यमा सञ्चालित चौथो फेलोसिप कार्यक्रममा २० जनाले सहभागिता जनाएका छन् ।
आज त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियु)मा औपचारिक रुपमा सुरुवात गरिएको कार्यक्रमलाई संबोधन गर्दै बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्यालले निक्षेप संकलन तथा कर्जा लगानी मात्रै गर्दै आइरहेका बैंकहरुले समाजमा उद्यमशिलताको विकास गर्ने काममा पनि अग्रसरता बढाएको बताए ।
नबिलले दीगो बैंकिङको अवधारणा अनुरुप यस्तो कार्यक्रमको सुरुवात गरेको बताउदै उनले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई हेर्दै नेपालको सन्दर्भमा कसरी अगाडी बढ्न सकिन्छ भन्दै गर्दा यस्तो कार्यक्रमको सुरुवात गरिएको जानकारी दिए । आजका सफल उद्यमीहरु पनि सानो उद्यमशिलताकै प्रक्रियाबाट आउनु भएको हुँदा नव आगन्तुक उद्यमीहरुलाई उनले आफुले सानो काम गरिरहेछु भनेर नसोच्न आग्रह गरेका छन् ।
उनले भने 'आज तपाईहरुले जुन किसिमले बस्तु तथा सेवा उत्पादन गरिरहनु भएको छ तपाईहरु मुलुकको कुल गार्हस्थ्य उत्पादनको एक हिस्सा हुनु भएको छ ।' उनले थपे, यसरी तपाईहरुले कुल गार्हस्थ्य उत्पादनमा सहयोग पुर्याइरहदा हाम्रो बैंकको पनि त्याहाँ योगदान छ । नबिल बैंकले किर्तिपुरमा उद्यमशिलता विकासको हव बनाउन खोजिरहेको भन्दै विश्वविद्यालयलाई समन्वयका लागि पौड्यालले अनुरोध समेत गरेका छन् ।
नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले कार्यक्रमलाई संबोधन गर्दै नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुची राख्नेहरुलाई सधै उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आइरहेको बताए । यसका लागि बैंकले राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको साथ सहयोगमा उद्यमशिलताका क्षेत्रमा काम गरिरहेको स्मरण गराउदै बैंकले यस फेलोसिपमा सहभागीहरुलाई सबै किसिमका सल्लाह प्रदान गर्ने बताए ।
बैंकको यस्तो कार्यक्रमले राम्रो प्रभाव पार्न थालेको भन्दै उनले खुसी व्यक्त गरे । उनले भने 'आजका दिनमा तपाई सँग राम्रो पुर्वाधार नहुन सक्छ साथै यसका लागि तपाईले उचित सल्लाह परामर्शको खोजि गरिरहनु भएको छ भने तपाईहरुका लागि यो प्लेटफर्म एकदमै राम्रो हुनेछ ।' उनले यो कार्यक्रमको सुरुवात गर्दाको क्षणलाई स्मरण गर्दै बंगलादेशको प्रोफेसर युनिस फरमन सँग सम्झौता गरेर अगाडी बढिएको बताए । फेलोसिपका सहभागीहरु सँग आफु पनि सहकार्य गर्न तयार रहेको भन्दै उनले आफ्नो सेवालाई थप गुणस्तरिय बनाउन उनले अनुरोध गरेका छन् ।
नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकले समाजिक उत्तदायित्व अन्तर्गत तिमिले के गर्यौ भन्दा गर्वका साथ हामीले उद्यमशिला विकासमा यति काम गर्यौ भन्न सक्ने अवस्था सिर्जना भएको बताए ।
बैंकले हालसम्म ५६ जना सामाजिक उद्यमीहरुलाई प्रशिक्षत गराइसकेको भन्दै उनले सहभागिहरुबाट ४५ वटा इन्टरप्राइजेज स्थापना भइसकेको जानकारी दिए । उनले भने, जस मार्फत उहाँहरुले १२ सय भन्दा धेरैलाई रोजगारी प्रदान गरिसक्नु भएको छ ।
सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको ज्ञवालीले जानकारी दिए ।
तीन महिनाको अवधिमा सञ्चालन हुने नबिल एसएसई सर्टिफिकेट कोर्सले प्रशिक्षार्थीलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको छ । यस कोर्सका सहभागीहरूमध्ये ७२ जनाले आफ्नो उद्यम स्थापित गरी दिगो सामाजिक परिवर्तनका लागि काम गर्दै आएका छन् ।
स्कुलले तालिम अवधिभर आफ्नो उत्पादनलाई कसरी ब्राण्डिङ, मार्केटिङ, बैंकिङ गर्ने भनेर सिकाउने ज्ञवालीले बताए । उनले भने 'हामी उहाँहरुलाई व्यवसायका क्रममा आवश्यक पर्ने सबै कुराहरुका बारेमा सिकाउछौ । एउटा उद्यमीहरुलाई चाहिने सम्पुर्ण समाधानहरु उपलब्ध गराउछौ ।'
त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियु)का निर्देशक डा. गोविन्द तामाङले नबिल बैंकको यस्तो कदमले विश्वविद्यालय र कर्पोरेट सेक्टरले कसरी समन्वय गरेर काम गर्न सक्छ भन्ने कुराको उदाहरण बनेको बताए । यस्तो सहकार्यले त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टको नियमित शैक्षिक कार्यक्रममा यसलाई कसरी समन्वय गरेर लैजान सकिन्छ भन्ने सिकाइ बनेको डा. तामाङले बताए । यसबाट विश्वविद्यालेले नयाँ नयाँ कोर्ड डिजाइन गर्न मद्दत गर्ने भन्दै उनले नबिल बैंकलाई धन्यवाद दिए ।
फेलोमा सहमागी २० जना मध्ये ११ जना महिला रहेकोमा ४ जनाले आफ्नो उत्पादनको सुरुवात गरिसकेका छन् । यसरी सहभागी हुनेमा ८ जना काठमाडौ, तीन जना ललितपुर, तीन जना भक्तपुर र ६ जना अन्य जिल्ला खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाचीका छन् ।
सहभागीहरुले पर्यावरणलाई सहयोग पुर्याउने गरि केराको फ्युडो मार्फत कपडा बनाउने, प्राकृतिक जडिबुटीको प्रयोग गरेर सौन्दर्य सामाग्रीको उत्पादन, विभिन्न डिजाइनका मैनबत्ती उत्पादन गर्दै आएको बैंकले जनाएको छ । इन्जिनियरिङ तथा आयुर्वेद पढेर आफ्नै व्यवसाय सुरुवात गरेका उद्यमीहरुको समेत सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने बैंककले विश्वास लिएको छ । कृषि उत्पादन, गरगहना निर्माण, डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम, इ लर्निङ प्ल्याटफर्मको निर्माण गरेर आफुलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सहभागीहरु उपस्थित भएका छन् ।
नबिल एसइईले धेरै लामो प्रक्रिया मार्फत उनिहरुलाई छनोट गरेको हो । बैंकले कार्यक्रममा सहभागिताका लागि अनलाइन एप्लिकेसन खुला गरेको थियो । आवेदन दिने मध्ये बाट सम्भावना बोकेका र केहि गर्छु भनेर अठोट बोकेर हिडेका उद्यमीहरु जसको योगदानले समाजमा प्रभाव पार्ने पक्षहरुलाई मूल्याङ्कन गरेर मात्रै छनोट गरिएको थियो । फेलोसिपमा पर्न सफल सहभागीहरुले आफ्नो उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पुर्याउने अठोटका साथ अगाडि बढ्ने योजना बनाएका छन् ।
प्रतिक्रिया