NIMB Header 2
Nepal Life

खाडी मुलुकका उडान पुनः सञ्चालन, विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थाले

National Life
  • BFIS News
  • 2025 Jun 24 13:48
खाडी मुलुकका उडान पुनः सञ्चालन, विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थाले
Sanima Reliance

काठमाडौं। खाडी मुलुकतर्फका उडान रद्द भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका सयौं यात्रु उडान पुनः सञ्चालन भएसँगै मंगलबार बिहानदेखि गन्तव्यतर्फ जान थालेका छन्।

Shikhar
NIMB

कतारको वायुसीमा (एयरस्पेस) पुनः खुला भएसँगै सोमबार राति स्थगित भएका नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका कतार उडान आजबाट सञ्चालनमा आएका हुन्।

नेपाल एयरलाइन्सको दोहा उडान सोमबार राति ११:३० बजेका लागि तय गरिएको थियो। तर कतारमा उत्पन्न अस्थिर परिस्थितिका कारण उडान रद्द भएपछि २६९ यात्रु विमानस्थलमै अलपत्र परेका थिए। यस्तै, हिमालय एयरलाइन्सको कतारतर्फको उडान पनि रद्द भएपछि अन्य धेरै यात्रु प्रभावित भएका थिए।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार कतारले आकाश पुनः खुला गरेपछि अलपत्र परेका यात्रु क्रमशः गन्तव्यतर्फ जान थालेका छन्। तर, कतारबाट काठमाडौं आइपुग्ने विमान भने मंगलबार बिहानका लागि तोकिएको उडान पुनः रद्द भएको छ।

नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र दोहातर्फ जान लागेका यात्रुलाई मंगलबार नै पठाउने तयारी भएको जानकारी दिए।

स्मरण रहोस्, इरानद्वारा कतारमा गरिएका आक्रमणका कारण सोमबार रातिदेखि खाडी मुलुकका उडानहरू अचानक रद्द भएका थिए। उडान स्थगनको समय यात्रुहरू विमान चढ्न तयारी अवस्थामा रहेका थिए। विशेषगरी वैदेशिक रोजगारीका लागि जान लागेका यात्रुहरू प्रभावित भएका थिए।

हाल नेपालसहित ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थल हुँदै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएका छन्। कतारको अवस्था सामान्य बन्दै गएकाले नियमित उडानहरु विस्तारै पुनः सञ्चालनमा आउने विश्वास गरिएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया