NIMB Header 2
Nepal Life

समसामयिक आर्थिक विषयमा विराटनगरमा छलफल : सुधारका माग र सुझावहरू प्रस्तुत

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 04 18:59
समसामयिक आर्थिक विषयमा विराटनगरमा छलफल : सुधारका माग र सुझावहरू प्रस्तुत
Everest Bank

काठमाडौं। उद्योग संगठन मोरङको आयोजनामा समसामयिक आर्थिक विषयमा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति, प्रतिनिधिसभा सदस्य तथा अर्थविद् डा. स्वर्णिम वाग्ले र प्रवक्ता तथा सांसद मनीष झाको उपस्थिति रहेको थियो।

Shikhar
NIMB

छलफलको प्रारम्भमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले हालको आर्थिक अवस्थालाई चिन्ताजनक बताउँदै स्वदेशी उद्योगहरू आन्तरिक र बाह्य अस्थिरताका कारण संकटमा परेको बताए। यद्यपि बैंकहरूमा तरलता बढेको र ब्याजदर घटेको भए पनि उद्योगले अपेक्षित प्रगति गर्न नसकेको उल्लेख गर्दै उनले लजिस्टिक खर्च, उत्पादन लागत र व्यापार घाटा वृद्धिका कारण अर्थतन्त्रमा थप दबाव सिर्जना भएको धारणा राखे।

डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासक्रम संकुचित हुँदै गएको भन्दै आर्थिक सुधारलाई अब ढिला नगरी तीव्र गतिमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले युवाहरूको विदेश पलायन रोक्न स्वदेशमै सम्मानजनक रोजगारीको वातावरण निर्माण अपरिहार्य रहेको बताए।

उद्योगी व्यवसायीहरू प्रशासनिक जटिलताका कारण आफ्ना अधिकांश समय अनुत्पादक प्रक्रियामा खर्चिन बाध्य भएको बताउँदै उनले उद्यमशीलताको वृद्धि गर्न सरकारले स्पष्ट र स्थिर नीति ल्याउनुपर्ने धारणा राखे।

प्रवक्ता मनीष झाले तीव्र आर्थिक विकासको लागि एकीकृत रणनीति र दीर्घकालीन योजना आवश्यक रहेको बताए। उनले उद्योगमैत्री नीतिको अभावले लगानीकर्तामा अनिश्चय र निराशा बढेकोप्रति चिन्ता व्यक्त गरे।

छलफलमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले लोडसेडिङ र ट्रिपिङका कारण उद्योगहरू प्रभावित भइरहेका बताए। यसैगरी, पूर्वअध्यक्ष सुयश प्याकुरेलले प्रक्रिया सरलीकरणमा समय खर्चिँदा दीर्घकालीन सोच र योजना बन्न नसकेको गुनासो गरे।

संगठनका कोषाध्यक्ष पारस लुनियाले कागजजन्य वस्तुको निर्यातमा प्रयोग हुने कच्चा पदार्थमा महसुल समायोजन नगरेकोप्रति असन्तोष व्यक्त गरे। कार्यसमिति सदस्य सौरभ सारडाले नीति र कानुनमा भइरहने द्रुत परिवर्तनले उद्योगमा अन्योलता र लगानीमा अवरोध उत्पन्न भइरहेको बताए।

कार्यक्रममा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा, कार्यसमिति सदस्यहरू, महिला उद्यमी, नेपाली युवा उद्यमी मंचका पदाधिकारी लगायतको उपस्थिति थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया