बैंकिङ क्षेत्रलाई खलबलाउने अराजक गतिविधिहरु प्रति बैंकर्सको आपत्ती, कानुनी दायरामा ल्याउन आह्वान
- BFIS News
- 2025 Feb Fri 14:32
काठमाडौं । नेपाल बैंकर्स संघ,डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल,नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गरेर बैंक तथा वित्तीइ संस्थामा रहेको निक्षेप सुरक्षित रहेको बताएका छन् ।
बैकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षकीय दृष्टिकोणले समेत अब्बल रहेको जनाउँदै विज्ञप्तिमा नेपालका बैंक,वित्तीय संस्था तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको जनाइएको छ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा नेपाल राष्ट्र बैंकले सूक्ष्म निगरानी गर्दै आएको छ । बैंकिङ्ग क्षेत्र नीति÷नियमहरूको अधीनमा रहेर प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रूपमा स्थापित भएको छ ।
‘बैंकिङ्ग क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षण गरिएको स्मरण गराउँदछौ ।’–विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना/समाचारहरूलाई मात्र आधिकारिक रूपमा लिनुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
आम–सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्न बैंक तथा वित्तीय क्षेत्र माग गरिएको छ ।
प्रतिक्रिया