पुँजी बजार सुधार प्रतिवेदनप्रति स्टक ब्रोकर एशोसिएशनको स्वागत, तत्काल कार्यान्वयनको माग
- BFIS News
- 2025 Oct 08 15:35

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले अर्थ मन्त्रालयमा बुझाएको प्रतिवेदनको स्वागत गर्दै त्यसलाई तत्काल कार्यान्वयनमा लैजान सरकारसँग माग गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले बुझाएको प्रतिवेदनले पुँजी बजार सुधारका लागि महत्त्वपूर्ण सुझावहरू समेटेको भन्दै एसबानले त्यसलाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो।
अर्थमन्त्री खनालको निर्देशनमा धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले पुँजी बजारको सुधार र दीगो विकासका लागि विस्तृत सुझाव तयार पारेको थियो। प्रतिवेदन बुझाइएपछि अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत सरोकारवाला निकायहरूलाई कार्यान्वयनका लागि आवश्यक निर्देशनसमेत दिएका छन्।
एसबानका अध्यक्ष सागर ढकालका अनुसार अर्थमन्त्री खनालले पुँजी बजार सुधारका लागि देखाएको अग्रसरता ऐतिहासिक कदमका रूपमा रहनेछ। उनले भने, “अहिलेको अवस्थामा पुँजी बजारको वृद्धि र विकासका लागि कार्यदलले सेयर धितो कर्जाको सीमा हटाउने, बैंक तथा वित्तीय संस्थामाथिको लगानी प्रतिबन्ध हटाउने, नयाँ औजारहरू भित्र्याउने, नेप्सेको पुनःसंरचना र निजीकरण गर्ने लगायत दर्जनौं सुझाव दिएको छ, जुन अत्यन्त स्वागतयोग्य छ।”
ढकालले प्रतिवेदनमा समावेश सुझावहरूलाई नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेले तत्काल कार्यान्वयनमा लैजानुपर्ने माग गरे। उनका अनुसार, अघिल्ला समयमा बनेका कार्यदलका सुझावहरू कार्यान्वयनमा ढिलाइ भएकाले यसपटक त्यसको दोहोरिन नदिन सरकार र नियामक निकायहरू सक्रिय हुनुपर्ने आवश्यकता छ।
“अर्थमन्त्रीले पुँजी बजार सुधारका लागि देखाएको दृष्टिकोणप्रति हामी कृतज्ञ छौं,” ढकालले भने, “यदि अब ती सुझावहरू छिटो गतिमा कार्यान्वयनमा आए भने नेपालको पुँजी बजारको भविष्य अत्यन्त उज्ज्वल बन्नेछ।”
प्रतिक्रिया