शेयर बजारको गिरावटबारे लगानीकर्ताहरुले गभर्नरलाई बुझाए ६ बुँदे ज्ञापनपत्र, शेयरधितो कर्जा र लाभांशको सिमा हटाउन माग
- BFIS News
- 2025 Sep Sun 12:17

काठमाडौं, असोज ६। हालै शेयर बजारमा देखिएको अस्वाभाविक गिरावटप्रति गम्भीर चासो व्यक्त गर्दै लगानीकर्ताका संघ–संस्थाहरूले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।
वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघका कार्यबहाक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पूँजीबजार लगानीकर्ता संघका महासचिव एस.पि. चौलागाई र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन)ले संयुक्त रुपमा भेटेरै गभर्नर पौडेललाई बजारको हालको अवस्था र सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरेका हुन्।
गत असोज २ गते, १०/११ दिनको अन्तरालपछि शेयर बजार (नेप्से) पुनः सञ्चालनमा आएलगत्तै करिब ६ प्रतिशतको नकारात्मक सर्किट लाग्यो, कारोबार ७२ करोडमा सीमित रह्यो, सूचकांकमा १६० अंकभन्दा बढीको गिरावट आयो, र बजार पूँजिको करिब ३ खर्ब रुपैयाँ गुम्यो। यस्तो अस्वाभाविक गिरावटले आम लगानीकर्तामा त्रास फैलाएको र पूँजी गुमाएर मानसिक तनावको अवस्था सिर्जना भएको लगानीकर्ता संगठनहरूको भनाइ छ।
ज्ञापनपत्रमा विगतमा राजनीतिक रुपमा हुने आन्दोलनहरु, भूकम्प वा कोभिड–१९ जस्ता संकटका समय पनि यस्ता असावधानीका कारण शेयर बजारमा गम्भीर असर परेको उदाहरण प्रस्तुत गर्दै, यस पटक पनि त्यस्तै गल्ती दोहोरिएको उल्लेख गरिएको छ। लगानीकर्ताहरूमा गहिरो अविश्वासको वातावरण सिर्जना भएको भन्दै उनीहरूले नेपाल राष्ट्र बैंकको ठोस पहल र सक्रियता अपरिहार्य रहेको बताएका छन्।
ज्ञापनपत्रमा प्रस्तुत ६ बुँदे सुझाव यसप्रकार छन्:
१. बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने:
बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर बजारमा सहभागी हुन सहज वातावरण बनाउन नियमनात्मक अवरोध हटाउन र दीर्घकालीन तरलता प्रवाह वृद्धि गर्न व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
२. व्यक्तिगत शेयर धितो कर्जा (Single Obligatory) सीमा हटाउने:
व्यक्तिगत रूपमा एकल परिवारलाई दिइने कर्जा सीमा (२५ करोड) पूर्ण रूपमा खारेज गर्नुपर्ने सुझाव दिइएको छ, जसले लगानीको पहुँच वृद्धि गर्ने उल्लेख गरिएको छ।
३. लघुवित्त संस्थाको लाभांश वितरण सीमा हटाउने:
लघुवित्त संस्थाले २५% भन्दा बढी लाभांश दिन नपाउने हालको व्यवस्था खुला अर्थनीतिको सिद्धान्त विपरीत रहेको भन्दै, लाभांश वितरणलाई संस्थाको नाफा तथा क्षमताका आधारमा गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ।
४. बैंक तथा वित्तीय संस्थाको शेयर बजारमा लगानी सीमा परिमार्जन गर्ने:
बैंक तथा वित्तीय संस्था ऐन २०७३ अनुसारको सीमाभित्र रहँदै लगानी सीमा पुनः परिमार्जन गर्नुपर्ने उल्लेख गरिएको छ।
५. सर्वसाधारणलाई प्रवाह हुने शेयर कर्जाको सीमा पुनःनिर्धारण गर्ने:
वर्तमान आर्थिक अवस्था र बजारको विस्तारसँग अनुपातिक नहुने शेयर कर्जा सीमा समयसापेक्ष रूपमा वृद्धि गर्नुपर्ने सुझाव दिइएको छ।
६. गैरआवासीय नेपाली (NRN) का लागि लगानीमैत्री वातावरण बनाउने:
गैरआवासीय नेपालीले सहज रूपमा पूँजी बजारमा लगानी गर्न र लगानीसहितको नाफा विदेश लैजान सक्ने कानुनी तथा प्रक्रियागत सहजता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमार्फत लगानीकर्ता संघ–संस्थाहरूले शेयर बजारको स्थायित्व, पारदर्शिता र दिगो विकासमा राष्ट्र बैंकको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै, प्रस्तुत सुझावहरूमा गम्भीर ध्यान दिन आग्रह गरेका छन्।
प्रतिक्रिया