व्याजदर घट्दा लगानीकर्ताको शेयर धितोकर्जामा आकर्षण, एक वर्षमा २७ प्रतिशतले बढ्यो, दोस्रो बजारमा मौका कुर्दै
- BFIS News
- 2025 Jan Sun 07:05
काठमाडौं, माघ ६ गते । पछिल्लो एक वर्षमा सेयर धितो कर्जा २७ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ७ अर्ब रुपैयाँबराबर सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
व्याजदर घट्दा लगानीकर्ताहरु शेयर धितोकर्जामा आकर्षित भएका हुन् । बैंकहरुले निक्षेपमा ३ प्रतिशत व्याजदर दिइरहेका छन् । बैंकमा पैसा राख्नु भन्दा अहिले शेयरमा लगानीगर्दा राम्रो प्रतिफल पाउन सकिन्छ । अर्को तर्फ बजारमा सानो मात्रै मुभमेन्ट आयो भने पनि ऋण लिएर लगानी गर्दा त्यसको रिटर्न राम्रो हुने विश्लेषकहरु बताउछन् ।
गत वर्ष मंसिर मसान्तसम्म यस्तो कर्जा ८१ अर्ब १९ करोड रुपैयाँ थियो । एक वर्षमा सेयर धितो कर्जा २६ अर्ब ७५ करोड रुपैयाँ अर्थात् ३२.९५ प्रतिशतले बढेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ, जसकारण ब्याजदर क्रमशः घट्दै एकल अंकमा झरिरहेको छ । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दरसमेत घटाएका छन् । प्रणालीमा तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप्दै आएका बैंकहरुले अहिले एक–डेढ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जा दिएकाले गर्दा पनि ब्याजदर सस्तिएको छ ।
ब्याजदर घट्दै जाँदा त्यसको लाभ सेयर बजारका लगानीकर्ताले बढी मात्रामा लिएका छन् । यद्यपि, अर्थतन्त्रको सुस्तताकोे असर सबैतिर पर्दा सेयर बजारमा पनि अपेक्षित गतिमा लगानी बढ्न नसकेको जानकारहरु बताउँछन् । चालु आवको मंसिरसम्ममा वाणिज्य बैंकहरुले २२ अर्ब ६५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुले ३ अर्ब ३७ करोड रुपैयाँ प्रवाह गरेका छन् ।
फाइनान्स कम्पनीहरुले भने ७२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आवको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुले मात्रै ८६ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ३५.५७ प्रतिशतले बढी हो । गत वर्ष मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरुले ६३ अर्ब ६७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवह गरेका थिए ।
सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक छ । यो अवधिमा नबिलले ११ अर्ब ३९ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ । ग्लोबल आइएमई बैंकले ११ अर्ब ३१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा १६ बैंकको सेयर धितो कर्जा बढेको छ भने ३ बैंकको घटेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले भने सेयर धितो कर्जा प्रवाह गरेको छैन ।
एक वर्षमा विकास बैंकहरुले प्रवाह गर्ने सेयर धितो कर्जा २४ प्रतिशतले बढेर १७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । २०८० मंसिर मसान्तसम्म विकास बैंकहरुले सेयर धितो कर्जा १४ अर्ब ७ करोड रुपैयाँ प्रवाह गरेका थिए । यो अवधिमा सबैभन्दा धेरै सेयर कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकले ३ अर्ब ४४ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ । गरिमा विकास बैंकले २ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षमा १० विकास बैंकको सेयर धितो कर्जा प्रवाह बढेको छ भने ३ बैंकको घटेको छ । ४ बैंकले भने सेयर धितो कर्जा प्रवाह गरेका छैनन् ।
एक वर्षमा फाइनान्स कम्पनीहरुले ७२ करोड ३८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । मंसिर मसान्तसम्म फाइनान्स कम्पनीहरुले ४ अर्ब १५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २१.०८ प्रतिशतले बढी हो ।
सबैभन्दा धेरै सेयर कर्जा प्रवाह गर्नेमा मञ्जुश्री फाइनान्स रहेको छ । यो अवधिमा मञ्जुश्रीको सेयर धितो कर्जा २४.६९ प्रतिशतले बढेर ७७ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा ९ कम्पनीको सेयर धितो कर्जा बढेको छ ।
प्रतिक्रिया