United Ajod

भ्रष्टाचारमुक्त समाजको मागसहित सुरु भएको जेन–जीलाई विश्वको साथ, गलत व्यक्तिको हातमा जान कसरी रोक्ने?

Everest Bank
  • अरुण सापकोटा
  • 2025 Sep Thu 18:32
भ्रष्टाचारमुक्त समाजको मागसहित सुरु भएको जेन–जीलाई विश्वको साथ, गलत व्यक्तिको हातमा जान कसरी रोक्ने?

काठमाडौं, भदौ २६ गते। नेपालमा हालै सुरु भएको जेन–जी आन्दोलन (Gen-Z Movement) ले प्रारम्भमा देशको भविष्यप्रति चिन्तित युवाहरूको स्वतःस्फूर्त जागरणको रूपमा व्यापक समर्थन बटुल्यो। उनीहरूको भ्रष्टाचारमुक्त राष्ट्र, सुसासन, र आर्थिक समृद्धिको सपना ले धेरै नेपालीको मन जित्यो। तर आन्दोलनको केही दिनमै देखिएको भित्री विभाजन, नेतृत्वको अस्पष्टता, र राजनीतिक स्वार्थको घुसपैठ ले यो ऐतिहासिक अवसरलाई सङ्कटतर्फ मोड्ने खतरा देखापरेको छ।

आन्दोलनको उद्देश्य र सुरुको शुद्धता

जेनजी पुस्ताले उठाएका मुद्दा– भ्रष्टाचार विरुद्धको लडाइँ, न्याय प्रणालीको सुधार, पारदर्शी शासन, र समान अवसरको माग—सही थिए, आवश्यक थिए। खासगरी नेपालको राजनीतिक दलहरू र प्रशासनिक संरचनामा मौलाएको लथालिङ्ग भ्रस्टाचार विरुद्ध जनमानसमा दबीएको आक्रोशको प्रतिनिधित्व गरेको यो आन्दोलन, सुरुआती चरणमा अत्यन्त सकारात्मक थियो।

उनीहरूले न्यायप्रेमी, असल छवि भएकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई नेतृत्वका लागि प्रस्ताव गरेर आफ्नो दृष्टिकोण स्पष्ट गरेका थिए। राजनीतिक दलहरूको ढोंग, घूसखोरी र जनभावनाको अपमान विरुद्धको यो एक ऐतिहासिक पहल थियो।

भ्रष्ट व्युरोक्रेसी र राजनीतिक दलहरूको चलाखी

तर, नेपालको पुरानो राजनीतिक संरचना र व्युरोक्रेसी यथावत छ। यिनै पुराना सत्ताको मालिकहरूले युवा आन्दोलनप्रति सहयोग गर्नु त परै जाओस्, त्यसलाई बदनाम गर्न र दिशाभ्रष्ट पार्न प्रयत्नशील देखिन्छन्। घुसपैठ सुरु भइसकेको छ। अबको डर यही हो कि यो आन्दोलन जनताको हो भन्ने स्वाभाविक भावनालाई कुनै न कुनै शक्तिले कब्जा गर्नेछ।

उदाहरणका लागि, जेनजीहरूले खुला रूपमा बताएका छन् — "सिंहदरबारमा आगो हामीले लगाएका होइनौं, रवि लामिछानेलाई छुटाउन हामी आन्दोलनमा उत्रेका होइनौं।" तर यिनै नामहरूसँग जोडिएर आन्दोलनको उद्देश्य विकृत पार्ने प्रयास भइरहेका छन्। दुर्गा प्रसाईजस्ता विवादास्पद पात्रहरू, बालेन शाह, सुदन गुरुङ जस्ता नामहरूले आन्दोलनको ‘फोकस’ भड्काउन थालेका छन्।

व्यवसायी र जातीय विभाजनतर्फको खतरनाक संकेत

दुर्गा प्रसाईले पहिलेबाटै मारवाडी समुदाय र ठूला व्यवसायिक घरानाहरू विरुद्ध भ्रामक प्रचार गर्दै आएका थिए। उनले जसरी प्रचार गर्दै आएका थिए सोही अनुसार व्यापारी व्यवसायीहरु छानी छानी उनिहरुको घर तथा उद्योग जलाइनुले पनि राम्रो संकेत गर्दैन। यहि अवस्थामा कुनै पनि व्यवसायी नेपालमा बस्दैनन्। त्यसैले जेनजीले बुझ्नै पर्ने कुरा भनेको यस्ता साम्रदायिक द्धन्द्ध निम्त्याउन सक्ने कुरालाई चिर्न पर्छ। यहाँ व्यापारी व्यवसायीहरुमा पनि भ्रष्ट व्यक्ति नभएका होइनन्। उनिहरुलाई चिनेर अगाडी बढ्नु पर्छ र राम्रा, नैतिकवान र व्यवसायिक घराना जसले आफ्नो जीवन अर्पेका छन् उनिहरुलाई सरकारले संरक्षण गर्नु पर्छ। जेनजीको नाममा सम्प्रदाय, जात र वर्गमा फाटो ल्याउने खतरा बढेको छ। तर जेनजीको आन्दोलन यस्तो कदापि होइन। उनीहरू शान्तिपूर्ण, नीति–सिद्धान्तमा आधारित परिवर्तनको पक्षधर हुन्।

नेतृत्वको स्पष्टता र वैचारिक नक्सा निर्माणको खाँचो

आन्दोलनको सशक्तिकरणका लागि अहिले सबैभन्दा खाँचो छ, नेतृत्वको स्पष्टता र वैचारिक नक्सा। शिक्षित बुद्धिजीवी, प्राध्यापक, शिक्षक, प्रशासनिक विज्ञहरूलाई अगाडि ल्याएर आन्दोलनलाई वैचारिक दिशामा लैजानु जरुरी छ। सफा छविका व्यक्तिहरू जो पुरानो सत्ता संरचनाबाट लिप्त छैनन् तिनीहरूबाटै नेतृत्व हुनुपर्छ।

साथै, अब ढिलो नगरी एक स्वतन्त्र भ्रष्टाचार छानबिन आयोग गठन गरिनु पर्छ, जसले विगत ३० वर्षका सबै फाइलहरू पुनरावलोकन गरोस्। अर्को तर्फ प्रशासनमा पनि इमानदार पात्रहरू छन्, जसलाई सशक्त रूपमा अगाडि ल्याउनु पर्छ।

अमुक व्यक्तिका नाममा भ्रम

जेनजीले कतै बाहिर राम्रो देखिने तथार भित्री आवरण खराव भएका अमुक व्यक्ति तथा पात्रलाई पनि अगाडि सार्न खोजिरहेको त छैन भन्ने चर्चा पनि छ। उनिहरु पूणर्तया निष्कलङ्क छन्/छैनन् भन्ने पुष्टी गरेर मात्रै साथ लिन जरुरी छ। आन्दोलनले नामको मोहमा होइन, नैतिक मूल्य र क्षमताका आधारमा नेतृत्व छान्नुपर्छ। यदि फेरि सत्ताको चाबी गलत हातमा पर्‍यो भने, नेपाल फेरि २०–३० वर्ष पछाडि धकेलिनेछ।

मानवता र संवेदनशीलता – प्रहरीको भूमिकामाथि प्रश्न

प्रहरी प्रशासनले जसरी युवाहरूलाई दमन गर्यो, त्यो मानवताविरोधी थियो। गोली ठोक्ने आदेश आफैंमा आपराधिक छ। राज्यले आफ्नै नागरिकमाथि यसरी अमानवीय व्यवहार गर्नु गम्भीर गल्ती हो, जसले प्रहरीप्रति आमजनताको विश्वास तोडेको छ। यस्तो अवस्था पुनः नदोहोरियोस् भनेर प्रहरी प्रणालीमै सुधार आवश्यक छ।

अन्तर्राष्ट्रिय नजर नेपालमाथि – मौका या चुनौती?

विश्व अहिले नेपालका युवाहरूको आन्दोलनप्रति सहानुभूति राखिरहेको छ। यस्तो अन्तर्राष्ट्रिय समर्थन विरलै पाइन्छ। तर प्रश्न यही हो "यस समर्थनलाई हामी कसरी क्यापिटलाइज गर्छौं?"

यदि देशभित्रैबाट फेरि स्वार्थ, दलाल भ्रष्टहरु र विदेशी एजेन्डाका मान्छेहरूले यो आन्दोलनलाई कब्जा गरे भने, नेपाल फेरि एउटा ‘अवसर चुकाएको मुलुक’ बन्नेछ।

अबको बाटो कसरी?

जेन–जी आन्दोलन अहिले संवेदनशील मोडमा पुगेको छ। यो सिर्जनात्मक राजनीतिक संक्रमणको अवसर हो, जसलाई सुनियोजित कानुनी, नैतिक र प्रशासनिक संरचनामा रूपान्तरण नगर्ने हो भने फेरि एक पटक युवाहरूको विश्वास समाप्त हुनेछ।

- आन्दोलन राज्य–विरोधी होइन, भ्रष्टाचार–विरोधी हो।

- यो व्यक्तिको विरुद्ध होइन, प्रणालीको शुद्धीकरणको अभियान हो।

- यसले राजनीतिक क्रान्ति होइन, नीतिगत पुनर्जागरण खोजिरहेको छ।

तर यदि यो आन्दोलनमा बाह्य स्वार्थ, विवादास्पद पात्र र सत्ता–लोलुपता मिसियो भने, नतिजा झनै भयावह हुनेछ। अबको जिम्मेवारी युवाहरूको मात्र होइन, सबै सचेत नेपाली नागरिकको हो।

यसलाई बुद्धिको नेतृत्व, नीति निर्माणको बहस, र इमानदार वर्गको सक्रियताको माध्यमबाट संस्थागत गरौं। अवको सानो गल्तीले अब फेरि अर्को पुस्ताले बलिदान गर्नु नपरोस्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया