लघुवित्त बैंकसँगै सामाजिक अभियान हो, खेम राज ओझाको लेख
- खेम राज ओझा
- 2025 Sep 28 06:26
प्रस्तावनाः आर्थिक विकास र सामाजिक रूपान्तरण एक अर्कासँग गहिरो सम्बन्धित छन्। कुनै पनि समाजमा आर्थिक आत्मनिर्भरता बिना सामाजिक चेतना र विकास सम्भव हुँदैन भने सामाजिक सशक्तिकरण बिना आर्थिक प्रगति दीगो रहन सक्दैन। नेपाल जस्तो मुलुकमा जहाँ ग्रामीण जनसंख्या बढी छ र सीमान्तकृत समुदाय अझै पनि गरिबी र अभावको चपेटामा छन्, त्यहाँ लघुवित्त बैंकहरूले निभाएको भूमिका केवल वित्तीय सेवामा सीमित छैन। यसलाई सामाजिक अभियानका रूपमा पनि बुझ्न सकिन्छ।
लघुवित्त बैंकहरूले वित्तीय पहुँच नपाएका विपन्न वर्गलाई बचत, ऋण, बीमा तथा अन्य सुविधा उपलब्ध गराउँछन्। तर यसको उद्देश्य नाफा मात्र नभई सदस्यहरूको सामाजिक र आर्थिक जीवनस्तर उकास्नु हो। यसैले लघुवित्तलाई "लघुवित्त बैंकसँगै सामाजिक अभियान" भन्नु उपयुक्त हुन्छ।
लघुवित्तको संक्षिप्त परिचय
लघुवित्त भनेको सानो–साना बचत संकलन गरी विपन्न वर्गलाई सुलभ ऋण उपलब्ध गराउने प्रणाली हो। यसको मुख्य विशेषता भनेकै समूहमा आधारित सेवा हो। सदस्यलाई सामूहिक रूपमा ऋण दिइन्छ, जसको जिम्मेवारी सबैले बराबरी वहन गर्नुपर्छ। यसले एक आपसमा अनुशासन, उत्तरदायित्व र सहयोगको वातावरण सिर्जना गर्छ।
नेपालमा लघुवित्तको अभ्यास २०५० दशकदेखि औपचारिक रूपमा सुरु भए पनि अहिले यसले व्यापक रूप लिएको छ। नेपाल राष्ट्र बैंकले अनुमति दिएको लघुवित्त वित्तीय संस्था, सहकारी तथा एनजिओमार्फत लाखौँ परिवार प्रत्यक्ष लाभान्वित भएका छन्।
आर्थिक सशक्तिकरण : लघुवित्तको पहिलो लक्ष्य
लघुवित्तले समाजका आर्थिक रूपमा कमजोर वर्गलाई आय–आर्जन गर्न सक्षम बनाउँछ। ग्रामीण क्षेत्रमा महिलाहरूलाई पचास हजारदेखि लाखसम्म साना व्यवसायिक ऋण दिइन्छ।
-
कोही सदस्यले किराना पसल सञ्चालन गर्छन्।
-
कोहीले बाख्रापालन वा कुखुरापालन गर्छन्।
-
कसैले तरकारी खेती गर्छन्।
यी सबै उद्यमले परिवारलाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुर्याउँछन्। ऋण तिर्ने क्रममा अनुशासन र आर्थिक व्यवस्थापन गर्ने सीप पनि सिकाइन्छ। यसरी लघुवित्त केवल पैसाको कारोबार नभई जीवनशैली परिवर्तन गर्ने अभ्यास हो।
महिला सशक्तिकरण र सामाजिक परिवर्तन
लघुवित्तलाई सामाजिक अभियान मान्नुको अर्को कारण भनेकै महिलामुखी कार्यक्रम हुनु हो। ग्रामीण महिलाहरूलाई घरको भित्ताभित्र सीमित गर्ने चलन अझै पनि छ। तर जब महिलाहरू लघुवित्त समूहमा सहभागी हुन्छन्, उनीहरूलाई बैठकमा बोल्ने, निर्णय गर्ने, ऋण व्यवस्थापन गर्ने अवसर मिल्छ।
यो प्रक्रियाले महिलामा आत्मविश्वास जगाउँछ। उनीहरू घरायसी निर्णयमा मात्र नभई सामुदायिक नेतृत्वमा पनि अघि बढ्छन्। कतिपय ठाउँमा लघुवित्तमा सक्रिय महिलाहरू पछि वडास्तर वा स्थानीय तहमा नेतृत्वमा पुग्ने गरेका छन्। यसले स्पष्ट देखाउँछ कि लघुवित्त सामाजिक रूपान्तरणको अभियान हो।
शिक्षा र सचेतनामुखी अभियान
लघुवित्तका सदस्यहरूलाई मात्र ऋण दिने होइन, उनीहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ विभिन्न सचेतनामुखी कार्यक्रम पनि सञ्चालन गरिन्छ।
बालबालिकाको शिक्षा: विद्यालयमा भर्ना दर बढाउने, पढाइ छोडेका बालबालिकालाई पुनः विद्यालय पठाउने, शैक्षिक सामग्री वितरण गर्ने।
साक्षरता कक्षा: निरक्षर महिलालाई अक्षर चिनाउने, गणना गर्न सिकाउने।
सामाजिक सचेतना: बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा जस्ता सामाजिक कुरीतिबाट मुक्त हुन सचेतना जगाउने।
यसरी लघुवित्त वित्तीय सेवासँगै सामाजिक चेतना अभिवृद्धि गर्ने अभियान पनि हो।
स्वास्थ्य र सरसफाइमा योगदान
धेरै लघुवित्त संस्थाहरूले आफ्ना सदस्यका लागि स्वास्थ्य बीमा सेवा उपलब्ध गराएका छन्। यसले गरीब वर्गलाई सामान्य रोग उपचारमा ठूलो राहत पुर्याएको छ।
त्यसैगरी, समूहगत बैठकमा सरसफाइ, सुरक्षित खानेपानी, परिवार नियोजन, पोषण र रोग निवारण सम्बन्धी तालिम दिइन्छ। कतिपय संस्थाले निःशुल्क स्वास्थ्य शिविर, आँखा उपचार, मातृ स्वास्थ्य जस्ता कार्यक्रम सञ्चालन गरेका छन्। यी सबै कार्यले ग्रामीण समाजमा स्वास्थ्यप्रति सचेतना बढाएको छ, जुन कुनै पनि सामाजिक अभियानको महत्वपूर्ण पक्ष हो।
आपतकालीन राहत र सामाजिक उत्तरदायित्व
प्राकृतिक विपत्ति (बाढी, भूकम्प, पहिरो) वा महामारी (जस्तै कोभिड-१९) का समयमा लघुवित्त संस्थाहरूले राहत वितरण, स्वास्थ्य सामग्री उपलब्ध गराउने, सदस्यलाई सहुलियत ऋण दिने, किस्ता स्थगन गर्ने कार्य गरेका छन्।
यसले देखाउँछ कि लघुवित्त नाफा कमाउने मात्र उद्देश्य लिएर चलेको छैन, समाजसँग प्रत्यक्ष सरोकार राख्छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनु पनि यसलाई अभियानको रूपमा स्थापित गर्ने अर्को आधार हो।
सामाजिक समावेशीकरण र समान अवसर
लघुवित्तले दलित, जनजाति, पिछडिएका वर्ग र सीमान्तकृत समुदायलाई पनि वित्तीय पहुँच दिलाएको छ। परम्परागत बैंकमा जहाँ धनी वा सिफारिस भएकाले मात्र ऋण पाउँछन्, त्यहाँ लघुवित्तले विपन्न वर्गलाई प्राथमिकता दिन्छ।
यसरी आर्थिक पहुँच नपाएका वर्गलाई अवसर दिनु भनेको सामाजिक समावेशीकरणको अभ्यास हो। यही कारणले लघुवित्तलाई सामाजिक अभियान भन्न सकिन्छ।
चुनौतिहरू
यद्यपि लघुवित्तसँग सामाजिक अभियानको विशेषता छ, तर यसका केही चुनौती पनि छन्।
-
उच्च ब्याजदरको गुनासो
-
सदस्यले ऋण सदुपयोग नगरी विलासी खर्चमा प्रयोग गर्ने समस्या
-
केन्द्रमा अनुशासन कायम गर्न कठिनाइ
-
वित्तीय साक्षरताको कमी
यी समस्याहरूलाई समाधान गर्दै लघुवित्तले आफ्नो सामाजिक अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।
लघुवित्त बैंक केवल पैसाको कारोबार गर्ने संस्था होइन, यो समाजलाई चेतना, सशक्तिकरण र आत्मनिर्भर बनाउने अभियान हो। यसले महिलालाई नेतृत्वमा ल्याएको छ, बालबालिकालाई विद्यालय पठाएको छ, स्वास्थ्य र सरसफाइमा सुधार ल्याएको छ, विपत्तिका समयमा राहत पुर्याएको छ र सबैभन्दा महत्वपूर्ण कुरा गरीबलाई आत्मनिर्भर बन्न मद्दत गरेको छ।
(खेम राज ओझा हाल ड्रिप्रोक्स लघुवित्तमा अधिकृत छन्।)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpeg)






प्रतिक्रिया