United Ajod

लगानीकर्ताका ५ संघठनले मागे नियामक निकायका प्रमुखको राजिनामा, बुझाए अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र 

Everest Bank
  • BFIS News
  • 2025 Sep Thu 22:05
लगानीकर्ताका ५ संघठनले मागे नियामक निकायका प्रमुखको राजिनामा, बुझाए अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र 

काठमाडौं। नेपालको पूँजीबजारमा विद्यमान गम्भीर समस्याहरुको समाधानका लागि पाँच वटा पूँजीबजार सम्बन्धी संघ-संस्थाले संयुक्त रूपमा अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्रमा उनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा बीमा प्राधिकरणका अध्यक्षको राजीनामा माग गरेका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री खनालले सेबोन अध्यक्षलाई समेत उपस्थित गराएर लगानीकर्ता संघहरुसँग छलफल गरेका थिए। छलफलमा उनले पूँजीबजार सुधार र विकासप्रति प्रतिबद्धता जनाए। तथापि, उनले विगतमा गभर्नरदेखि अन्य प्रमुख नियुक्तिहरुसम्म नियामक निकायहरु आफ्नो हिसाबले सञ्चालन गर्न नदिने स्पष्ट संकेत दिँदै आएका छन्।

सुधारका लागि प्रस्तुत मुख्य मागहरू:

संघहरूले सरकारलाई तत्काल र दीर्घकालीन सुधारको खाका प्रस्तुत गर्दै निम्न बुँदाहरूको कार्यान्वयनको माग गरेका छन्:

१. विवादास्पद नियुक्तिहरुको राजीनामा र सक्षम नेतृत्वको नियुक्ति:

नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण र नेपाल स्टक एक्सचेन्जमा वर्तमान नेतृत्व नियुक्ति प्रक्रिया विवादास्पद र अपारदर्शी भएको भन्दै उनीहरुलाई राजीनामा गराई, कुनै विचौलिया वा दलालको प्रभावबाट मुक्त, योग्य र सक्षम व्यक्तिको नेतृत्वमा नियुक्ति गर्न माग गरिएको छ।

२. सेबोनको कार्यपद्धतिमा आमूल सुधार:

बरिष्ठलाई पन्छाएर कनिष्ठलाई सर्वेसर्वा बनाउने प्रवृत्तिलाई तुरुन्त रोक्न, यदि बरिष्ठहरु अयोग्य छन् भने हटाएर सक्षम व्यक्तिहरु नियुक्त गर्न, र धितोपत्र बोर्ड, नेप्से तथा सिडिएसमा आवधिक सरुवा प्रणाली लागू गरी काममा चुस्ती ल्याउने व्यवस्था गर्न आग्रह गरिएको छ।

३. समग्र पूँजीबजार सुधार कार्यदल गठन:

सबै सरोकारवालाहरुलाई समेटेर — अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेप्से, सिडिएस, उद्योग महासंघ, स्टक ब्रोकर्स संघ, लगानीकर्ता संघ लगायत — समावेश गरी नेपाल पूँजीबजार सुधार कार्यदल गठन गर्न र सो कार्यदलमार्फत ओम्निबस सुधार कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरिएको छ।

४. विभिन्न सीमाबन्धन (Caps) हटाउन माग:

पूँजीबजारमा लगाइएका कृत्रिम सीमाबन्धनहरु तत्काल हटाउन आग्रह गरिएको छ, जसले बजारको स्वतन्त्र सञ्चालनमा बाधा पुर्‍याइरहेको जनाइएको छ।

५. अर्थमन्त्रीको सार्वजनिक सम्बोधनको माग:

बजारमा व्याप्त भय र अनिश्चितता हटाउन अर्थमन्त्री डा. महतले सञ्चारमाध्यममार्फत लगानीकर्ताहरुलाई आवश्यक सन्देश दिनु पर्ने माग समेत संघहरुले गरेका छन्।

धितोपत्र क्षेत्रको सुधारको विषयलाई लिएर गरिएको यो संयुक्त पहल पूँजीबजारका नियामक निकायहरुमा देखिएको असन्तोष र विश्वासको संकटलाई स्पष्ट रूपमा उजागर गर्ने प्रयास हो। अर्थमन्त्रीले सुधारको आश्वासन दिएपनि, अबको मुख्य चुनौती भनेको ती प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउनु हो।

संघहरुको आग्रह अनुसार यदि ठोस कदम नचालिए पूँजीबजारमा लगानीकर्ताको विश्वास झन् खस्कन सक्ने जोखिम देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया