आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा गर्दै गभर्नर अधिकारी
- BFIS News
- 2025 Feb Wed 06:48
काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा जुटेको छ । यसका लागि केन्द्रीय बैंकले अहिले आन्तरिक छलफल गरिरहेको छ भने तथ्यांकहरु अध्ययन गरिरहेको छ ।
उनले अर्धवार्षिक समीक्षा केन्द्रीय बैंकले निर्धारण गरेको समय तालिकाभित्र नै ल्याउने बताए । नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ गतेभित्र ल्याइसक्नुपर्नेछ ।
अर्धवार्षिक समीक्षामार्फत तथ्यांकले दिएसम्म लचक बन्ने तयारीमा केन्द्रीय बैंक
राष्ट्र बैंकका एक अधिकारीकाअनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फ तथ्यांकले दिएसम्मको लचक बन्ने योजना केन्द्रीय बैंक रहेको छ । तथापि, यसअघि नै केन्द्रीय बैंकले नीतिहरुमा मिल्लेसम्मको लचक बनिसकेको छ ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यहि चैत २५ गते सकिंदैछ । उनले आफ्नो कार्यकलमा ५ वटा मौद्रिक नीति ल्याए । यो अर्धवार्षिक समीक्षा नै उनको कार्यकालको अन्तिम समीक्षा हो । फलस्वरुपः उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सहज नीति लिन सक्ने अनुमानहरु भइरहेका छन् ।
तथापि, केन्द्रीय यसअघि नै लचक बनिसकेको कारण खासै लचक बन्ने ठाउँ भने नरहेको जानकारहरु बताउँछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर निकै न्यून बिन्दुमा आएको छ । सोहीअनुसार नीतिगत दरहरु पनि केन्द्रीय बैंकले घटाएको छ । यता, व्यवसायीको आत्मविश्वास गुम्दा कर्जाको माग नआएको बैंकरहरुले बताउँदै आएका छन् । उनीहरुको आत्मविश्वास बढाउने काम भने केन्द्रीय बैंकले गर्नुपर्नेछ ।
यता, सेयर बजारका लगानीकर्ताको ध्यान पनि मौद्रिक नीति समीक्षातिरै सोझिएको छ । सेयर बजारका लागि लाभ हुने गरी केन्द्रीय बैंकले विगतमा पनि पटकपटक नीतिहरु लचक बनाइसकेको अवस्था छ । अझै पनि सेयर धितो कर्जाको जोखिमभार बढी छ ।
यसकारण जोखिमभार घट्ने आशामा लगानीकर्ता बसेका छन् । यसैगरी, व्यक्तिगत लगानीकर्तामाथि लगाइएको सेयर धितो कर्जाको सीमा पनि खुला हुने अपेक्षा लगानीकर्ता राखेका छन् । मौद्रिक नीतिमार्फत यी विषयहरुमा सम्बोधन भएमा सेयर बजारले गति लिने लगानीकर्ताहरुको दाबी छ ।
यस्तो छ पुस मसान्तसम्मको देशको आर्थिक स्थिति
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । त्यस्तै, यसअवधिमा आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतले र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ । यता, शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेकोछ ।
पुस मसान्तसम्म नेपाल सरकारको खर्च ६ खर्ब ६७ अर्ब ६० करोड रुपैयाँ र राजस्व परिचालन ५ खर्ब ५९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको तथ्यांक छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.२ प्रतिशतले बढेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।
विदेशी मुद्रा सञ्चिति, शोधनान्तर, चालु खाता, रेमिट्यान्सलगायत सूचक लगातार बलियो बनिरहँदा पनि अर्थतन्त्र चलायमान हुन सकेको छैन । तथापि, पछिल्लो समय निजी क्षेत्रमा प्रवाह हुने कर्जा बढ्दै गएको छ । यसले अब बिस्तारै कर्जा प्रवाह बढ्नेछ भनेर अपेक्षा गर्न सक्ने बैंकरहरुले बताएका छन् ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समय सीमा यस्तो छ
मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार त्रैमसिक तथा अर्धवार्षिक समीक्षाको लागि त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग गर्न पत्राचार गर्नुपर्छ । साथै, प्राप्त राय–सुझाबउपर आवश्यकताअनुसार त्रैमास समाप्त भएको १५ दिनपछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल गर्ने कुरा कार्यविधिमा उल्लेख छ ।
अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल सम्पन्न भए पछि मौद्रिक नीतिको मस्यौदा उपर व्यवस्थापन समितिमा छलफल प्रारम्भ गरिनेछ । संचालक समितिबाट पारित भएपछि सामान्यतः त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रयमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था छ ।
प्रतिक्रिया