NIMB Header 2
Nepal Life

बैंकले व्यवसाय विस्तारका अतिरिक्त स्थानीय समुदायको विकास र सशक्तीकरणमा ध्यान दिएको छ: सन्तोष कोईराला

Citizen Life
  • BFIS News
  • 2025 Sep 27 12:43
बैंकले व्यवसाय विस्तारका अतिरिक्त स्थानीय समुदायको विकास र सशक्तीकरणमा ध्यान दिएको छ: सन्तोष कोईराला
National Life

काठमाडौं। माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट सबैभन्दा पहिले लाभांश घोषणा गर्न सफल भई, सबैभन्दा छिटो वार्षिक साधारण सभा आयोजना गर्न पाउँदा बैंकको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा मलाई अत्यन्तै खुशी लागेको छ।

NIMB

यस उपलब्धिको निम्ति बैंकको सञ्चालक समिति, नियामक निकाय, लेखापरीक्षक, कानुनी सल्लाहकार र तपाईं सम्पूर्ण सेयरधनी महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै, शेयरधनीहरु समक्ष छोटो समय मै लाभांश वितरण गर्नको लागि अहोरात्र खटिने मेरा सम्पूर्ण कर्मचारी साथिहरू उहाँहरुले गर्नुभएको मेहनतका लागि पनि विशेष धन्यवाद दिन चाहन्छु ।

आ.व. २०८१/८२ को श्रावण महिनाको पहिलो दिनको सुरुवात गर्दै गर्दा मलाई प्रमुख कार्यकारी अधिकृतको हैसियतमा धेरै कुराहरुको चुनौती थियो तर ती सबै चुनौतीहरुलाई पार लगाउदै बैंकले गत आ. व. मा वित्तिय सूचांकहरुमा गरेको प्रगतिलाई एउटा महत्वपूर्ण उपलब्धिको रुपमा लिन चाहन्छु । पछिल्ला आर्थिक वर्षहरुमा समग्र देशको अर्थतन्त्रमा देखा परेको शिथिलताको प्रभाव बैंकिङ्ग क्षेत्रमा पनि नपरेको होइन।

देशको अर्थतन्त्रमा देखिएको मन्दीको कारणले अर्थ बजारमा संकुचन आई नयाँ नयाँ लगानीका लागि मार्ग प्रशस्त हुन नसक्दा र भएका लगानीहरुमा पनि समस्या देखा परिरहदा पनि बैंकले आफ्ना वित्तिय सूचकांकहरुमा उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ। गत आ.व मा हामीले खुद नाफा रु.१ अर्व ८८ करोड आर्जन गर्न सफल भयौ जुन अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले बढी हो ।

अघिल्ला आ.व. मा संचालन मुनाफा १ अर्व ६६ करोड रहेकोमा गत बर्ष यसलाई बढाएर ३ अर्व १४ करोड पुर्याउन सफल भयौ । गत आ.व.मा बैंकको खुद व्याज आम्दानी ५ अर्व ७५ करोड पुगेको छ भने वितरणयोग्य मुनाफा ९३ करोड ६३ लाख रहेको छ । गत आषाढ मसान्त सम्म बैंकले निक्षेप १ खर्व ८६ अर्व संकलन गरेको छ भने कर्जा लगानी १ खर्व ४३ अर्व गरेको छ ।

यसै गरी बैंकको निष्कृय कर्जा ३.९६ प्रतिशत रहेको छ । वित्तिय सूचकांकहरुको साथ साथै सेवा सुविधा विस्तारमा पनि गत आर्थिक वर्ष माछापुच्छ्रे बैंकका लागि सकारात्मक प्रगति र उपलब्धिहरूले भरिपूर्ण वर्ष रह्यो । समिक्षा अवधिमा बैंकले डिजिटल बैंकिङ्ग सेवाहरूमा विशेष ध्यान दिएर आफ्नो सेवा दायरा बढाउन सफल भयो ।

गत आ.व.मा बैंकको मोबाइल बैंकिङ्ग, अनलाइन कारोबार, र अन्य डिजिटल सेवाहरू उपभोग गर्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । बैंकले आफ्नो सेवा प्रणालीलाई ग्राहकहरूको आवश्यकतामा केन्द्रित राखेको छ । व्यक्तिगत सेवा, छिटो र प्रभावकारी समाधान, तथा सम्बन्ध निर्माणमा बैंकले कुनै सम्झौता गरेको छैन ।

त्यस्तै बैंकले ग्राहकहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न विभिन्न नयाँ र नविन वित्तीय सेवाहरू विकास गरेको छ । डिजिटल बैंकिङ सेवाहरूमा बैंकको अग्रणी भूमिका छ । बैंकले आफ्नो व्यवसाय विस्तारमा मात्र नभएर स्थानीय समुदायको विकास र सशक्तीकरणमा पनि ध्यान दिएको छ । समिक्षा अवधिमा समुदायमा आधारित परियोजनाहरू र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा बैंक सक्रिय रूपमा संलग्न रहेको थियो ।

जोखिम व्यवस्थापन, पारदर्शिता, र दीर्घकालीन रणनीतिहरूमा बैंकले ध्यान केन्द्रित गरेको छ जसको फलस्वरुप माछापुच्छ्रे बैंक विश्वासिलो र स्थिर वित्तीय संस्थाको रुपमा स्थापित भइसकेको छ । यसका साथै बैंकको अर्को सफलताको कडि हो बलियो नेतृत्व र व्यवसायिकता । बैंकमा अनुभवी एंव व्यावसायिक नेतृत्व टोली रहेको छ, जसले माछापुच्छ्रे बैंकलाई निरन्तर प्रगति र विकासको मार्गमा अघि बढाइरहेको छ ।

सबै तहका कर्मचारीको वृत्ति विकासलाई मध्यनजर गर्दै समीक्षा अवधिमा बैंकले कर्मचारीहरुको लागि आन्तरिक, बाह्य तथा अन्तर्राष्ट्रिय तालिम तथा वृत्ति विकास कार्यक्रम संचालन गर्दै आएको छ । बैंकले संस्थाको उत्पादकत्वमा वृद्धि ल्याउन, कर्मचारीलाई आफ्नो काम कर्तव्यमा दक्ष नाउन समीक्षा वर्षमा तालिम तथा वृत्ति विकासतर्फ यथेष्ट लगानी गरेको छ । हामीले अल्पकालीन व्यवसायमा भन्दा पनि दीर्घकालिन र दिगो बैंकिङ्गमा जोड दिएका छौँ ।

बैंकलाई थप सवल र उत्कृष्ट बैंक बनाउने अभियानमा छौं । हाम्रा देशैभर छरिएर रहेका १६५ शाखाहरु मार्फत हाम्रा करिब १६०० कर्मचारीहरु यहि उद्देश्य हासिल गर्न कटिबद्ध छन् । ग्राहकको बिश्वास नै हो जसले हामीलाई आज यो स्थानसम्म ल्याएको छ । त्यसैले ग्राहकको सन्तुष्टि, सुविधाको लागि विश्वास जित्न हामी काम गर्दछौँ । प्रतिस्पर्धा र बदलिँदो बैंकिङ्ग परिप्रेक्ष्यलाई सम्बोधन गर्दै, हामी नयाँ सम्भावनाहरू पहिल्याउँदै, सुरक्षित र दिगो वित्तीय विकासका लागि कटिबद्ध छौँ ।

माछापुच्छ्रे बैंकमा काम गर्न थालेपछि मैले धेरै चुनौतीपूर्ण समयहरू अनुभव गरेको छु । अन्तराष्ट्रिय जगतमा विभिन्न समयखण्डमा भएका द्वन्द्वहरूका कारणले देखा परको आर्थिक मन्दी, कोभिड १९ लगायतका स्वास्थ्य जटिलताका वीचबाट बैंकलाई आजको अवस्थासम्म ल्याईपुर्याउनु सहज भने पक्कै थिएन । राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा देखा परेका विभिन्न उतारचढावहरुलाई पार गर्दै प्रमुख कार्यकारी अधिकृतको हैसियतमा मैले नेपाली अर्थतन्त्रमा अझ धेरै सम्भाबनाहरु देखेको छु । जुन सम्भावनाहरुलाई यथार्थमा बदल्न माछापुच्छ्रे बैंक सदैव तयार छ ।

उत्पादनमुलक क्षेत्रमा गरिने लगानीहरु, नयाँ नयाँ व्यवसाय विस्तारका लागि बैंकको तर्फबाट गर्नुपर्ने सहयोग, विशेषगरी साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रहरूमा गरिने लगानीमा हातेमालो गर्न बैंक हरदम तत्पर रहेको छ । देशभर फैलिएर रहेका हाम्रा शाखा सञ्जाल मार्फत नेपालका सबै क्षेत्रमा पुगेर त्यहाँका व्यवसायहरूलाई सहयोग गर्ने प्रतिबद्धता सधै कायम रहिरनेछ भने व्यवसाय संगै संस्थागत समाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले आफुलाई सधै एक कदम अगाडी राखिरहने पनि विश्वास दिलाउन चाहन्छु ।

माछापुच्छ्रे बैंक डिजिटल बैंकिङ्ग, सुलभ सेवा, व्यावसायिक दक्षता र आर्थिक समावेशीताको माध्यमबाट नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय योगदान पुयाउदै हरेक नेपालीको पहिलो रोजाईको बैंक बन्न आगामी दिनमा पनि कुनै कसर बाँकि नराख्ने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

अन्तमा, यस बैंकको उन्नति, प्रगति र सम्वृद्धिका लागि हाम्रा हरेक कृयाकलापहरुमा सदैव गहिरो अभिरुचि देखाई हामीलाई राय सुझाव दिनु हुने आदरणीय शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, सञ्चार जगत, ग्राहकवर्ग लगायत यस बैंकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग पुर्याउनु हुने बैंक तथा वित्तीय संस्थाहरु, अन्य संघ–संस्थाहरु, बैंक सञ्चालक समितिका सदस्यहरु तथा कर्मचारीवर्ग प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

(प्रस्तुत लेख बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकको २७ औं वार्षिक साधारणभसाका क्रममा दिएको मन्तव्यका आधारमा तयार पारिएको हो।)

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया