उद्यमशिलताको नँया बाटोः नबिल एसईई फेलोसिपको पाँचौँ कोहर्टमा २० नयाँ उद्यमीको यात्रा सुरु

  • BFIS News
  • 2025 Jul Wed 13:48
उद्यमशिलताको नँया बाटोः नबिल एसईई फेलोसिपको पाँचौँ कोहर्टमा २० नयाँ उद्यमीको यात्रा सुरु

काठमाडौं । उद्यमशिलता विकासका लागि सञ्चालित नबिल एसईई (Nabil School of Social Entrepreneurship) फेलोसिप कार्यक्रमको पाँचौँ कोहर्ट प्रारम्भ भएको छ। यस चरणमा विभिन्न पृष्ठभूमिबाट आएका २० जना उद्यमीहरु छनोट भएर कार्यक्रममा सहभागी भएका छन्।

बैंकका नायब महाप्रवन्धक गणेश अवस्थी अनुसार सन् २०२१ नोभेम्बरबाट सुरु भएको यो कार्यक्रमबाट अहिलेसम्म चारवटा कोहर्टबाट ७६ जना फेलो तयार भइसकेका छन्। यसपटकको ५ औं कोहर्टमा ३०२ जनाले आवेदन दिएकोमा ९० जनालाई सर्टलिस्ट गरिएको थियो। सर्टलिष्टमा परेका मध्ये ६२ जनाभन्दा धेरैले अन्तर्वार्ता दिएका थिए। अन्ततः अन्तर्वार्ताबाट सबै पक्षको मूल्याङ्कनपछि २० जनाको छनोट गरिएको हो।

विविधतायुक्त सहभागिता

यस कोहर्टमा पनि आवेदकहरुमा भौगोलिक, लिङ्गीय, तथा व्यवसायिक विविधता देख्न पाइन्छ। कृषि, वस्तु तथा सेवा, सफ्टवेयर, इको–होटल, रेष्टुरेन्ट, टेक्सटायल, थान्का पेन्टिङ, स्यानिटरी प्याड उत्पादन जस्ता फरक–फरक क्षेत्रका युवा उद्यमीहरुको सहभागिता रहेको छ।

उदाहरणका लागि, एक जना उद्यमीले केराको रेसाबाट स्यानिटरी प्याड बनाउन थालेका छन्। अर्कोले यातायातसम्बन्धी अनलाइन एप निर्माण गरिरहेका छन्।  केहीले सफ्टवेयर तथा जैविक विषादी उत्पादन सुरु गरिसकेका छन्। एक जना उद्यमीे महिलालाई मोटरसाइकल राइडर बनाउने अभियानमा छन्। थान्का पेन्टिङदेखि लिएर ब्रेकफास्ट सञ्चालनकर्तासम्म सहभागि छन्। पाटनको संस्कृति झल्काउने इकोफ्रेण्डली होटल सञ्चालन गरिरहेकी उद्यमी सदिक्षा थापा पनि छनोट भएकी छन्।

छनोट प्रक्रिया र तालिम विधि

छनोटका लागि उद्यमशिलता, सामाजिक प्रभाव, नवीनतम सोच, व्यवसायमा लगाव, र मेन्टरसिपकोे आवश्यकतालाई आधार बनाइएको थियो। अन्तर्वार्ता प्यानलमा उद्यम, शिक्षा र सामाजिक लगायतका क्षेत्रमा सक्रिय विज्ञहरु संलग्न थिए। 

गएका वर्षको तुलनामा यस वर्ष फेलोसिप आवश्यक पर्ने वास्तविक उद्यमीहरुले आवेदन दिएको अवस्थीले जानकारी दिए। उनले भने ’यस वर्ष जसले आवेदन दिएका थिए उनिहरु बास्तवमै तालिम लिन योग्य दिए। यस वर्ष गुणात्मक रुपमा सहभागिता देखिएको छ।’
गएको वर्ष धेरैको आवेदन परेको थियो, कतिपय आवेदक बैंकमा जागिर खानका लागि भनेर समेत सहभागिता जनाउने थिए। तालिम लिइहालौ न भन्ने थियो। तर गएका वर्ष आवेदकहरुमा राम्रो सँग फिल्टर गरेकै कारण यस वर्ष वास्तवमा काम गरिरहेका र नविनतम सोच बनाएकाले आवेदन दिएको चपागाईले बताए। उनले थपे, बुझेका व्यक्तिहरुले आवेदन दिएकै कारण बैंकलाई छनोट गर्न सजिलो भयो। यसमा सहि व्यक्तिहरुले भरे भन्ने हाम्रो बुझाइ छ। 

अन्तर्वार्ताका लागि विज्ञहरुको प्यानल निर्माण गरिन्छ। जसमा उद्यमशिलता क्षेत्रमै काम गरेका, शैक्षिक र उद्यमीहरु साथै यसै क्षेत्रका विज्ञ लगायतका व्यक्तित्वहरु छन्। अन्तर्वार्ताका क्रममा प्यानलले आवेदक आफ्नो क्षेत्रमा कत्तीको लगाम राखिरहेको छ भनेरसमेत हेर्दछ। 

कतिपय समयदेखि अगाडी बढाउदै आएको हो र आवेदकको आवश्यकता के हो बुझिन्छ। गरिरहेको उद्यमशिलताले सामाजिक प्रभाव के कस्तो पार्दछ त्यसलाई पनि हेरिन्छ। भविष्यमा त्यसले के कस्तो प्रभाव पार्न सक्छ भनेर मूल्याङ्कन गरिन्छ। अर्को तर्फ फेलोसिपका क्रममा पुर्ण रुपमा सहभागिता जनाउन सक्ने नसक्ने कुरालाई पनि हेरिन्छ। 

अन्तर्वार्ताका क्रममा कसैको आइडिया एकदमै राम्रो होला तर उनिहरुको लागि यो कार्यक्रम आवश्यक छ कि छैन भनेर हेरिन्छ। जसलाई यो कार्यक्रम एकदमै आवश्यक छ र सहयोगी हुन सक्छ उनिहरुलाई नै प्रदान गरिएको अवस्थीले बताए। 

तालिममा सहभागीहरुलाई १८ वटा सेसनमा सहभागी गराइन्छ जुन ६ महिनासम्म चल्नेछ। कार्यक्रम पूर्ण आवासीय हुने भएकाले सिकाइको स्तर अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। सहभागीहरुलाई व्यवसायिक समस्या समाधान, कर प्रणाली, दर्ता प्रक्रिया, मार्केटिङ, वित्तीय योजना, साथै बैंकिङ र लगानी सम्बन्धी व्यवहारिक ज्ञान दिइन्छ।

सिकाइको तरिका

फेलोसिपमा भर्खर १९/२० वर्षको युवादेखि लिएर ५० वर्ष भन्दा बढि उमेरका व्यक्तिहरु पनि विना हिचकिचावट सहभागी भइरहेका छन्।

सहभागीहरुलाई प्राक्टिकल तरिकाबाट सिकाइन्छ। उनिहरुको विजनेस आइडियाको चयनदेखि लिएर अगाडी बढ्ने भएकाले व्यावसायिक सोच र अवधारणामै विश्लेषण गरिन्छ। जहाँ सहभागीले सम्बन्धित समुदायको समस्या पहिचान गरेका छन् कि छैनन्, व्यवसायिक समस्या कसरी बुझ्ने तथा समाधान कसरी गर्नेसम्मका कुराहरु सिकाइन्छ। 

उनिहरुले कस्तो खालको वस्तु तथा सेवाको डिजाइन गरिरहेका छन्। त्यसलाई अझै कसरी राम्रो बनाएर अगाडी बढाउन सकिन्छ। त्यहाँ ग्राहकको आवश्यकता पुरा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर एक अर्कामा छलफल गर्नेदेखि लिएर विज्ञहरुको राय प्रस्तुत गरिन्छ।  

यसरी उनिहरुको उत्पादनको अवधारणात्मक बुझाइदेखि व्यवसायलाई कानुनी रुपमा कहाँबाट सुरु गर्नु पर्छ भन्ने कुराहरु थाहा दिइन्छ। कतिपयले सुरु गरिसकेका छन् भने उनिहरुले अहिले के के समस्या झेल्नु परिरहेको छ भनेर समेत मूल्याङ्कन गरिन्छ। जसमा सरकारी कर प्रणाली, विभिन्न स्थानमा गर्नु पर्ने दर्ताका प्रवाधानदेखि लिएर रेकर्ड किपिङ, गुनासो सुनुवाइका कुराहरु आउछ।

यस सँगै सहभागीले मार्केटिङ तथा बैंकिङका कुराहरु पनि सिक्न पाउछन्। कम्पनी स्थापना गरिसकेपछि वा आफ्नो सोच अनुसार उद्यम सुरु गरिसके पछि त्यसलाई कसरी अगाडी बढाउने, कस्ता किसिमका चुनौतीहरुलाई कसरी सुझबुझका साथ समाधान गर्ने भनेर सिक्ने सिकाउने काम हुन्छ। 

पछिल्लो नयाँ मार्केटिङ ट्रेण्डहरुका बारेमा सहभागीहरु विचमा कुराकानी गराइन्छ। जहाँ प्राक्टिकल एक्पोजर गराएरै सिकाइन्छ। अन्तिममा उहाँहरुलाई बजारमा गएर काम गर्न सक्ने बनाइन्छ। आफ्नो सोचलाई बैंकिङ कारोबार गर्न योग्य बनाउनका लागि वा लगानी योग्य बनाउने वा अन्य लगानी भित्र्याउन सक्ने गरी ट्रेन गरिने अवस्थीले जानकारी दिए।  

विविधतामा एकता

सहभागी २० जनाको आ–आफ्नै सोच तथा आइडिया फरक फरक हुन्छ। सबैलाई एकै किसिमको सिकाइ वा ट्रेनिङले हुँदैन यसले गर्दा सबैभन्दा पहिला सबैका साझा कुराहरुलाई सिकाउने काम हुन्छ। कम्पनी दर्ता, भ्याट, प्यान जस्ता कर प्रणालीका आधारभुत कुराहरु सबैका लागि उहि हुन्छ। यस पछि सहभागीहरुको आवश्यकता बुझेर त्यसलाई विश्लेषण गरिन्छ र त्यहि अनुसार कोर्ष डिजाइन गरिन्छ र सोहि अनुसार तालिमको सेसनहरु संचालन गरिन्छ। 

यस सँगै प्रत्येक सहभागीका लागि मेन्टर तोकिन्छ। सेसन सुरु भएको दुई तीन महिना भित्र एक जना उद्यमीलाई एक जना मेन्टर तोकिन्छ। मेन्टरले उनिहरुलाई एक वर्षसम्म हेर्न मूल्याङ्कन गर्नेछन् ताकी व्यवसायमा आउने समस्याहरुलाई समाधान गर्न सहयोग पुग्छ। 

स्नातक पढ्दै गरेका छिरिङ तामाङ, बाबाले १७ वर्ष अगाडी सुरु गरेको थान्का पेन्टिङको व्यवसायलाई अझै धेरै व्यवसायिक बनाउन चाहन्छन्। एक दिन बहिनीले छिरिङलाई नबिल एसइइको सामाजिक सञ्जालको पोष्टिङलाई देखाउदै उद्यमशिलताका लागि सहभागी हुन सुझाइन्। बैंकले सञ्चालन गर्न थालेको ५ औं कोहर्टका लागि उनले आवेदन दिए। नभन्दै छनोट पनि भए। फेलोसिपमा छनोट हुँदा उनलाई निकै खुसीमात्रै लागेको छैन बाबाले सुरु गर्नु भएको थान्का पेन्टिङ व्यवसायलाई धेरै अगाडी बढाउन सक्छु भनेर हिम्मत जुटाइसकेका छन्। 

पहिलो सेसनमै उनि प्रभावित भए। आफ्नो जस्तै अरु सहभागीको पनि समान किसिमको समस्या सुन्दा कता कता भोलिका दिनमा म पनि यि सबै समस्यालाई चिरेर अगाडी बढ्न सक्छु भन्ने आट आएको उनले आफ्नो भावना व्यक्त गरे। 

त्यस्तै सदिक्षा थापा, जसले पाटनमा इकोफ्रण्डली ’ङ्यादा (NYADHA) हाउस बेड एण्ड ब्रेकफास्ट’  सञ्चालन गर्दै आइरहेकी छिन्। होटल तथा रेष्टुरेन्टलाई नयाँ सोचका साथ अगाडी बढाइरहेकी सदिक्षाले आफुलाई अझ तिखार्न नबिल एसइइको फेलोसिपका लागि आवेदन दिइन्। उनले नबिल एसइइलाई सुरुवातिचरणदेखि नै पच्छ्याउदै आएकी थिइन्। आफुलाई एकदमै मन पर्ने कार्यक्रममा एक उद्यमीका रुपमा सहभागी भएर फलोसिपमा सहभागी हुन पाउदा उनि अत्यन्तै खुसी छिन्। 

पाटन ढोकास्थित ‘ङ्यादा ९ल्थ्ब्म्ज्ब्० हाउस बेड एण्ड ब्रेकफास्ट’ सञ्चालन गर्दै आएकी सदिक्षाले जागिर छाडेर उद्यमको बाटो समातेको दुई वर्ष भयो। तीन वर्षअघि कोभिडको संकटका बेला मेरियट होटलमा कार्यरत थिइन् सदिक्षा। होटल व्यवसाय ठप्प हुँदा उनले घरमै खाली कोठाहरू प्रयोग गरेर केही गर्ने सोच बनाइन्। जागिर भन्दा केही फरक गर्न चाहन्थिन्। अनुभव थियो—होटल क्षेत्रमा। त्यसैले उनले सुरु गरिन् बेड एण्ड ब्रेकफास्ट सेवा।

तर उनको उद्यम अरुभन्दा केही फरक छ। बजारमा उपलब्ध दुई वा सोभन्दा बढी बेड भएको अपार्टमेन्ट सेवा एक्लै घुम्न वा अध्ययन गर्न आउनेहरूका लागि महँगो हुने समस्या समाधान गर्न उनले स्टुडियो अपार्टमेन्टको अवधारणा ल्याइन्। करिब ४४० वर्गफिटको यस्तो स्पेस नेपाली तथा विदेशी पर्यटक दुवैका लागि सहज र किफायती बनाइएको छ।

सदिक्षाको होटलमा प्लाष्टिक निषेध गरिएको छ। ग्राहकले प्रयोग गर्ने पानीका बोतल प्लाष्टिकको सट्टा ग्लासमा हुन्छन्। स्मार्ट पानीसँगको सहकार्यमा वाटर फिल्टरको व्यवस्था गरिएको छ। सरसफाइका लागि जैविक र प्राकृतिक सामग्री प्रयोग गरिन्छ। ‘माई सर्कुलर’ सँगको साझेदारीमा जैविक बाथरुम सेट, डेन्टल किट (बाँसको ब्रस) लगायतका सामानहरु उपलब्ध छन्। “प्लाष्टिक प्रयोग नगर्दा लागत भने धेरै पर्छ,” उनी भन्छिन्, “चीनबाट आउने वस्तुहरूको तुलनामा यी ३/४ गुणा महँगो पर्छन्।”

उनको व्यवसायले पाटनको संस्कृति पनि झल्काउँछ। होटलको प्रत्येक कोठा पाटनका १६ वटा विहारहरूमध्ये एकको नामबाट चिनिन्छ। सम्बन्धित विहारको तस्बिर र जानकारीसहित लोकेसन म्याप समेत दिइएको छ। होटलको इन्टेरियरमा पाटनको समृद्ध नेवारी सांस्कृतिक सम्पदाका झल्को दिने चित्रहरू राखिएका छन्। “यदि कसैसँग समय छैन भने पनि, फोटो हेरेरै पाटनको अनुभव लिन सकून् भन्ने चाहना हो,” उनी भन्छिन्।

अहिले उनी चारवटा स्टुडियो युनिटसहित १४ वटा कोठा सञ्चालन गर्दै आएकी छिन्। व्यवसाय सानो भए पनि यसलाई व्यवस्थित रुपमा कसरी लैजाने भन्नेबारे उनले नबिल एसइइको फेलोसिपबाट धेरै कुरा सिक्ने ठुलो अभिलाशा बोकेकी छिन्। फेलोसिपको प्रारम्भिक तीन दिनको तालिमले नै उनलाई व्यवसायको विभिन्न पक्ष—वित्तीय व्यवस्थापन, लगानी भित्र्याउने तरिका, सम्भावित साझेदार कसरी पहिचान गर्ने लगायत विषयमा ज्ञान दिएको छ।

“व्यवसाय चलाउने क्रममा पहिले खासै ध्यान नदिएका पक्षहरूप्रति अब सजग भएकी छु,” उनी भन्छिन्। व्यवसायलाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदै लैजाने उनको योजना छ। “नेटवर्किङ, रणनीति निर्माण र नवप्रवर्तनको सिलसिलामा नबिल एसइइले निकै सहयोग गर्नेछ भन्ने अपेक्षा राखेकी छु,” उनले थपिन्।

सहभागी उद्यमीको लागि दीर्घकालीन सहयोग

प्रत्येक सहभागीलाई व्यक्तिगत मेन्टर दिइने भएकाले उनिहरुले एक वर्षसम्म राम्रो मार्गदर्शन पाउनेछन्। यसक्रममा सहभागीले भविष्यमा आफ्नो व्यवसायलाई लगानी योग्य बनाउने, सरकारी अनुदान र स्टार्टअप ऋण कसरी लिने भन्ने जस्ता कुशलताहरु सिक्ने छन्।

अवस्थीका अनुसार, “उद्यमशिलता गर्न चाहनेले सिक्ने ठाउँ खोजिरहेका थिए, हामीले त्यो वातावरण दिएको महसुस गरेका छौं।“ यस कार्यक्रमले उद्यमशील सोच बोकेका युवालाई व्यवहारिक सिकाइ, सामूहिक सहयोग, र संस्थागत रूप दिन ठूलो टेवा पु¥याइरहेको छ।

नबिल बैंकले सातै वटै प्रदेशमा ११ वटा कलेज सँगको सहकार्यमा सर्टिफिकेट कोर्षहरु पनि सञ्चालन गरिरहेको छ। जसमा एक हजार ६९ जनाले सहभागिता जनाइसकेको चपागाईले जानकारी दिए। त्यस्तै फेलोसिपका लागि त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा तालिम सञ्चालन हुँदै आएको छ। जसबाट अहिलेसम्म ७६ जनाले फेलोसिप प्राप्त गरिसकेका छन् भने २० जनाले पाँचौ कोहर्टमा सहभागिता जनाइरहेका छन्। नबिल बैंकको यस कार्यबाट अहिलेसम्म १३४ जना उद्यमीले आफ्नो उद्यम स्थापित गरिसकेका छन् भने उनिहरुले मुलुकभर १२०० भन्दा धेरैलाई रोजगारी प्रदान गर्दै आइरहेका छन्। 

सफल उद्यमी बन्न आवश्यक सबै पक्षलाई समेट्ने प्रयास यो कार्यक्रममार्फत भइरहेकाले अब उद्यमशिलतामा लाग्न चाहनेको लागि नबिल एसईई एक उत्कृष्ट प्लेटफर्म बन्ने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया