Nepal Life

नेपाल लाइफले खोल्यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय

RBB
  • BFIS News
  • 2025 May Fri 05:15
नेपाल लाइफले खोल्यो ५ अर्बको  इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय
Shikhar detail

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ को औपचारिक शुभारम्भ गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाइ र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुसिलदेव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रिय कार्यालय उद्घाटन गरेका हुन्।

NIMB

नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो। बीमा बजारमा २५ वर्ष पूरा गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष अध्यक्ष गोविन्द लाल संघाइले नेपाल लाइफले बीमा शुल्क आर्जन, दाबी भुक्तानी, जीवन बीमा कोष, ग्राहक सेवा लगायतका सूचकहरूमा अग्रणी स्थान हासिल गर्दै आएको र ३० प्रतिशत बीमा बजार हिस्सा ओगटेको बताए। उनले भने, “हामीले प्रत्येक नेपाली परिवारलाई जीवन बीमा मार्फत आर्थिक सुरक्षा प्रदान गर्ने काम गर्दै आएका छौं। उच्च प्रतिफलका लागि लगानी विविधिकरण आवश्यक ठानी लगानी कम्पनी स्थापना गरेका हौं।”

उनले पारदर्शिता, सूचना प्रविधिको प्रयोग, तथ्याङ्क विश्लेषण, व्यावसायिक सञ्जाल विस्तार, उत्कृष्ट जनशक्ति व्यवस्थापन, ट्र्याक रेकर्ड निर्माण र ब्राण्डिङमा विशेष ध्यान दिनु आवश्यक रहेको सुझावसमेत दिएका छन्।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुसिलदेव सुवेदीले भने, “बीमा कोषमा गरीबदेखि धनीसम्मको पसिना मिसिएको छ। त्यसैले यसलाई सुरक्षा र सही उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो।” उनले लगानी विविधिकरणको आवश्यकतालाई जोड दिँदै भने, “नेपाल लाइफले बीमा बजारको नेतृत्व गर्दै सहायक कम्पनी स्थापना गरेर अर्को चरणको काम सुरु गरेको छ। पाँच अर्बको लगानी अब बढाउनुपर्छ — सही प्रविधि र उच्चतम उपकरणको प्रयोग गरेर।”

उनले बीमा पहुँच बढाउन दीर्घकालीन सोच र रणनीति आवश्यक रहेको उल्लेख गर्दै नेपाल लाइफले आफ्नो ब्राण्डलाई अझ सबल बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे।

सञ्चालक सदस्य कमलेश कुमार अग्रवालले कम्पनीको हालको अवस्था र भविष्यप्रति आशावादी धारणा राख्दै भने, “नेपाल लाइफमा हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता छन्। जीवन बीमा कोष दुई खर्ब २५ अर्ब पुगेको छ, पाँच वर्षभित्र पाँच खर्ब पुग्ने हाम्रो अनुमान छ।”

उनले बीमा अब सुरक्षा मात्र नभई लगानीको प्रतिफलका लागि पनि गरिएको उल्लेख गरे। “विशेषीकृत संस्था मार्फत लगानी विविधिकरण गर्दै उच्च प्रतिफल प्राप्त गर्ने उद्देश्यले यो कम्पनी स्थापना गरिएको हो,” उनले भने।

उनका अनुसार कम्पनीले कृषि, पर्यटन, होटल, केबलकार, जलविद्युत, सौर्य उर्जा जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै जानेछ। जोखिम व्यवस्थापन, नियामक संस्थासँग समन्वय, र पारदर्शी नीति अपनाउनेमा कम्पनी प्रतिबद्ध रहने उनको भनाइ थियो।

प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले भने, “नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापना नेपाल लाइफका लागि मात्र नभई सम्पूर्ण जीवन बीमा क्षेत्रका लागि कोशेढुङ्गा हुनेछ।”

उनका अनुसार सहरमा शाखा विस्तार, आफ्नै भवन निर्माण, क्यापिटल कम्पनी स्थापना, र संरचनात्मक परिवर्तन मार्फत कम्पनीले लगानी विविधिकरणलाई प्राथमिकता दिएको छ। “सही समयमा, सही क्षेत्रमा, सही लगानी गर्ने र मुलधनको सुरक्षा गर्दै प्रतिफल प्राप्त गर्ने हाम्रो लक्ष्य हो,” पराजुलीले स्पष्ट पारे।

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापाले कम्पनीको प्राथमिक उद्देश्य नेपाल लाइफको लगानीलाई सुरक्षित गर्दै उच्च प्रतिफल प्रदान गर्नु रहेको बताए। “हामी आन्तरिक र बाह्य मूल्याङ्कनका आधारमा विवेकशील ढंगले लगानी गर्नेछौं,” उनले भने।

नायव प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमित कयालले संसारका विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि छुट्टै लगानी कम्पनी स्थापना गरेर बीमा कोषको व्यवस्थापन गर्ने संस्कृति सुरु भएको बताए। “ग्राहककै हितलाई केन्द्रमा राखेर लगानीको कार्य अघि बढाउनेछौं। योजना, कार्यान्वयन र नियमन जस्ता तीन पक्ष सम्हाल्दै हामी विश्वसनीयता कायम राख्नेछौं,” कयालले स्पष्ट पारे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया