NIMB Header 2
Nepal Life

‘७०% पुरुषमा यौन समस्या’ : किन मौन छन् पुरुषहरू?

Citizen Life
  • BFIS News
  • 2025 Oct 08 20:05
‘७०% पुरुषमा यौन समस्या’ : किन मौन छन् पुरुषहरू?
National Life

काठमाडौं, असोज २१ – नेपालमा महिलाका लागि प्रजनन स्वास्थ्यसम्बन्धी सेवा सहज रूपमा उपलब्ध भए पनि पुरुषहरूका लागि भने यस्ता सेवा विस्तारको चरणमा मात्रै रहेका छन्। तर, हालै यस क्षेत्रमा उल्लेखनीय पहल सुरु भएको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

NIMB

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले हालै औपचारिक रूपमा पुरुषको प्रजनन स्वास्थ्यसम्बन्धी उपचार सेवा सुरु गरेको छ। अस्पतालको युरोलोजी विभागले सातामा दुई दिन (सोमबार र बिहीबार) पुरुष प्रजनन स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने बिरामीका लागि सेवा दिन थालेको हो।

बाँझोपन र यौन दुर्बलता मुख्य समस्या

अस्पतालका युरोलोजिस्ट तथा focal person डा. भोजराज लुईँटेलका अनुसार, विगत एक वर्षदेखि अनौपचारिक रूपमा सेवा दिइँदै आए पनि हाल मात्रै यसलाई औपचारिक रूपमा सुरु गरिएको हो।

उनका अनुसार, धेरैजसो पुरुषहरू यौन दुर्बलता, बाँझोपन, होर्मोन असन्तुलन, मनोसामाजिक तनाव तथा अन्य प्रजननसम्बन्धी समस्याका कारण उपचारका लागि आउँछन्।

डा. लुईँटेलले यौन दुर्बलता र बाँझोपन निम्त्याउने प्रमुख कारणहरूमा उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेह, थाइरोइडजस्ता होर्मोन समस्याहरू रहेको उल्लेख गरे।

नेपालमा एन्ड्रोलोजिस्ट छैनन्

विश्वभरि पुरुष प्रजनन स्वास्थ्यका लागि एन्ड्रोलोजिस्ट अर्थात् पुरुष प्रजनन विशेषज्ञहरू हुने भए पनि नेपालमा अहिलेसम्म एकजना पनि एन्ड्रोलोजिस्ट नभएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. शतीशकुमार देव बताउँछन्।

“युरोलोजीका डाक्टरहरूले नै एन्ड्रोलोजीसम्बन्धी उपचार हेर्दै आउनुभएको छ। औपचारिक माग बढेमा यस क्षेत्रमा पनि विशेषज्ञता विस्तार हुन सक्छ,” उनले भने।

समाजमा चेतनाको कमी

जनस्वास्थ्यविद् डा. खेम कार्कीका अनुसार, पुरुष प्रजनन स्वास्थ्यको विषय नेपाली समाजमा अझै पनि गम्भीर रूपमा नलिइएको कारण धेरै पुरुषहरू उपचार नै खोज्दैनन्।

“हामीले गरेको एक राष्ट्रिय अध्ययन अनुसार ७० प्रतिशत वयस्क पुरुष र ६७ प्रतिशत महिला यौन दुर्बलताको समस्याबाट पीडित छन्,” उनले बताए।

उनले थपे, “सन्तान नहुनुमा महिलालाई मात्र दोष दिने परम्परा छ, तर विज्ञानका अनुसार एक तिहाइ समस्या पुरुषका कारण पनि हुने गर्छ। तर त्यो पक्ष समाजले स्वीकार्न नै सकेको छैन।”

पुरुष स्वास्थ्य उपचार छायाँमा

डा. कार्कीले बताएअनुसार, नेपालमा महिला र शिशु स्वास्थ्यमा धेरै ध्यान दिइए पनि पुरुष स्वास्थ्यको उपचार र जानकारी छायाँमा परेको छ।

कतिपयलाई त पुरुष प्रजननसम्बन्धी सेवा उपलब्ध नै हुन्छ भन्ने जानकारीसमेत छैन। प्रचारप्रसारको अभाव र सामाजिक लज्जा जस्ता कारणले पुरुषहरू अझै खुल्न नसकेको चिकित्सकहरूको अनुभव छ।

नेपालमा पुरुष प्रजनन स्वास्थ्य सेवा विस्तारको चरणमा छ। शिक्षण अस्पतालको पहलले यस क्षेत्रमा आशा जगाएको छ भने सामाजिक चेतना र विज्ञ चिकित्सकको आवश्यकता अझै देखिएको छ। भविष्यमा यस सेवाको माग बढ्दै गएमा विशेषज्ञ एन्ड्रोलोजिस्टको आवश्यकता र सेवा विस्तार अनिवार्य देखिन्छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया