NIMB Header 2
Prabhu Mahalaxmi

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क २१ अर्ब नाघ्यो, जीवन बीमा कोष ८९ अर्ब ९१ करोड रुपैयाँ पुग्यो

United Ajod
  • BFIS News
  • 2025 Aug 15 12:13
नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क २१ अर्ब नाघ्यो, जीवन बीमा कोष ८९ अर्ब ९१ करोड रुपैयाँ पुग्यो
IME LIFE

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Nepal Life
NIMB

नाफा घटेको देखिए पनि कम्पनीको बीमा व्यवसायमा भने उल्लेख्य मात्रामा वृद्धि देखिएको छ। अघिल्लो आवको अन्त्यसम्म २० अर्ब ६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आवको अन्त्यसम्म ७ प्रतिशतले वृद्धि गर्दै २१ अर्ब ४७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ।

त्यस्तै, कम्पनीको जीवन बीमाकोष अघिल्लो वर्ष ७९ अर्ब १ करोड रुपैयाँ रहेकोमा चालू आवको अन्त्यसम्ममा १३.८० प्रतिशतले बढेर ८९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

बीमितप्रति उत्तरदायी रहने प्रतिबद्धता स्वरूप कम्पनीले दाबी भुक्तानीमा समेत उल्लेख्य वृद्धि गरेको छ। अघिल्लो वर्ष ८ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले गत आवमा ३२.९४ प्रतिशतले बढाएर ११ अर्ब ७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।

साथै, कम्पनीको कुल आम्दानी पनि वृद्धि भएको देखिन्छ। अघिल्लो वर्ष २७ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ६ प्रतिशतले वृद्धि गर्दै २८ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको छ। तर आम्दानीसँगै खर्च पनि ९.१० प्रतिशतले बढेर २७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २५ अर्ब १४ करोड रुपैयाँ थियो।

कम्पनीले अभिकर्तालाई प्रोत्साहनस्वरूप दिने कमिशनमा पनि वृद्धि गरेको छ। अघिल्लो वर्ष १ करोड ६८ लाख रुपैयाँ कमिशन दिएकोमा यसपालि २९.४० प्रतिशतले बढाएर २ करोड १८ लाख रुपैयाँ कमिशन वितरण गरिएको छ।

यस वित्तीय विवरण अनुसार, कम्पनीको प्रतिशेयर आम्दानी (EPS) अघिल्लो वर्षको १८.८१ रुपैयाँबाट घटेर ७.९२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२९.७२ रुपैयाँ कायम रहेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँबाट ९.२० प्रतिशतले बढेर ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

महाविपत्ति कोषमा कम्पनीसँग ६६ करोड ७२ लाख रुपैयाँ, शेयर प्रिमियम २७ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ५१ करोड रुपैयाँ रहेको उल्लेख छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया