हिमालयन लघुवित्तको मुनाफा ३६९ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी २२.३० रुपैयाँ पुग्यो
- BFIS News
- 2025 Apr Fri 11:11

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले उक्त अवधिमा कुल रु. ५.३४ करोड खुद नाफा कमाउँदै अघिल्लो वर्षको सोही अवधिको रु. १.१३ करोडको तुलनामा ३६९.३२ प्रतिशतले वृद्धि गरेको छ।
संस्थाको कुल नेट इन्ट्रेस्ट इनकम (साफ ब्याज आम्दानी) ५३.०७ प्रतिशतले वृद्धि भई रु. २४.४७ करोड पुगेको छ भने सञ्चालन मुनाफा रु. १.६२ करोडबाट बढेर रु. ७.६४ करोड पुगेको छ, जुन ३६९.७५ प्रतिशतको वृद्धि हो।
यस वृद्धिको प्रभावस्वरूप संस्थाको प्रति शेयर आम्दानी (EPS) पनि गत वर्षको रु. ४.७५ बाट बढेर रु. २२.३० पुगेको छ।
संस्थाको कर्जा तथा लगानी ३०.१२ प्रतिशतले बढेर रु. ४.८७ अर्ब पुगेको छ। त्यसैगरी, बरोइङमा ३१.६९ प्रतिशत वृद्धि हुँदै रु. ३.४२ अर्ब पुगेको छ। ग्राहक जम्मा निक्षेपमा १४.९७ प्रतिशतको वृद्धि देखिएको छ, जसअनुसार कुल जम्मा रु. १.०४ अर्ब भएको छ।
हिमालयन लघुवित्तको जगेडा कोष ३६.६९ प्रतिशतले वृद्धि भई रु. १३.२८ करोड पुगेको छ भने विगतमा नकारात्मक रहेको खुद आम्दानी (retained earnings) अहिले रु. १.११ करोडमा सुधारिएको छ।
यद्यपि, सम्पत्ति गुणस्तरमा केही कमजोरी देखिएको छ। संस्थाको खराव कर्जा ४.६१% बाट बढेर ५.३४% पुगेको छ । यसैबीच, इम्पेरियल चार्ज पनि २८७.५७ प्रतिशतले बढेको देखिन्छ।
पुँजी पर्याप्तता अनुपात (CAR) ९.५७ प्रतिशतबाट घटेर ८.९२ प्रतिशतमा झरेको छ, जसले ६.७९ प्रतिशतको गिरावट देखाउँछ र भविष्यको जोखिम अवशोषण क्षमतामा प्रश्न उठाउन सक्छ।
सकारात्मक पक्षमा, संस्थाको कोषको लागत (cost of fund) ८.६९ प्रतिशतबाट घटेर ६.८६ प्रतिशतमा झरेको छ, जसले २१.०६ प्रतिशतको गिरावट जनाउँछ र नेट मर्जिनमा सुधार ल्याएको छ। प्रति शेयर शुद्ध सम्पत्ति (Net Worth Per Share) पनि ११.६९ प्रतिशतले बढेर रु. १५९.२४ पुगेको छ।
तेस्रो त्रैमासको अन्त्यसम्म, संस्थाको बजार मूल्य रु. ९५९.९९ रहेको छ भने मूल्य–आर्जन अनुपात (PE Ratio) ४३.०५ गुणा रहेको छ ।
हिमालयन लघुवित्तले तेस्रो त्रैमासमा उत्साहजनक वित्तीय प्रदर्शन देखाएको छ। लागत व्यवस्थापन र ब्याज आम्दानीमा सुधारले मुनाफा वृद्धिमा उल्लेखनीय भूमिका खेलेको छ। यद्यपि, NPL र CAR जस्ता जोखिम सूचकमा देखिएको कमजोरी संस्थाले दीर्घकालीन रूपमा सुधार गर्नु पर्ने छ।
प्रतिक्रिया