गभर्नरको खोजिमा अगाडी बढ्यो सरकार, आकांक्षीहरु शक्तिकेन्द्र धाउन सुरु, दुई दल र दिपक भट्टको पोल्टामा गभर्नर पद
- BFIS News
- 2025 Mar 14 13:04
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनु भन्दा २५ दिन अगाडी नै प्रक्रिया अगाडी बढाएको छ । प्रायः सरकारले कार्यकाल सकिए पछि मात्रै आवश्यक प्रक्रिया अगाडी बढाउने गरेकोमा यस पटक सत्तारुढ दलहरु गभर्नरको नियुक्तिमा हतारिएका छन् ।
गभर्नर पद राजनीतिक बृत्तमा प्रतिष्ठाको रुपमा हेरिन्छ । गभर्नर पद कति शक्तिशाली छ भन्ने कुरा यस अगाडीका डा. चिरञ्जीवी नेपाल र अहिलेका महाप्रसाद अधिकारीको कार्यकाललाई लिएर हेरे पुग्छ । नेपाललाई तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले जति प्रयास गर्दा पनि हटाउन सकेनन । त्यस्तै अहिलेका महाप्रसाद अधिकारी र तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा विचको विवाद सतहमै आयो । कोभिड १९ को समयमा गभर्नर अधिकारीलाई आइसोलेसनमै बस्नु पर्ने अवस्थासम्म आयो । तर पनि उनको पद सुरक्षित रह्यो ।
यसले गर्दा पनि अहिलेको सत्तारुढदलहरु विच गभर्नर पदको नियुक्तिलाई लिएर ठुलै रस्साकस्सी छ । यस अगाडी नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण दुबैमा नेपाली कांग्रेस निकट व्यक्तिले नियुक्ति पाइसकेको हुँदा यस पटक एमालले आफ्नो व्यक्तिलाई नियुक्त गर्न चाहिरकेको हुन सक्छ । यद्यपी सत्ता समिकरणमा पहिलो पार्टी नेपाली कांग्रेसले दोस्रो पार्टीका अध्यक्ष केपी शर्मा वलीलाई प्रधानमन्त्री स्वीकार गर्नुका साथै अर्थमन्त्री पनि एमालेलाई नै दिएको हुँदा अर्थ मन्त्रालय मातहतका राजनीतिक नियुक्तिमा नेपाली कांग्रेसले आफुलाई अगाडी सार्दै आइरहेको छ ।
अर्थमन्त्री एमालेका विष्णु प्रसाद पौडेल भए पनि सत्तारुढ दल नेपाली कांग्रेसले आफुलाई प्रस्तुत गर्दै आइरहेको छ । यसले गर्दा गभर्नर पदमा पनि नेपाली कांग्रेसले छाड्ने सम्भावना निकै कम छ । तथापी एमालले ढिपि कसेमा गभर्नर पद भने आफुलाई नै चाहिने भन्दै अडान राख्ने सम्भावना पनि छ ।
अहिले गभर्नरको पदमा नेपाली कांग्रेस तथा नेकपा एमाले निकट व्यक्तिहरु नै खरो रुपमा उत्रिने निश्चित छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षमा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले आफ्ना पुरोहितका छोरालाई ठाडो नियुक्ति दिलाए । यसबाट पनि अवको नियुक्ति राजनीतिक निकट व्यक्तिले नै पाउने निश्चित छ ।
अहिले गभर्नरको दौडमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यकारी निर्देशकहरु पहिलो पङ्तिमा छन् । यदि राष्ट्र बैंकबाटै चयन गर्ने अवस्था रह्यो र एमालेको पोल्टामा गभर्नर पद पुग्यो भने अहिलेका दुई डेपुटी गभर्नर मध्ये एक जना हुने सम्भावना छ । त्यस्तै नेपाली कांग्रेसको पोल्टामा पर्यो भने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बलिया दाबेदार हुन सक्छन् । उनि शक्तिकेन्द्र देउवाका माध्यमबाट नियुक्त हुन सक्नेछन् ।
अर्को तर्फ दिपक भट्ट पछिल्लो समयका अर्का शक्तिकेन्द्र बन्दै आइरहेका छन् । उनका विश्वास पात्र वा उनले अगाडी सारेका व्यक्तिले राजनीतिक नियुक्ति पाउनुका साथै राजनीति लाभ पाउने गरेका छन् । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तमा पनि उनको प्रत्यक्ष हात रहेको चर्चा छ । उनले नै शेयर बहादुर समक्ष बीमा प्राधिकरणका अध्यक्षलाई पुर्याएका थिए । उनको जोडबलमा पुरोहित सम्बन्धले अध्यक्ष शरद ओझालाई चिठ्ठा परेको चर्चा छ । यहि परिदृश्यलाई हेर्ने हो भने अवको नियुक्ति पनि यहि रोडम्यापमा अगाडी बढ्ने देखिन्छ ।
गभर्नरको दौडमा पुर्व अर्थसचिव रामेश्वर खनाललाई सञ्चार माध्यमले पटक पटक दोहोर्याउदै आएका छन् । जव सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगको प्रमुखमा खनाललाई नियुक्ति गर्यो त्यस पछिको चर्चा बढेको थियो । यद्यपी सरकार उनि प्रति खासै सकारात्मक नरहेको बुझिन्छ । उनले पटक पटक राजनीतिक धार परिवर्तन गरेको र अहिलेका खेलाडी दिपक भट्टको शरणमा पुगि पुगि पद हालिस गर्नै पर्ने मनस्थितिमा उनि नरहेको विश्लेषकहरु बताउछन् । यदि सरकारले स्वच्छ रुपमा नियुक्त गर्यो भने मात्र उनि रोजाइमा पर्न सक्छन् । तर स्वार्थपुर्ण रुपमा नियुक्त गरिदै गर्दा उनि रोजाइमा पर्ने सम्भावना एकदमै कम छ ।
अहिलेको दौडमा नागरिक लगानीकोषका रमण धिताल पनि शक्तिकेन्द्रमा धाइरहेका छन् । उनले आफ्नो बायोडाटा राजनीतिक बृत्तमा प्रस्तुत गर्दै आइरहेका छन् । अहिले पनि उनि लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा छन् । उनलाई राजेन्द्र खेतान समुहले पनि पुस गरिरहेको छ ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक राजनसिंह भण्डारी पनि गभर्नरका दौडमा छन् । उनले सिटिजन्स बैंक स्थापना गरेर आफै प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष समेत भइसकेका छन् । राष्ट्र बैंकसँगै वित्तीय क्षेत्रको ज्ञान र अनुभवले निपुर्ण भण्डारी पनि गभर्नर रेसका बलिया दाबेदार हुन् । कांग्रेस पृष्ठभूमिका भण्डारी हक्की स्वभावका छन् ।
पुर्व राजस्व सचिव लालशंकर घिमिरे पनि केपी ओली सँगको निकटताका आधारमा बलिया दाबेदार हुन् । अघिल्लो पल्टै उनलाई आकांक्षीका रुपमा हेरिएकामा यसपाली पनि दाबेदार मानिएको छ ।
रवीन्द्र पाण्डे नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक तथा वर्तमान सञ्चालक पनि हुन् । नेपाली कांग्रेस निकट पाण्डेलाई पनि सम्भावित उम्मेदवार मानिएको छ । गभर्नर कांग्रेसको भागमा परेको खण्डमा कांग्रेसले उनलाई पनि अघि सार्न सक्ने सम्भावना छ ।
राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ पनि गभर्नरको रेसमा निकै अगाडि छन् । श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेल निकट छन् । उनले एमाले महासचिव शंकर पोखरेल हुँदा प्रदेश योजना आयोग उपाध्यक्षका रुपमा काम गरेका थिए । उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य छन् ।
यस्तै, ४ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत भावी गभर्नरकोरुपमा हेर्न थालिएको छ । नविल बैंकका प्रमुख ज्ञानेन्द्र ढुंगाना, माछापुच्छ्रे बैंकका प्रमुख सन्तोष कोइराला, कृषि विकास बैंकका प्रमुख गोबिन्द गुरुङ र प्रभु बैंकका अशोक शेरचन समेत गभर्नरका लागि दौडधुप गरिरहेका छन् । ढुंगाना र कोइराला नेपाली काँग्रेस निकट हुन् । शेरचन नेकपा एमाले निकट मानिन्छन् ।
पूर्व पत्रकार तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का महानिर्देशक गोकर्ण अवस्थी समेत गभर्नरको तयारीमा जुटेका छन् । नेपाली कांग्रेस निकट अवस्थी आफ्नो चिनजानको शक्तिकेन्द्रमा ‘लविइङ’ बढाइरहेका छन् । शेखर गोल्छा अध्यक्ष हुँदा महासंघ छिरेका उनी चन्द्रप्रसाद ढकालको कार्यकालमा समेत महानिर्देशकमै छन् । उनलाई ‘कर्पोरेट हाउस’को समेत साथ रहेको बताइन्छ । यस बाहेक विश्व पौडेललाई पनि गभर्नरका आकांक्षीका रुपमा चर्चा गरिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया