बैदेशिक रोजगारमा गएका नेपालीको आइपिओमा बढ्दो आकर्षण, तीन कम्पनीमा आवेदन खुल्दा नेपाल माइक्रोमा ५० हजार नाघे
- BFIS News
- 2025 Feb Mon 20:23
काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीहरुको आइपिओमा आकर्षण बढ्दो क्रममा देखिएको छ । अहिले तीन वटा कम्पनीहरुले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपिओ निष्काशन गरिरहेका छन् । यस मध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा ५० हजार २३० जनाको आवेदन परेको छ ।
आजैदेखि बिक्री खुला गरेको ओम मेगाश्रीको आइपिओमा १४ हजार ७०१ जनाले तीन लाख ७१ हजार कित्ताको लागि आवेदन दिएका छन् । एक लाख ८१ हजार कित्ता आह्वान गरिएकमा पहिलो दिनमै माग भन्दा बढिको आवेदन परेको हो । यसमा १८ हजार एक सय जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन् । बाँकी सबैको हात खालि हुनेछ ।
अहिले क्रेष्ट माइक्रोले पनि वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरेको आइपिओमा ४१ हजार ७२० जनाको आवेदन परेको छ । कम्पनीले माघ २९ गतेसम्म बिक्री खुला राख्नेछ । नेपाल माइक्रोले भने भोलिदेखि निष्काशन बन्द गर्नेछ ।
नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई शेयर बजारमा आकर्षित गर्न आइपिओ जारी गर्ने व्यवस्था गरेको हो । पछिल्लो समय नेपाल बाहिरबाट पनि टिएमएस सञ्चालन गर्नेहरुको संख्या क्रमिक रुपमा बढिरहेको छ ।
जुन हिसावले शेयर बजारमा कारोबार रकम बढिरहेको छ त्यसमा स्वदेश मात्रै नभएर विदेशमा गएका नेपालीहरुको पनि योगदान उत्तीकै छ । वर्तमान समयमा लाखौको संख्यामा नेपालीहरु वैदेशिक रोजगारमा गएका छन् । आइपिओमा आवेदन दिन अनिवार्य श्रम स्वीकृति लिएको हुनु पर्छ । नेपालमा गएका कयौ नेपालीहरुको श्रम स्वीकृतिको म्याद सकिएको पाइएको छ । श्रम स्वीकृति सकिए पछिको आवेदन स्वत रद्द हुने भएकाले आवेदन दिनेहरु मध्ये धेरैको आवेदन रद्द हुँदै आएको छ । अर्को तर्फ कतिपय श्रमिकले रेमिट खाता बाहेक अन्य बैंक खाता प्रयोग गरेर पनि आवेदन दिने गरेको पाइएको छ । यस्तो अवस्थामा पनि आवेदन रद्द हुने गर्छ । यसले गर्दा यस विषयमा धेरै जनचेतना आवश्यक रहेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकहरुको भनाइ छ ।
प्रतिक्रिया