NIMB Header 2
Nepal Life

कर्णाली विकास बैकको कारोवार नेप्सेमा स्थगन गर्न हुन्थ्यो ? हेर्नुहोस् पर्शुराम कुँवरको प्राविधिक विश्लेषण

National Life
  • BFIS News
  • 2024 Dec 27 21:28
कर्णाली विकास बैकको कारोवार नेप्सेमा स्थगन गर्न हुन्थ्यो ? हेर्नुहोस् पर्शुराम कुँवरको प्राविधिक विश्लेषण
Sanima Reliance

काठमाडौं । राष्ट्र बैकले अस्ति पुस १० गते कर्णाली विकास बैकलाई “समस्याग्रस्त संस्था” घोषणा गर्यो र हिजो पुस ११ गते देखि नेप्सेमा यो विकास बैकको कारोवार स्थगन भयो ।

Shikhar
NIMB

“Market Economy” का हिसावले सिध्दानतत् कारोवार रोक्न हुदैनथ्यो र बजारले नै यस्को मूल्य निर्धारण गर्न दिन पर्थ्यो। तर, यो सिद्धान्त तव काम लाग्छ, जव बजार विवेकपूर्ण र तर्कपूर्णले चल्छ । केही समय अघि राष्ट्र बैकले यो विकास बैकलाई कारोवार गर्न रोक्यो, बैक तथा वित्तीय संस्थाहरुका लागि राष्ट्र बैकको यस्तो कार्यवाही अति नै गम्भीर हो तर नेप्सेमा यो विकास बैकको उच्च भोल्युमका साथ सकरात्मक सर्किट लेभलमा कारोवार भयो । यो अस्वाभाविक थियो । यदि त्यो बेलामा यस्को कारोवार स्वभाविक भएको भए अहिले “समस्याग्रस्त” घोषणा हुँदा पनि नेप्सेमा यस्को कारोवार स्थगन हुदैन्थ्यो होला वा गर्न पर्दैन्थ्यो होला !

स्थगनको असर:

जव “बजार” तर्कसंगत किसिमले चल्दैन, राज्यले हस्तक्षेप गर्छ र राज्यको यस्तो हस्तक्षेपरुपी डन्डाले कहाँ कस्लाई चोट लाग्छ थाहा हुदैन। पिडित हुन नपर्नेहरुलाई पनि यस्ले असर गर्न सक्छ । संसार भरी हुने यस्तै हो । हिजो नै हेर्नोस न: कर्णाली विकास बैकको कारोवार नेप्सेमा स्थगन भए पछि आधारभूत (Fundamentals) रुपमा अति नै कमजोर भएका कम्पनीहरु जस्को मूल्य विगतमा “डिमान्ड-सप्लाई र लो क्याप” को नाममा अस्वाभाविक रुपमा मूल्य बढाईएका थिए, ती कम्पनीहरुको मूल्य करेक्शन हुनु अपेक्षित थियो र मूल्य घटेको कुरा स्वभाविक रुपमा लिन सकिएला र कारोबारीहरुले पाठ सिकेको रुपमा पनि लिन सकिएला । तर आधारभूत (Fundamentals) रुपमा अति नै राम्रा विकास बैक र फाईनान्स कम्पनी लगाएतका कम्पनीहरुको मूल्य पनि निकै घटेको छ ।

माथि मैले कारोवारीहरुले “पाठ सिकेको” त भनें तर पाठ सिकेको वा सिक्ने जस्तो लाग्दैन। हिजो नै हेर्नोस् न! प्रकाशित वित्तीय विवरण अनुसार पूँजी पर्याप्तता र निष्क्रिय कर्जाका हिसावले कर्णाली विकास बैक भन्दा अति नै कमजोर संस्थाको मूल्य दिन भर घटी रह्यो तर अन्तिम मिनेटमा ८% भन्दा बढीले मूल्य बढेको छ। यस्लाई कसरी हेर्ने? यो पटक्कै स्वभाविक देखिदैन!

प्राविधिक विश्लेषण:

सिद्धान्ततः अर्थतन्त्र र कम्पनीहरुको आधारभूत सूचना (Fundamental Information) को जानकारीका आधारमा लगानीकर्ताहरुले कम्पनीहरुको शेयर किन्ने वा बेच्ने वा किन्ने / बेच्ने निर्णय होल्ड गर्ने हो। लगानीकर्ताहरुको किन्ने / बेच्ने / होल्ड गर्ने काम स्टकको चार्टमा मूल्य र भोल्युमको रुपमा परिलक्षित हुन्छ ।

स्टक चार्टमा देखिने मूल्यले नै विभिन्न संकेतहरु (Indicators) र चार्ट प्याटर्न बनाउँछ। यसरी आधारभूत सूचनाले प्राविधिक चार्ट बनाउँछ ! लगानीकर्ताहरुले आधारभूत सूचना जानकारी राखेर विवेकपूर्ण र तर्कपूर्ण लगानी गर्ने बजारमा लगानीकर्ताहरुले स्टकको चार्ट, संकेतहरु र चार्ट प्याटर्न मात्र विश्लेषण गरेर लगानी गर्दा पनि आधारभूत सूचना विश्लेषण गरेर लगानी गर्ने वा नगर्ने सरहको हुन्छ ।

तर, नेपालमा कतिपय यस्ता कम्पनीहरु छन् जस्को लामो समय सम्म साधारण सभा भएको छैन, कतिपय कम्पनीहरुले त्रैमासिक विवरण पनि छापेका छैनन् अर्थात् ती कम्पनीहरुमा के भईरहेको छ भन्ने आधारभूत सूचना केही पनि उपलब्ध छैन, कतिपय कम्पनीहरुको प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीहरुले राम्रो गरेका छैनन् र विगतको प्रवृतिको आधारमा तिनीहरुले राम्रो गर्ने संभावना पनि छैन ।

यस्ता आधारभूत रुपमा अति नै कमजोर कम्पनीहरुको स्टकको मूल्य “उच्च डिमान्ड / न्यून-सप्लाई र लो क्याप” को नाममा आधारभूत रुपमा धेरै नै बलिया कम्पनीहरुको शेयरको मूल्यको तुलनामा अचाक्लि उच्च तहमा बढाईएको छ! अनि यस्तै कम्पनीहरुको प्राविधिक विश्लेषण गरिन्छ र विश्लेषण गर्दा सरकार / अर्थमन्त्री परिवर्तन हुने वा नहुने, मौद्रिक नीतिमा कुनै कुरो आउने वा नआउने जस्ता हल्लाहरुको कथा जोडेर सोझासाझा कारोवारीहरुलाई भ्रममा पारिन्छ। सरकार वा अर्थमन्त्री परिवर्तन हुँदा आकाशै खस्छ वा आफ्नो सर्वस्व हरण हुन्छ कि जस्तो भ्रम छरिन्छ।

यस्तो खालको उच्च जोखिमयुक्त कारोवार गर्दा फाईदा त होला, तर उच्च नोक्सान हुन पनि सक्छ भन्ने कुरा ध्यानमा राख्नुपर्छ। तपाई जतिसुकै राम्रो प्राविधिक विश्लेषक भए पनि यस्ता आधारभूत रुपमा अति नै कमजोर कम्पनीहरुको स्टकको प्राविधिक चार्ट बिग्रन कत्ति पनि समय लाग्दैन। मैले भन्ने गरेको छु, गाई हाम्रो राष्ट्रीय जनावर हो, हिन्दूहरुको लागि त गौ माता पनि हुन्। गाई मोटो छ भन्दैमा गाईको मासु खाईदैन। त्यसरी नै, आधारभूत सूचना सन्तोषजनक नभएको वा उपलब्ध नभएको कम्पनीहरुको शेयरमा फाईदा हुन्छ भन्ने हल्लाको भरमा, फलानो “खेलाडी” लागेको छ भन्ने हल्लाहरुको भरमा अध्याँरो कोठामा ढुंगा हाने झै लगानी गर्दा भारी नोक्सान पनि हुन सक्छ !

(कुवर बैंकिङ विज्ञ हुन् । उनले धेरै वटा बैंकहरुको प्रमुख कार्यकारी अधिकृत पदमा रहेर काम गरिसकेका छन् । प्रस्तुत विश्लेषण उनको सामाजिक सञ्जालबाट लिइएको हो ।)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया