नेपाल लाइफको स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा कर्मालाल निर्वाचित, सबैको उचित व्यवस्थापन हुने सिइओको प्रतिवद्धता
- BFIS News
- 2024 Dec Sun 21:01
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी यूनियनको अध्यक्षमा कर्मालाल योन्जन लामा निर्वाचित भएका छन् । भक्तपुरको बोडेमा सम्पन्न सातौं अधिवेशनबाट लामा सहित नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको केन्द्रिय उपाध्यक्षमा प्रशंशा बस्नेत निर्वाचित भएकी छिन् । त्यस्तै प्रदेश उपाध्यक्षहरुमा कोशीबाट प्रिन्स पौडेल, मधेश प्रदेशबाट रंजित कुमार यादव, बागमति प्रदेशबाट रेशम खत्री, गण्डकी प्रदेशबाट बिमला कंडेल, लुम्बिनी प्रदेशबाट रञ्जिता यादव, कर्णाली प्रदेशबाट खिम बहादुर विष्ट र सुदुरपश्चिम प्रदेशबाट दिपक पन्त निर्वाचित भएका छन् ।
महासचिवमा दिपक प्रसाद लुइटेल, सचिवमा उषा श्रेष्ठ, कोषाध्यक्षमा कपिल देव भट्ट निर्वाचित भएका हुन् । सदश्यहरुमा सन्तु बोहरा, प्रतम निरौला, प्रकाश सिटौला, सत्यराज जोशी, सोम कुमारी थिङ, जाग्रीत घिमिरे र उमेश खत्री निर्वाचित भएका हुन् ।
अधिवेशनमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली थिए भने विशिष्ट अतिथिमा उमापती पोख्रेल, अतिथिहरुमा पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसी, पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायतको उपस्थिति थियो । बसन्त विक्रम कार्कीको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई संबोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले सबै कुराहरुलाई व्यवस्थित रुपमा बैज्ञानिक तरिकाबाट समाधान गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सबैको उचित व्यवस्थापन हुने बताए । कम्पनीले काम गर्नेलाई उच्च मूल्याङ्कन गर्ने र कसैलाई पनि काखा र पाखा लगाउने काम आफ्नो कार्यकालमा नहुने समेत प्रतिवद्धता व्यक्त गरे ।
नेशनल सेल्स हेड उमापति पोख्रेलले कर्म गर्नु फलको आशा नगर्नु भन्दै टार्गेट पुरा गर्ने वित्तीकै उचित प्रतिफल प्राप्त हुने बताए । कर्मचारी र उच्च व्यवस्थापन विचमा कुनै पनि फरक नभएको उनले बताए । सबै जना मिलेर अगाडी बढ्नु पर्ने उनको भनाइ थियो ।
पेशागत बीमा अभिकर्ता संघका महासचिव केसीले अधिवेशनमा कर्मचारीको न्युन सहभागितालाई इङ्गित गर्दै 'कम्पनीले एकदमै राम्रो सेवा सुविधा दिएर हो की ? उच्च व्यवस्थापन सँग डराएर हो ?' भन्दै प्रश्न गरेका थिए ।
कम्पनीले लिएको लक्ष्य पुरा गर्न महत्वपुर्ण भुमिका खेल्ने लगानीकर्ता, कर्मचारी, विभिन्न विभागमा रहेका विभागीय प्रमुखहरु तथा अभिकर्ताहरुले आ-आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्ने वित्तीकै यात्रा सुखदायी हुने अन्यथा गाह्रो पर्ने भन्दै उनले सबैका आकांक्षा पुरा गर्न अनुरोध गरेका छन् ।
२०६४/६५ सालमा आएका ४ वटा जीवन बीमा कम्पनी आउदा नेपाल लाइफबाट ७५ प्रतिशत कर्मचारी बाहिरिएका थिए । केसीले भने 'अहिले पनि नयाँ कम्पनी आउने हल्ला छ । यदि नयाँ कम्पनी आयो भने विगतको जस्तो कर्मचारी बाहिरिने अवस्था नआओस् ।'
त्यतिवेला संघठन राम्रो नभएको कारण कर्मचारी बाहिरिनु पर्ने अवस्था आएको उनले बताए । अभिकर्ता संघठित भएकै कारण अन्य कम्पनीमा नगइ अभिकर्ताहरु नेपाल लाइफमै रहेको भन्दै उनले आगामी दिनमा यस्तो अवस्था आउन नहुने उनको तर्क छ । उनले भने 'कर्मचारी तथा अभिकर्ताले यहि भविष्य देख्ने वातावरण बनोस् । यि सबै कुराहरुमा सहकार्य गर्न अभिकर्ता संघ र कर्मचारी यूनियन विचमा सहकार्य हुनु पर्छ ।'
पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष अधिकारीले अधिकारीले कार्यक्रमलाई संबोधन गर्दै कम्पनीको उद्देश्य प्राप्तीका लागि अभिकर्ता संघ र कर्मचारी यूनियनको विचमा सहकार्य हुनु पर्ने बताएका छन् ।
उनले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा नम्बर वान भए जस्तै कर्मचारी पनि नम्बरवान हुनु पर्ने तर्क व्यक्त गरेका छन् । शाखा व्यवस्थिति गर्नेदेखि लिएर अधिकर्ता र कर्मचारी विचमा हुने मनमुटावलाई व्यवस्थापन गर्न नयाँ कार्यसमितिको भुमिका उल्लेख्य मात्रामा रहने उनले बताए । कसैलाई पनि अन्यायमा पर्न नदिन सशक्त भुमिका निभाउनका लागि नयाँ कार्य समितिलाई अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया