NIMB Header 2
Nepal Life

गैरबैंकिङ सम्पत्तिमा तीव्र वृद्धि, बैंकहरू तनावमा ग्लोबल आइएमईको सबैभन्दा धेरै, स्टान्डर्ड चार्टर्डको शून्य

National Life
  • BFIS News
  • 2025 May 16 21:32
गैरबैंकिङ सम्पत्तिमा तीव्र वृद्धि, बैंकहरू तनावमा ग्लोबल आइएमईको सबैभन्दा धेरै, स्टान्डर्ड चार्टर्डको शून्य
Sanima Reliance

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति उल्लेख्य रूपमा वृद्धि भएको छ।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा गैरबैंकिङ सम्पत्ति ६३.५१ प्रतिशतले वृद्धि भई ४४ अर्ब ८० करोड रुपैयाँ नाघेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २७ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।

गैरबैंकिङ सम्पत्ति भन्नाले बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको साँवा र ब्याज असुल गर्न नसकेपछि लिलामीमार्फत बिक्री गर्न नसकी आफैंले स्वामित्व ग्रहण गरेको सम्पत्तिलाई जनाइन्छ। यस्तो सम्पत्तिमा शतप्रतिशत प्रावधान छुट्याउनु पर्ने भएकाले पनि बैंकहरूको वित्तीय भार बढ्दै गएको छ।

बैंकहरूमा निष्क्रिय कर्जा (एनपीएल) को दर बढेसँगै गैरबैंकिङ सम्पत्तिमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ। गत वर्षको चैतमा औसत निष्क्रिय कर्जा ३.९८ प्रतिशत रहेकोमा यस वर्षको चैतसम्ममा यो दर ५.२४ प्रतिशतमा पुगेको छ।

बिक्री नहुने सम्पत्ति थुप्रिँदै

गैरबैंकिङ सम्पत्ति सकेसम्म चाँडो बिक्री गर्नुपर्ने भए पनि पछिल्लो समय अर्थतन्त्रमा आएको मन्दीका कारण लिलामीमार्फत यस्ता सम्पत्ति बिक्री हुन सकेका छैनन्। घर-जग्गा कारोबार सुस्त हुनु, शेयर बजारमा गति नआउनु, र उत्पादनमूलक तथा सेवामूलक क्षेत्रमा देखिएको मन्दीले ऋणीहरूले कर्जा चुक्ता गर्न नसकेको विश्लेषण गरिएको छ। आयात–निर्यात व्यापारमा पनि कमी आउँदा समस्यामा थपिएको हो।

राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२.९४ प्रतिशत, विकास बैंकहरूको ४६.५४ प्रतिशत, र फाइनान्स कम्पनीहरूको १०७.२१ प्रतिशतले वृद्धि भएको छ।

ग्लोबल आइएमईको सबैभन्दा बढी, स्टान्डर्ड चार्टर्डको शून्य

चैत मसान्तसम्म वाणिज्य बैंकहरूको मात्रै गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। तीमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। दोस्रोमा हिमालयन बैंकको ५ अर्ब १४ करोड र तेस्रोमा एनआइसी एसिया बैंकको ४ अर्ब ५८ करोड बराबरको सम्पत्ति छ। नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा कम २० करोड रुपैयाँ रहेको छ भने, स्टान्डर्ड चार्टर्ड बैंकको भने यस्तो सम्पत्ति शून्य रहेको छ।

एक बैंकरका अनुसार, "गैरबैंकिङ सम्पत्ति बढ्नु भनेको खराब कर्जा बढ्नु हो। यसले नाफामा समेत प्रतिकूल असर पुर्याउँछ।"

बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति वृद्धि हुनु ऋणीहरूको कर्जा चुक्ताको क्षमता घट्दै गएको संकेत पनि हो, जुन देशको समग्र आर्थिक स्वास्थ्यमाथिको चुनौतीपूर्ण परिस्थिति दर्शाउँछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया