दृश्यकलामा एआईको प्रयोग समयसापेक्ष र उपयोगी : कलाकारहरुको निष्कर्ष
- BFIS News
- 2025 Aug Thu 16:13

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (NAFA) ले आयोजना गरेको ‘दृश्यकलामा एआईको प्रयोग’ विषयक अन्तरक्रियामा सहभागी कलाकार तथा विज्ञहरूले ललितकलाको क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग समयसापेक्ष रहेको र यसको सही दिशामा उपयोगले सिर्जनात्मक क्षमतामा थप योगदान पुग्ने बताएका छन्।
प्रतिष्ठानका कुलपति नरदमणि हारतम्छालीले एआई प्रविधिको प्रयोग समयको मागअनुसार अपरिहार्य भइसकेको उल्लेख गर्दै भने, “दृश्यकलामा एआईले सिर्जना गरेका कृतिहरूको पहिचान गर्ने मापदण्ड तयार गरी त्यसलाई मान्यता दिन सकिन्छ।” उनले कला क्षेत्रमै एआईको उचित स्थान बनाउन समयमै पहल आवश्यक रहेको धारणा राखे।
प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र कुमार काफ्ले 'ठुम्केली' ले प्रविधिको सकारात्मक उपयोगले कलाकारको सिर्जनात्मकतालाई अझ बलियो बनाउने बताए। “प्रविधिको विकासलाई घरको आवश्यकताअनुसार आत्मसात गर्न सकेमा यसले कलाकारलाई अझ सशक्त बनाउनेछ,” उनले भने।
एआईको प्रभाव र चुनौतीबारे प्रस्तुति
कार्यक्रममा लेखक तथा पत्रकार अजय शर्माले ‘ललितकलामा एआईको पृष्ठभूमि, विकास, प्रयोग र प्रभाव’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। सो कार्यपत्रमा एआईले ललितकलामा ल्याएको रूपान्तरण र सम्भावित चुनौतीहरूबारे चर्चा गरिएको थियो।
कार्यपत्रमा टिप्पणी गर्दै ललितकला पत्रकार समाज (SOFAJ) का अध्यक्ष केशवराज खनालले भविष्यमा एआईको व्यापक प्रयोगबाट उत्पन्न हुन सक्ने चुनौतीप्रति सचेत रहनुपर्नेमा जोड दिए। साथै, उनले एआईबाट सिर्जित कलालाई अन्य कलाबाट पृथक् रूपमा वर्गीकरण गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रविधिको ज्ञानसहित प्रयोग आवश्यक
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानअन्तर्गत बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले प्रविधिको प्रयोग तब मात्र अर्थपूर्ण हुने बताइन् जब यसको प्रयोग उचित मार्गनिर्देशनसहित तथा पर्याप्त ज्ञानका आधारमा गरिन्छ।
कार्यक्रममा एआईले ललितकलाको क्षेत्रमा ल्याउने सम्भावना, सृजनात्मकता र चुनौतीका आयामबारे छलफल गरिएको थियो।
प्रतिक्रिया