नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र ग्लोबल कर्जा विस्तारमा आक्रामक, एनआइसी एशिया निक्षेप र कर्जा दुबै घट्यो
- BFIS News
- 2024 Dec Sun 21:26
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंक कर्जा विस्तारमा सबैभन्दा धेरै आक्रामक देखिएका छन् । जवकी कुनै समयको सर्वाधिक आक्रामक गतिमा हिड्ने एनआइसी एशिया यस वर्ष कर्जा विस्तार र ऋण लगानी दुबैको बृद्धिदरमा ऋणात्मक देखिएको छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बाणिज्य बैंकहरुको निक्षेप संकलन ३.१७ प्रतिशत र कर्जा विस्तार ३.३० प्रतिशतले बृद्धि भएको छ । बैंकहरुले ५ महिनामा एक खर्ब ८२ अर्ब रुपैया निक्षेप संकलन गरेका छन् भने एक खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
अर्थतन्त्र चलायमान हुन नसक्दा कर्जा प्रवाह खुम्चिएको छ । यता, बैंकहरुले निरन्तर ब्याजदर घटाउँदै लैजाँदा निक्षेपकर्ताहरु पनि क्रमशः बैंकमा पैसा राख्नबाट विकर्षित हुँदै गएका छन् । यसकारण पछिल्ला महिनाहरुमा निक्षेपको वृद्धिदर पनि खुम्चिएको हो ।
यता, बैंकहरुको कर्जा प्रवाहमा सुस्तता आएको छ भने यसअघि लगानी भएको ऋणको साँवा–ब्याज असुली पनि प्रभावकारी हुन सकेको छैन । जसका कारण बैंक–वित्तीय संस्थाको खराब कर्जा बढेको छ । गैरबैंकिङ सम्पति पनि ह्वात्तै बढेको तथ्यांकहरुले देखाएको छ । यसबाट बैंकहरुको मुनाफा र लाभांशमा नै असर गरेको छ ।
अवको दुई तीन महिना बैंकहरु कर्जा विस्तारमा आक्रामक देखिने छन् । घरजग्गा कारोबारमा सुस्तता आए सँगै कर्जा प्रवाहमा प्रभाव परेको विश्लेषकहरु बताउछन् । अहिले काठमाडौं लगायतका प्रमुख शहरहरुमा ५ वर्ष अगाडीकै मूल्यमा घरजग्गा खरिद गर्न सकिन्छ । जसले हिजोका दिनमा घरजग्गामा लगानी गरेका थिए उनिहरुले राम्रो क्यापिटल गेन गर्न सकेका छैनन् ।
यस बाहेक उद्योग कलकारखानामा नयाँ लगानी प्रवेश भएको छैन । पुराना व्यवसायीहरुले जति काम गर्दै आएका थिए उनिहरुले थप व्यवसाय गर्न सकेका छैनन् । यसको प्रत्यक्ष अप्रत्यक्ष असर बैंकको निक्षेप तथा कर्जा विस्तारमा देखिन्छ ।
प्रतिक्रिया