शेयर बजार २५ सयको लाइनबाट फर्कियो, पैसा हुनेले उठाउन थाले, यि १० कारण जसले बजारलाई सकारात्मक बनाउदैछ
- BFIS News
- 2024 Dec Mon 15:35
काठमाडौं । शेयर बजार २५ सयको न्युनतम विन्दुलाई छोएर फर्किएको छ । नाफा बुक सँगै केहि समय तल झरेको शेयर बजार आजै २५८० अंकसम्म तल झरेर सुधार भएको हो । सोमबार नेप्से सूचक २० अंकले बढेको छ ।
केहिहदसम्म राजनीतिक परिदृश्य धमिलो देखिए पनि बजार पुन पुरानै लयमा फर्किने देखिएको हो । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरे सँगै शेयर बजारमा गिरावट देखिएको थियो । लामो समय नजरबन्दमा राखेर अदालतमा मुद्दा दर्ता भए सँगै उनलाई अदालतले थुना मुक्त गर्ने राजनीतिक विश्लेषकहरु बताउछन् । यदि उनि अदालतबाट सफाइ पाएर बाहिरिए भने उनको राजनीतिक यात्रालाई कसैले पनि छेक्न सक्ने छैन । यद्यपी अदालतको निर्णय भने कुर्नै पर्ने हुन्छ ।
यस बाहेक शेयर बजारलाई सपोर्ट गर्ने आधारहरु धेरै रहेको विश्लेषकहरु बताउछन् । अवको दिनमा शेयर बजार बढ्ने आधारहरु निम्न छन् ।
१. बैंकिङ तरलताः
शेयर बजारलाई सबैभन्दा धेरै प्रभाव बैंकको तरलताको अवस्थाले पार्दछ । अहिले बैंकहरुको सिडी रेसियो ७८.८३ प्रतिशत छ । बैंकहरुले ६६ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ५३ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस हिसावले बैंकहरु सँग आजका दिनमा प्रयाप्त मात्रामा लगानी योग्य रकम छ ।
२. बैंकको व्याजदरः
बैंकको व्याजदर विगत ५/६ वर्ष यताकै तल्लो विन्दुमा पुग्न थालिसकेको छ । निक्षेप तथा कर्जा दुबैको व्याजदर एकल विन्दुमा छ । निक्षेपको व्याजदर ३/४ प्रतिशत र कर्जाको व्याजदर ६/७ प्रतिशत मात्रै हुनुले लगानीको वातावरण सिर्जना हुँदै गएको छ ।
३. नयाँ प्रतिस्पर्धी स्टक एक्सचेन्जको प्रक्रिया अगाडी बढाउने सरकारको निर्णय
सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । यसले नेपालको शेयर बजारको विकासमा ठुलो टेवा पुग्ने नेपाल धितोपत्र बोर्डका पुर्व अध्यक्ष रेवत बहादुर कार्की बताउछन् । नेपालमा दुई वटा स्टक एक्सचेन्ज भएमा लगानीकर्ताले अप्सन पाउने र थप विकास हुने अवस्था आउने विश्लेषकहरु बताउछन् ।
४. बैंक वित्तीय संस्थाको पूँजी भन्दा जगेडा कोष बलियो हुँदै
नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गर्दा धेरै जसो बैंक वित्तीय संस्थाको चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै देखिन थालेको छ । यसले गर्दा भोलिका दिनमा बैंक वित्तीय संस्थाको वित्तीय सूचक अझ राम्रो आउनुका साथै लाभांश दिन सक्ने क्षमता पनि बढ्दै जानेछ ।
५. आर्थिक बृद्धिदरमा क्रमिक सुधार
विश्व बैंकले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा आर्थिक बृद्धिदर ३.८७ प्रतिशत थियो । आर्थिक बृद्धिदर बढ्दै जादा अर्थतन्त्रका विविध आयाममा मद्दत पुग्नेछ ।
६. स्थिर सरकार
अहिले प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार रहेको छ । जुन सबैभन्दा शक्तिशाली र बलियो सरकार हो । यसले गर्दा आगामी आम निर्वाचनसम्म यहि गठबन्धन रहिरहने राजनीतिक विश्लेषकहरु बताउछन् । अहिलेको गठबन्धन फुट्ने वित्तीकै राजनीतिक समिकरण कठिन बन्नुका साथै नयाँ शक्तिको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनु पर्ने बाध्यताले गर्दा पनि विद्यमान राजनीतिक शक्तिहरु अहिलेको गठबन्धनलाई निरन्तरता दिन चाहिरहेको देखिन्छ ।
७. लगानीका नयाँ क्षेत्र नहुँदा शेयर बजार एक मात्र विकल्प
अहिले घरजग्गा तथा अन्य जुनसुकै क्षेत्र सुस्त छ । जुनसुकै क्षेत्रका लगानीकर्तालाई क्यासफ्लोको समस्या छ । यसले गर्दा बैंकको व्याज तथा किस्ता म्यानेज गर्नेदेखि लिएर नियमित आम्दानीको स्रोत समेत शेयर बजार बनिरहेको छ । यसले गर्दा ठुलो लगानीकर्ताहरु नै बजारमा खेलाडीका रुपमा रहिरहेका छन् । बजारलाई नियमित आम्दानीको स्रोत बनाउने लगानीकर्ताहरु हाबी हुँदा तिव्र उतारचढाव भइरहेको नेपाल इन्भेष्टरफोरमका अध्यक्ष तुलसीराम ढकाल बताउछन् ।
८. प्राविधिक विश्लेषणमा आधारित अल्पकालिन लगानीकर्ताले भाइबल बनाउदै
बजारमा पछिल्लो समय दीर्घकालिन भन्दा पनि एकदमै अल्पकालिन लगानीकर्ता हाबी देखिन्छन् । प्राविधिक विश्लेषणलाई आधार मान्दै कारोबार गर्नेको संख्या पनि धेरै छ । जसले गर्दा प्राविधिक विश्लेषकहरुले अव बजार बढ्ने भन्ने संकेत दिने वित्तीकै ह्वात्तै बढ्ने अनि घट्छ भन्ने वित्तीकै ह्वात्तै बढ्ने गरेको छ । लगानीकर्ताहरुले २५ सयको विन्दुमा झरेर बढ्ने विश्लेषण गर्दै आइरहेका थिए । यसले गर्दा पनि सोमबार बजारमा सुधार देखियो ।
९. राष्ट्र बैंकले नयाँ गभर्नर पाउदै
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यहि चैत दोस्रो साताबाट सकिदै छ । अधिकारीले शेयर धितोकर्जामा सिमा तोके सँगै पछिल्लो समय बजार वियरिस जोनमा गएको थियो । उनले अझै पनि शेयरधितो कर्जाको सिमालाई हटाएका छैनन् । उनि हटेसँगै राष्ट्र बैंकले नयाँ नेतृत्व पाउने छ । जसले पनि बजारमा उत्साह थप्नेछ ।
१०. करेक्सनको चक्र सकिदै
तीन महिना अगाडी शेयर बजार ३ हजार अंकसम्म पुगेर फर्कियो । यस क्रममा बजार २४ सयदेखि २७ सयको विचमा घुमिरहेको छ । यस अवधिमा करेक्सनको चक्र लगभग सकिएको विश्लेषकहरु बताउछन् । यदि करेक्सन सकिएको हो भने बजारले आगामी चैत बैशाखमा अर्को नयाँ उचाइ लिन सक्ने विश्लेषकहरु बताउछन् । यसले पनि आगामी केहि महिना शेयर बजारलाई उत्साहित बनाउने पक्का छ । बजार बढ्छ भन्ने मनोविज्ञान विकास हुने वित्तीकै नयाँ पुराना लगानीकर्ता आफ्नो बचत तथा भ्याएको कर्जा बोकेर बजार छिर्नेछन् । यसले पनि बजारमा राम्रो प्रभाव पार्नेछ । तर यसमा बिक्री गरेर आफुलाई सुरक्षित राख्नेले मात्रै कमाउने छन् ।
प्रतिक्रिया