Nepal Life

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २१ दिनका लागि ७० अर्ब तान्दै, सिजनमै कर्जाको माग नहुँदा प्रणालीमा अधिक तरलता

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Sun 11:43
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २१ दिनका लागि ७० अर्ब तान्दै, सिजनमै कर्जाको माग नहुँदा प्रणालीमा अधिक तरलता
National Life

काठमाडौं । कर्जा जाने सिजनमै बैंकिङ प्रणालीमा अधिक तरलता देखिए पछि राष्ट्र बैंकले प्रणालीबाट निरन्तर पैसा तान्नु परिरहेको छ । राष्ट्र बैंकले आज पनि २१ दिनका लागि ७० अर्ब रुपैयाँको बोलकबोल गर्न लागेको हो । 

NIMB

आज आइतबार पुस १४ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुले लगानी गर्न नसकेको ३ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ यसअघि नै राष्ट्र बैंकमा रहेको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २१ दिनका लागि ७० अर्ब रुपैयाँ तान्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज  दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति माघ ६ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले नियमित रुपमा स्थायी निक्षेप सुविधा एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ । 

अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले तरलता खिच्ने र अन्तर बैंक ब्याजदर घट्न वित्तीय प्रणालीको पैसा खिच्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको खण्डमा ३ प्रतिशत ब्याजदरमा सीधै केन्द्रीय बैंकमा निक्षेप राख्न सक्छन । 

बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत १ खर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत यस अघि संकलन भएकोे २ खर्ब २६ अर्ब ९० करोड रकम परिपक्क हुन बाँकी छ । निक्षेप संकलन उपकरणमा तथा एसडीएफको गरेर कुल ३ खर्ब २७ अर्ब २५ करोड बैंकहरुको रकम राष्ट्र बैंकमा थुप्रिएको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६६ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५३ खर्ब ४१ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९७ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार