दोस्रो त्रैमाशको क्लोजिङ अगाडी बैंकिङ प्रणालीमा थुप्रियो तरलता, राष्ट्र बैंकले आज पनि ५० अर्ब तान्दै
- BFIS News
- 2025 Jan Sun 12:32
काठमाडौं, पुस २१ । दोस्रो त्रैमाशको क्लोजिङमा केन्द्रित बैंकहरुले कर्जा प्रवाह भन्दा पनि असुलीमा जोड दिदा प्रणालीमा तरलता थप थुप्रिएको छ । खराव कर्जा सुधार गरेर व्यालेन्स सिट सुधारिएको देखाउन केन्द्रित बैंकहरुले कर्जा प्रवाहमा खासै जोड दिइरहेका छैनन् । त्यसमा पनि समग्र आर्थिक अवस्थामै सुस्तता कायमै रहकाले खासै कर्जाको माग नरहेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।
खराव कर्जाका विषयमा नेपाल राष्ट्र बैंकले कडाइका साथ इन्सपेक्सन गरिरहेको छ । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नै टेकओभर गरेको राष्ट्र बैंकले पछिल्ला दिनमा बैंकहरुको सुपरिवेक्षणमा थप कडाइ गर्दै आइरहेको छ । यसले गर्दा पनि बैंकहरु कर्जा असुलीमा जोडतोडका साथ लागिरहेका छन् ।
यसले गर्दा बैंकहरु नयाँ कर्जा प्रवाह गर्न छाडेर पुरानै कर्जा असुलीमा केन्द्रित भएका हुन् । जसले गर्दा प्रणालीमा लगानीयोग्य रकम थुप्रिदै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ ।
निक्षेप बोलकबोलका लागि आज दिउँसो २ बजे सम्मको समय निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि गत पुस १७ गते मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब तरलता प्रशोचन गरेको थियो । सो दिन राष्ट्र बैंकहरुले २८ अर्ब मात्रै राष्ट्र बैंकमा बुझाएका थिए । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो । चालु आर्थिक वर्ष सुरु भए यता निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ३६ पटकमा १३ खर्ब ३९ अर्ब २५ करोड रुपैयाँ खिचेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अधिक तरलताको ३ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । बैंकहरुले निक्षेप संकलन उपकरणमा २ खर्ब २७ अर्ब ४० करोठ तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ राखेका छन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ७८ अर्ब नाघेको छ भने ५३ खर्ब ६३ अर्ब कर्जा लगानी पुगेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९.०१ प्रतिशत कायम रहेको छ । बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन् । बैंकहरुको हालको सीडी रेसियो हेर्दा बैंकहरुमा ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ ।
प्रतिक्रिया