हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय: चन्द्र ढकाल
- BFIS News
- 2025 Sep 24 06:38

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई महासंघमा मंगलबार आयोजित स्वागत कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्र मुलुकको सबैभन्दा ठूलो रोजगारदाता हुँदाहुँदै पनि प्रत्येक आन्दोलनमा निजी क्षेत्र नै निशानामा पर्नु गम्भीर र चिन्ताजनक विषय भएको बताएका हुन्।
उनले आन्दोलनको क्रममा निजी सम्पत्तिमा आक्रमण हुनु भनेको निजी क्षेत्रको महत्वलाई अझै पनि राम्ररी नबुझेको संकेत भएको धारणा राखे। यस्ता घटनाहरूलाई जनचेतनाको रूपमा बुझ्न सञ्चारमाध्यमलाई अग्रसर हुन आग्रह गर्दै उनले भने, "निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड हो। यसले कुल गार्हस्थ उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिएको छ।"
अध्यक्ष ढकालले पछिल्लो जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीबाट हालसम्मको प्रारम्भिक तथ्यांकअनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्तिमा क्षति भएको जानकारी दिए। उनले भने, "भाद्र २३ र २४ गतेपछिको आन्दोलनमा निजी र सरकारी सम्पत्तिमा ठूलो क्षति भएको छ। यसबाट उठ्ने चुनौती हामीसामु छ।"
यद्यपि, हालको सरकारले छोटो समयमा नै राहत प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेकोमा महासंघले त्यसलाई सकारात्मक रूपमा लिएको अध्यक्ष ढकालको भनाइ थियो।
उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रप्रति विश्वास बढाउने र नीतिगत सुधारमा दबाब सिर्जना गर्ने उल्लेख गर्दै सेजनसँगको सहकार्यलाई महासंघले सधैं सकारात्मक रूपमा लिएको स्पष्ट पारे।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पछिल्ला घटनाले उद्यमी तथा व्यवसायीहरूमा असुरक्षा बोध गराएको उल्लेख गर्दै शान्ति र सुव्यवस्था कायम गरी जनताको मनोबल उच्च राख्नु पर्नेमा जोड दिए। उनले पछिल्ला केही घटनाले अन्तर्राष्ट्रिय समुदायमा नेपालबारे नकारात्मक सन्देश गएको र यसले रोजगारी तथा लगानीमा प्रत्यक्ष असर पार्ने बताए।
महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना तथा सुशासनका लागि निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र आवश्यक रहेको बताए। उनले व्यवसायीहरू आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरण सुनिश्चित गर्नु आजको आवश्यकता भएको उल्लेख गरे।
त्यस्तै महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपालको अर्थतन्त्रको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच आवश्यक समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड दिए।
सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारिताका माध्यमबाट सेजनले खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीको विषयमा निरन्तर पैरवी गर्दै आएको जानकारी गराउँदै महासंघ र सेजनबीचको सहकार्य भविष्यमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महासंघले पछिल्लो बदलिँदो राजनीतिक परिस्थितिमा निजी क्षेत्रलाई लक्षित गरेर गरिने हमला तथा नकारात्मक दृष्टिकोण अन्त्य गर्दै आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दियो। साथै, महासंघले उठाएका विषयहरू समग्र देशको आर्थिक समृद्धिका लागि उठाइएका प्रयास भएको पनि स्पष्ट पारे।
प्रतिक्रिया