लियोनल मेस्सी भारत भ्रमणमा, राष्ट्रपतिको भ्रमणसरह तयारी तीव्र
- BFIS News
- 2025 Aug Sun 15:46

काठमाडौं, साउन १८। अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेस्सी तीनदिने भारत भ्रमणमा आउने पक्का भएको छ।
उनको भ्रमणका लागि अमेरिकी वा चिनियाँ राष्ट्रपतिको भ्रमणमा गरिने जस्तै उच्चस्तरीय सुरक्षा र तयारी सुरु गरिएको छ। कतिपय अवस्थामा राष्ट्र प्रमुखको भ्रमणमा समेत यति व्यापक तयारी नहुने गरेको सन्दर्भमा मेस्सीको भ्रमणले विशेष ध्यान खिचेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, मेस्सीको आगमनअघि उनी पुग्ने स्थानहरू—खेल मैदानदेखि सडकसम्म—सफा गर्ने र पुनःनिर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ। उनी सबैभन्दा पहिले कोलकत्ता पुग्नेछन्, त्यसपछि अहमदावाद, मुम्बई र अन्ततः दिल्ली यात्रा गर्नेछन्।
उच्चस्तरीय भेटघाट र स्वागत
कोलकत्तामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मेस्सीलाई स्वागत गर्नेछिन् भने मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले अभिनन्दन गर्ने छन्। दिल्लीमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्ने कार्यक्रम तय भएको छ।
स्टेडियम रंगरोगनदेखि विशेष शालिक निर्माणसम्म
मेस्सीको भ्रमण अवसर पारेर मुम्बईस्थित वानखडे स्टेडियमको पुनःसंरचना र रंगरोगन भइरहेको छ। सो स्टेडियममा डिसेम्बर १ देखि १५ तारिखसम्मका सबै कार्यक्रम रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै, कोलकत्ताको भिआईपी रोडस्थित श्रीपुरमा ७० फिट अग्लो मेस्सीको शालिक अनावरण गरिने तयारी छ। हाल निर्माणको अन्तिम चरणमा पुगेको उक्त शालिक मेस्सी आफैले अनावरण गर्ने कि अन्य विशिष्ट व्यक्तित्वबाट गराउने भन्ने विषयमा भने अझै निर्णय भइसकेको छैन।
इडन गार्डेन्समा मैत्रीपूर्ण खेल, विशेष सम्मान
१३ डिसेम्बरमा कोलकत्ताको ऐतिहासिक इडन गार्डेन्समा आयोजना हुने मैत्रीपूर्ण खेलमा मेस्सी सहभागी हुनेछन्। उक्त खेलमा भारतका प्रतिष्ठित फुटबल तथा क्रिकेट खेलाडीहरूको सहभागिता रहनेछ। मैदानमा मेस्सी करिब १ घण्टा २० मिनेट रहने कार्यक्रम छ, जहाँ उनलाई पश्चिम बंगाल सरकारले विशेष सम्मान गर्नेछ।
सुरक्षा कडा, भिड नियन्त्रण तयारी
६८ हजार क्षमताको इडन गार्डेन्समा न्यूनतम ३५०० भारतीय रुपैयाँ मूल्यको टिकट दर तोकिएको छ। यद्यपि टिकट बुकिङ अझै खुला गरिएको छैन। मेस्सीलाई हेर्न आउने हजारौं दर्शकको भीडलाई नियन्त्रण गर्न उनी भ्रमण गर्ने सबै स्थानमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।
फुटबल विकासबारे घोषणा गर्ने तयारी
मेस्सीले भारतका युवा फुटबल खेलाडीहरूसँग विशेष अन्तरक्रिया गर्ने र भारतीय फुटबलको विकासका लागि विशेष घोषणासमेत गर्नसक्ने बताइएको छ। यसअघि सन् २०११ मा पनि उनी दुई दिनका लागि भारत भ्रमणमा आएका थिए।
यसपटकको भ्रमणलाई भारतमा ऐतिहासिक खेलकुद घटनाका रूपमा लिइएको छ।
प्रतिक्रिया