दोहोरो आईएसआईएन प्रस्तावबारे एनआरएनएको आपत्ति, सरकारलाई पुनर्विचारको माग
- BFIS News
- 2025 Aug Mon 16:38

काठमाडौं, साउन १९। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थापक सेयरको अभौतिकीकरण (Dematerialization) सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) ले नेपाल धितोपत्र बोर्ड (SEBON) समक्ष पेश गरेको दोहोरो इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (ISIN) प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त प्रस्ताव तत्काल पुनर्विचार गर्न सरकार समक्ष माग गरेको छ।
संघले सोमबार एक विज्ञप्ति जारी गर्दै सेयर सूचीकृत प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै ISIN दिने प्रस्तावले नेपालको पूँजी बजार, लगानी वातावरण, तथा गैरआवासीय नेपाली (एनआरएन) को नेपालमा हुने लगानी योजनामा नकारात्मक असर पार्ने चेतावनी दिएको हो।
भ्रम, अन्योल र निरुत्साह बढ्ने खतरा
एनआरएनएका अनुसार उक्त प्रस्ताव कार्यान्वयनमा गएमा विदेशमा रहेका नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलनुका साथै सेयर कारोबारमा अन्योल बढ्नेछ। दीर्घकालीन रूपमा पूँजी बजारको स्थायित्व, पारदर्शिता र लगानीको सुरक्षामा समेत गम्भीर असर पर्ने संघको ठहर छ।
संघको विज्ञप्तिमा भनिएको छ, “गैरआवासीय नेपाली संघ स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजी नेपालमा भित्र्याउने अभियानमा क्रियाशील रहँदै आएको छ। यसैअनुसार ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप तथा वित्तीय क्षेत्रमा उल्लेखनीय लगानी भइसकेको छ। तर, प्रस्तावित निर्देशिकाले सो लगानीलाई हतोत्साहित गर्ने सम्भावना देखिएको छ।”
कानुनी अन्योल र विदेशी लगानीकर्तामा नकारात्मक सन्देश
गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्दा स्थायित्व, पारदर्शिता र कानुनी स्पष्टता अपेक्षा गर्ने उल्लेख गर्दै एनआरएनएले चेतावनी दिएको छ कि प्रस्तावित व्यवस्था लागू भएमा संस्थापक सेयरधनीहरूले सेयर बेच्नसमेत कठिनाइ भोग्नुपर्नेछ, वैदेशिक लगानी फिर्ता गर्न जटिलता आउनेछ र कानुनी अन्योलले अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश पुग्नेछ।
संघले पूँजी बजारप्रतिको विश्वास, लगानी सुरक्षाको प्रत्याभूति, र प्रवासी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्न सरकार र सरोकारवाला निकायलाई प्रस्ताव गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेको छ।
के हो ISIN?
आईएसआईएन (ISIN) अर्थात् इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर भनेको कुनै कम्पनीका धितोपत्रलाई अन्तर्राष्ट्रिय मान्यतासहित अलग पहिचान दिन प्रयोग गरिने १२ अङ्कको संकेत हो। सन् १९८१ मा सुरु भएको यो प्रणाली सन् १९८९ मा G-30 समूहको सिफारिस र सन् २००४ मा युरोपेली युनियनद्वारा नियामक रिपोर्टिङका लागि अनिवार्य बनाइएको थियो।
आईएसआईएनलाई पूँजी बजारको मेरुदण्डका रूपमा लिइन्छ, जसले धितोपत्र दर्ता, ट्रयाकिङ र लेखाजोखालाई सहज बनाउँछ।
नेपालमा वर्तमान अवस्था
नेपालमा हालसम्म CDSC ले कुल ४९१ वटा ISIN जारी गरेको छ। तीमध्ये बन्दमुखी सामूहिक लगानी कोष योजनाका ३९, खुल्लामुखी योजनाका ८, ऋणपत्रका ७७, संस्थापक सेयरका १३६, र साधारण सेयरका २५५ आईएसआईएन नम्बर रहेका छन्।
बैंक, वित्तीय संस्था, र बीमा कम्पनीहरूमार्फत संस्थापक सेयर जारी भएका छन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ मा संस्थापक समूहको सेयर सार्वजनिक निष्कासनको मितिबाट तीन वर्ष नपुग्दै बिक्री गर्न नपाइने उल्लेख समेत गरिएको छ।
एनआरएनएले सरकारले प्रस्तावको व्यापक असर मूल्याङ्कन गरी दीर्घकालीन हितलाई मध्यनजर गर्दै सन्तुलित निर्णय लिनुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया