NIMB Header 2
Nepal Life

एक दशकभित्र पोखरा र भैरहवा विमानस्थलको ऋण तिर्ने क्यानको योजना

Citizen Life
  • BFIS News
  • 2025 Aug 20 14:21
एक दशकभित्र पोखरा र भैरहवा विमानस्थलको ऋण तिर्ने क्यानको योजना
National Life

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋण तिर्ने योजना बनाएको छ।

NIMB

क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार दुवै विमानस्थलका ऋण समयमै भुक्तानी गर्ने क्षमता प्राधिकरणसँग रहेको छ।

उनका अनुसार २०३२ सालदेखि जग्गा अधिग्रहण गरी सुरु गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हाल पूर्ण रूपमा सम्पन्न भइसकेको छ। विमानस्थल निर्माणका लागि लिइएको १३ अर्ब ऋणमध्ये दुई किस्ता भुक्तानी भइसकेको र बाँकी रकम पनि समयमै तिर्ने तयारी भइरहेको उनले जानकारी दिए।

अधिकारीका अनुसार पोखरा विमानस्थलको मात्र आम्दानीबाट ऋण तिर्न कठिन भए पनि देशभरका अन्य विमानस्थल राम्रो अवस्थामा सञ्चालनमा रहेका कारण क्यानको समग्र आम्दानीबाट ऋण तिर्न सकिनेछ। “कुनै विमानस्थलको कमाइले त्यसैले खाने होइन, सबै एयरपोर्ट क्यान अन्तर्गत भएकाले सबैको आम्दानीबाट ऋण तिर्ने हो,” उनले स्पष्ट पारे।

उनले पोखरा विमानस्थललाई अहिलेको आर्थिक सुस्तीले असर पारे पनि भव्य संरचना बनेकाले आगामी दिनमा प्रभावकारी सञ्चालन हुन सक्ने विश्वास व्यक्त गरे। हाल वार्षिक ११ लाख यात्रु प्रयोग गरिरहेका यस विमानस्थलमा पहिले वर्षमा ४ लाख यात्रु मात्रै रहेका थिए।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको कुल लागत करिब ६ अर्ब रहेको र पोखरासहित दुबै विमानस्थलको ऋण एक दशकभित्रै तिर्ने लक्ष्य राखिएको अधिकारीले बताए।

भ्रष्टाचारको आरोप र खण्डन

संसदीय उपसमितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै लागत १५ अर्बबाट २२ अर्ब पुगेको, रनवे दबाएको, माटोको बिलमा हेरफेर गरेको, इन्धन डिपो नबनाएको लगायत आरोपसहित प्रतिवेदन बुझाएको थियो।

तर, महानिर्देशक अधिकारीले यी सबै आरोपको खण्डन गर्दै “यो परियोजना बिआरआई अन्तर्गत होइन, सन् २०१२ मा सुरु भएको हो। २०१७ बाट मात्र बिआरआई सुरु भएको हो,” भने। उनले चीनबाट आएको ऋण पारदर्शी भएको र १५ अर्ब रुपैयाँ भ्रष्टाचार गरिएको भन्ने दाबी निराधार रहेको बताए।

“यदि चीनबाट बोरामा पैसा ल्याएर बाँडिएको हो भने प्रमाण देखाउनुपर्छ,” भन्दै उनले भ्रष्टाचारको आरोपलाई राजनीतिक कुण्ठा र षड्यन्त्र भएको बताए।

अत्याधुनिक पूर्वाधार

२२ अर्बको लागतमा बनेको पोखरा विमानस्थलमा युरोपेली ब्रान्डका फायर भेइकलदेखि ह्याङ्गरसम्मका अत्याधुनिक संरचना छन्। अधिकारीका अनुसार विमान मर्मत सम्भारका लागि बनेको ह्याङ्गरले नेपाली एयरलाइन्सलाई विदेश जानुपर्ने बाध्यता घटाएको छ। साथै, नेपाल आयल निगमले आफ्नै खर्चमा ट्यांकी, टावरसहितका संरचना निर्माण गरेको छ।

अधिकारीले भने, “पोखरा विमानस्थललाई गर्वको परियोजना मान्नुपर्छ। कमजोरी भए राज्यका निकाय छानबिन गर्लान्। तर आधारहीन प्रचार गरेर देशलाई नै बदनाम गर्नु हुँदैन।”

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया