लक्ष्मी सनराइज बैंकको लाभांश पारित, शेयरधनीले एक अर्ब १५ करोड बोनस शेयर र करका लागि ६ करोड १० लाख नगद पाउने
- BFIS News
- 2025 Jan Wed 13:34
काठमाडौं । लक्ष्मी सन राइज बैंकको चौबिसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको अग्रवाल भवन कमलपोखरीमा सम्पन्न सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
शेयरधनीले बोनस शेयर बापत एक अर्ब १५ करोड बराबरको बोनस शेयर पाउने भएका हुन् । चौबिसौं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै सभाबाट लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु उपर छलफल गरि पारित भएको छ ।
बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ । लाभांश पारित भए सँगै बैंकको विद्यमान चुक्ता पूँजी २३ अर्ब १८ करोडबाट बढेर २४ अर्ब ३४ करोड पुगेको छ ।
बैंकले सञ्चालकहरुको सुविधामा समायानुकुल बृद्धि गर्दै अध्यक्षको लागि प्रति बैठक भत्ता २० हजार र सदश्यहरुका लागि १८ हजार पुर्याएको छ । सञ्चालकहरुले यस बाहेक मोबाइल खर्च बापत प्रति महिना १० हजारका दरले प्राप्त गर्नेछन् ।
प्रतिक्रिया