नयाँ सोच, नयाँ व्यवसाय : पाटनको मुटुमा सदिक्षा थापाको ‘न्याध हाउस बेड एण्ड ब्रेकफास्ट’, नबिल एसइइको साथ
- अरुण सापकोटा
- 2025 Jul Thu 14:15

काठमाडौं, साउन ८ गते। कोभिड महामारीले देश ठप्प बनाएको थियो। होटल व्यवसाय धराशायी भइसकेको थियो। त्यही कठिन समयलाई अवसरमा बदल्दै, सदिक्षा थापाले ‘न्याध हाउस बेड एण्ड ब्रेकफास्ट’ नामक नयाँ अध्याय सुरु गरिन्।
सधैं अरूका सपना पूरा गर्न लागिपरेकी सदिक्षाले त्यस दिन निर्णय गरिन् “अब आफ्नै सपना साकार पार्ने समय आएको छ।” जागिर छोडिन्, घरको खाली कोठा सदुपयोग गरिन् र पाटन ढोकाबाट सुरु गरिन्: सानो तर विशिष्ट प्रयास।
सपना देख्ने आँखा र तिनलाई साकार पार्ने साहस
तीन वर्षअघिको त्यो क्षण अझै सदिक्षाको स्मृतिमा ताजै छ। “मेरो सानो प्रयासले पनि केही फरक ल्याउन सक्छ भन्ने विश्वास भयो,” उनी भन्छिन्। मेरियटजस्ता ठूला होटलमा काम गर्दा बटुलेको अनुभवलाई उनले आफ्नै व्यवसायमा उतारिन्। तर प्रतिस्पर्धा चर्को थियो। सबैले उस्तै सेवा दिन्थे। सदिक्षाले फरक बाटो रोजिन् "सरल, सुलभ र टिकाउ" भन्ने दृष्टिकोण।
‘स्टुडियो अपार्टमेन्ट’ को नवीन प्रयोग
हालको बजारमा अधिकांश अपार्टमेन्ट दुई वा बढी बेडरूमसहितका हुन्छन्। तिनीहरू परिवारका लागि त उपयुक्त हुन्छन्, तर एक्लो यात्रुका लागि महँगो। यही अभावलाई महसुस गर्दै, सदिक्षाले सुरु गरिन्— ४४० वर्गफुटको स्टुडियो अपार्टमेन्ट, जो आधुनिक, सुविधासम्पन्न र एकल यात्रु लक्षित हो।
चाहे विदेशी होस् वा नेपाली, सबैका लागि सुलभ मूल्य। अहिले उनीसँग यस्ता चार युनिट सञ्चालनमा छन्— एक्लै यात्रा गर्ने पर्यटक, विद्यार्थी वा प्रशासनिक कामले शहर आउने सेवाग्राहीका लागि उपयुक्त।
पर्यावरणमैत्री र प्लास्टिकविहीन होस्पिटालिटी
न्याध हाउस नाफा मात्रै होइन, मूल्य र विचार बोकेको व्यवसाय हो। स्मार्ट पानीसँगको सहकार्यमा प्लास्टिकको बोतल हटाइएको छ। ग्लास बोतल, वाटर फिल्टर, जैविक उत्पादन, बाँसबाट बनेका डेन्टल किट यिनै प्रयोगमा छन्। सदिक्षा भन्छिन्, “यो सस्तो छैन, तर दीर्घकालीन छ। प्लास्टिकभन्दा जैविक सामग्री ३–४ गुणा महँगो पर्छ, तर म लागत होइन, भ्यालु निर्माणलाई हेर्छु।”
पाटनको पहिचान झल्किने कोठा एक ‘सानो संग्रहालय’
पाटनमा रहेका १६ वटा विहारहरूलाई सदिक्षाले आफ्ना १४ वटा कोठामा जीवन्त बनाएकी छिन्। प्रत्येक कोठा एउटा विहारको नाममा छ तिनका तस्बिर, जानकारी र लोकेसन म्यापसहित। पर्यटकले यदि पाटन घुम्न नसके पनि, तिनको आत्मा अनुभव गर्न सक्छन्। "कोठा छिर्दा नै लाग्छ, म पाटनभित्र छु," सदिक्षा मुस्कुराउँदै भन्छिन्।
न्याध हाउस अहिले पाटनको सांस्कृतिक मुटुमा एउटा उदाहरणीय नमुना बनेको छ। जहाँ पर्यटन, संस्कार र समर्पणको सुन्दर संयोजन पाइन्छ। यदि तपाईं एक दिन पाटन जानुहुन्छ भने, केवल ‘होटल’ होइन एउटा ‘अनुभव’ खोज्नुहुन्छ भने, न्याध हाउसको ढोका खुल्ला हुनेछ।
सदिक्षाले ‘न्याध हाउस’लाई केवल बस्नका लागि होइन, स-सम्मान बस्न मिल्ने “लेगेसी स्पेस” को रूपमा निर्माण गरेकी हुन्। जब पाहुनाहरू परिसरमा प्रवेश गर्छन्, उनीहरूले पाटनको सांस्कृतिक र आध्यात्मिक धड्कन महसुस गर्छन्। यस घरको प्रत्येक कुना एक कथा बोकेको जीवित क्यान्भास हो। यहाँ पाहुनाले दृश्य, लेखिएको कथा र अन्तरक्रियात्मक storytelling को माध्यमबाट पाटनका विहार, परम्परागत चाडपर्व र संस्कारहरूबारे सिक्न सक्छन्।
न्याध हाउस केवल अवलोकनका लागि होइन यसले सहभागिताका लागि सबैलाई निम्ता गरिरहेको छ। विश्व सम्पदा क्षेत्रको नक्शा, स्थानीय गाइड, प्रत्येक स्थलको वर्णनसहितको सामग्रीले पाहुनालाई पाटनको आत्मा अनुभूत गराउँछ। मन्दिरको वास्तुकला, परम्परागत रितिरिवाजदेखि लिएर, पाटनको जीवित इतिहासलाई हरेक भित्ताले कथा बताइरहेका छन्।
न्याध हाउस विश्रामको स्थान मात्र होइन यो एक खुला, विकासशील सांस्कृतिक संग्रहालय बनेको छ। जुन अतीत र वर्तमानको पुल हो। सदिक्षाको यो प्रयास सम्पदाप्रतिको सम्मान हो। जुन आज पनि पाटनका गल्लीहरूमा धड्किरहेको छ।
नबिल एसइइ (SEE) मा आवद्धता
सदिक्षा नबिल बैंकको SEE (Social Entrepreneurship & Enterprise) Fellowship सँग धेरै पहिलेदेखि जानकार थिइन्। उनका धेरै साथिहरुले नबिल एसइइबाट फेलोसिप लिइसकेका थिए। साथिहरुले फेलो लिइरहदा मैले कहिले लिने होला भन्ने सोचमा हुन्थिन्। जव उनले यो व्यवसाय सुरुवात गरिन् त्यस पछि उनले नबिल एसइइको फेलोसिपको महशुश गरिन्।
पाँचौँ कोहोर्ट खुल्नेबित्तिकै आवेदन दिइन्। नभन्दै २० जनामा छनोट भइन्। तीन दिनको प्रारम्भिक तालिमपछि नै उनले महसुस गरिन्, “मैले अझै धेरै कुरा सिक्न बाँकी रहेछ।” तालिमबाट उनले वित्तीय योजना, लगानी व्यवस्थापन, बजार विस्तार र सञ्चालन प्रणालीबारे गहिरो सँग बुझ्ने अवसर प्राप्त गरिन्। उनको यो आवासिय तालिम दुई तीन महिनासम्म चल्नेछ। यस अवधिमा ६/७ वटा आवासिय सिकाइ रहनेछ।
सहभागीहरुलाई प्राक्टिकल तरिकाबाट सिकाइन्छ। उनिहरुको विजनेस आइडियाको चयनदेखि लिएर अगाडी बढ्ने भएकाले व्यावसायिक सोच र अवधारणामै विश्लेषण गरिन्छ। जहाँ सहभागीले सम्बन्धित समुदायको समस्या पहिचान गरेका छन् कि छैनन्, व्यवसायिक समस्या कसरी बुझ्ने तथा समाधान कसरी गर्नेसम्मका कुराहरु सिकाइन्छ।
उनिहरुले कस्तो खालको वस्तु तथा सेवाको डिजाइन गरिरहेका छन्। त्यसलाई अझै कसरी राम्रो बनाएर अगाडी बढाउन सकिन्छ। त्यहाँ ग्राहकको आवश्यकता पुरा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर एक अर्कामा छलफल गर्नेदेखि लिएर विज्ञहरुको राय प्रस्तुत गरिन्छ।
यसरी उनिहरुको उत्पादनको अवधारणात्मक बुझाइदेखि व्यवसायलाई कानुनी रुपमा कहाँबाट सुरु गर्नु पर्छ भन्ने कुराहरु थाहा दिइन्छ। कतिपयले सुरु गरिसकेका छन् भने उनिहरुले अहिले के के समस्या झेल्नु परिरहेको छ भनेर समेत मूल्याङ्कन गरिन्छ। जसमा सरकारी कर प्रणाली, विभिन्न स्थानमा गर्नु पर्ने दर्ताका प्रवाधानदेखि लिएर रेकर्ड किपिङ, गुनासो सुनुवाइका कुराहरु आउछ।
यस सँगै सहभागीले मार्केटिङ तथा बैंकिङका कुराहरु पनि सिक्न पाउछन्। कम्पनी स्थापना गरिसकेपछि वा आफ्नो सोच अनुसार उद्यम सुरु गरिसके पछि त्यसलाई कसरी अगाडी बढाउने, कस्ता किसिमका चुनौतीहरुलाई कसरी सुझबुझका साथ समाधान गर्ने भनेर सिक्ने सिकाउने काम हुन्छ।
पछिल्लो नयाँ मार्केटिङ ट्रेण्डहरुका बारेमा सहभागीहरु विचमा कुराकानी गराइन्छ। जहाँ प्राक्टिकल एक्पोजर गराएरै सिकाइन्छ। अन्तिममा उनिहरुलाई बजारमा गएर काम गर्न सक्ने बनाइन्छ। आफ्नो सोचलाई बैंकिङ कारोबार गर्न योग्य बनाउनका लागि वा लगानी योग्य बनाउने वा अन्य लगानी भित्र्याउन सक्ने गरी ट्रेन गरिन्छ।
अब सदिक्षाको लक्ष्य स्पष्ट छ व्यवसाय विस्तार गर्नु, एउटा प्रणालीमा सञ्जाल गर्दै अगाडि बढ्नु। नबिल एसइइको नेटवर्क प्रयोग गर्दै उनले साझेदार, सल्लाहकार र सम्भावित लगानीकर्तासँग निरन्तर संवाद गरिरहेकी छिन्। “यो पटक म एक्लै होइन, तयारीसाथ दौड्दैछु,” सदिक्षा उत्साहित छिन्।
फेलोसिप मार्फत उनले आफ्नो यस व्यवसायलाई अझ राम्रो दिगो र व्यवस्थित बनाउने सपना बुनेकी छिन्। उनको सपना पुरा गर्न नबिल एसइइबाट उनले अवको एक वर्षसम्म मेन्टरसिप पाउनेछिन्।
प्रतिक्रिया