Nepal Life

बचत कर्तालाई निरुत्साहित बनाउदै बैंकहरु, वास्तविक व्याजदर ऋणात्मक हुँदा अनुत्पादनमुलक क्षेत्रमा पैसा जाने डर

National Life
  • प्रभात कुइकेल
  • 2025 Feb Sun 18:43
बचत कर्तालाई निरुत्साहित बनाउदै बैंकहरु, वास्तविक व्याजदर ऋणात्मक हुँदा अनुत्पादनमुलक क्षेत्रमा पैसा जाने डर
RBB

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार हाल मुद्रास्फीति दर ५.४१% छ भने औसत निक्षेप व्याजदर ४.७५% मात्र छ। यस अनुसार हाल बचतकर्ताहरूले आफ्नो निक्षेपबाट वास्तविक रूपमा ०.६६% घाटा व्यहोर्नुपरिरहेको छ। अझ खाद्य तथा पेय पदार्थ समुहको मुद्रास्फीतिलाई हेर्ने हो भने ७.६७ प्रतिशत छ । यस हिसावले बचतकर्ताहरुलाई निक्षेपबाट वास्तविक रुपमा २.९२ प्रतिशत घाटा व्यहोर्नु परिरहेको छ । यसले नकारात्मक वास्तविक व्याजदरको संकेत गरेको अर्वविदहरु बताउछन्, जसले बचत गर्न निरुत्साहित गर्छ।

NIMB

जब बैंकमा राखिएको पैसाले मुद्रास्फीति बराबर वा सोभन्दा बढी प्रतिफल दिन सक्दैन, तब मानिसहरूले बैंकमा पैसा राख्न चाहँदैनन्। यसले बचत दर घट्न सक्छ, जसको असर दीर्घकालीन लगानीमा पर्ने अर्थशास्त्रीहरुको भनाइ छ ।

यदि निक्षेपको व्याजदर मुद्रास्फीतिभन्दा कम छ भने, मानिसहरूले पैसा बचत गर्नुभन्दा खर्च गर्न बढी प्राथमिकता दिन्छन् । किनभने आजको पैसाले भविष्यमा कम मूल्यका वस्तु किन्न सक्छ । यसले बजारमा उपभोग बढ्न सक्छ, जसले मुद्रास्फीतिमा थप दबाब दिन सक्ने उनिहरुको भनाइ छ ।

यदि यस्तै अवस्था रहिरह्यो भने बचतकर्ताहरू बैंकमा पैसा राख्न अनिच्छुक हुने अर्थविदहरु बताउछन् । जसले गर्दा बैंकहरूसँग नयाँ लगानीका लागि स्रोत कम हुनसक्छ । यसले कर्जा प्रवाह घट्न सक्छ, जसले व्यवसाय र उत्पादनशील क्षेत्रहरूमा समस्या ल्याउन सक्छ ।

राष्ट्र बैंकले मुद्रास्फीतिलाई नियन्त्रण गर्न र वास्तविक बचत दरलाई सकारात्मक बनाउन मौद्रिक नीतिमा परिमार्जन गर्नु पर्ने देखिएको उनिहरुको भनाइ छ ।

बचतकर्ताहरू बैंकमा पैसा राख्नुभन्दा शेयर बजार, जग्गा-जमिन, सुन, वा अन्य सम्पत्तिमा लगानी गर्न प्रेरित हुन सक्छन् । यसको दीर्घकालीन प्रभाव वित्तीय बजारमा अस्थिरता ल्याउन सक्छ। यसको नतिजा अहिले पनि नेपालीहरुले भोगिरहेका छन् । कुनै समयमा मौलाएको घरजग्गा व्याजदर उत्कर्षमा पुगे सँगै अर्थतन्त्रमा ठुलो दवाव सिर्जना गर्यो जसले गर्दा अहिलेसम्म पनि घरजग्गाको कारोबार तङ्ग्रिन सकेको छैन । वर्तमान अवस्थामै हेर्ने हो भने अहिले बैंकहरु आफै शेयर धितोकर्जामा हौसिएका छन् भने लगानीकर्ताहरु पनि सस्तो व्याजदरमा कर्जा लिएर शेयरमा लगानी गरिरहेका छन् ।

वास्तविक व्याजदर (Real Interest Rate) को अवधारणा

शैद्धान्तिक रूपमा, बैंकको नाममात्रको (Nominal) व्याजदरलाई मुद्रास्फीतिको दरबाट समायोजन गर्दा वास्तविक व्याजदर पाइन्छ:

Real Interest Rate=Nominal Interest Rate−Inflation Rate {Real Interest Rate} = {Nominal Interest Rate} - {Inflation Rate}

यदि मुद्रास्फीति दर ५.४१% छ र बैंकले मात्र ४.७५% व्याज दिन्छ भने, वास्तविक व्याजदर -०.६६% हुन्छ, जसको अर्थ बचतकर्ताले आफ्नो पैसा गुमाउँदै छन्। यो अवस्थालाई नकारात्मक वास्तविक व्याजदर भनिन्छ, जसले बचत गर्ने प्रवृत्तिमा नकारात्मक प्रभाव पार्छ। शैद्धान्तिक रूपमा, जब बैंकको व्याजदर मुद्रास्फीति दरभन्दा कम हुन्छ, त्यसले बचतकर्ताहरूलाई हानि पुर्याउँछ, किनभने उनीहरूको बचतको वास्तविक मूल्य घट्छ। यसले बचत गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्छ, जबकि उपभोग वा लगानीतर्फ आकर्षित गर्छ।

व्याजदर

२०८० पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.३७ प्रतिशत रहेकोमा २०८१ पुसमा २.८१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० पुसमा २.८६ प्रतिशत रहेकोमा २०८१ पुसमा ३.०० प्रतिशत रहेको छ ।

२०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरुको ९.५० प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको थियो ।

२०८१ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत, विकास बैंकहरुको ५.५६ प्रतिशत र वित्त कम्पनीहरुको ६.६६ प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत, विकास बैंकहरुको १०.१० प्रतिशत र वित्त कम्पनीहरुको ११.१० प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको थियो ।

उपभोक्ता मुद्रास्फीति

२०८१ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २८.५२ प्रतिशत, घ्यू तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.१२ प्रतिशतले घटेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया