शेयर बजारमा निरन्तर गिरावट : लगानीकर्ताको मनोबल कमजोर, ‘संयमित भएर बस्नुपर्ने समय’
- BFIS News
- 2025 Oct 13 12:07

काठमाडौं। नेपाल शेयर बजार निरन्तर ओरालो लाग्दै गएको छ। बजार तीन हजारको सूचकबाट २५ सय भन्दा तल झरिसकेको छ, तर माथि जाने अवस्था नदेखिँदै गर्दा लगानीकर्ताबीच त्रास र निराशा बढेको छ।
हाल बजारमा ‘मार्जिन कल’को प्रभाव तीव्र बनेको छ। मार्जिन कलपछि लगानीकर्ताले बाध्य भएर शेयर बिक्री गर्दा बजार झन् तल झरेको बजार विश्लेषक दिपेन्द्र अग्रवाल बताउछन्। बजारका ठूला अपरेटरहरू समेत बजारबाट बाहिरिने क्रममा रहेको उनको विश्लेषण छ। ‘शेयर बिक्री गर्दै बजारबाट बाहिरिने क्रम चलिरहेको छ।’
ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालका अनुसार अहिलेको विषम आर्थिक परिस्थिति र अस्थिर राजनीतिक अवस्थाका कारण ठूला लगानीकर्ताले पनि हाइ-क्यापका शेयर खरिद गर्न छाडेका छन्। उनले भने, “अहिले संयमित भएर लगानी गर्नुपर्ने समय हो, अन्धाधुन्ध खरिदले जोखिम बढाउँछ।”
शेयरधितो कर्जा र बाढीको असर
अग्रवालले थपे, “हिजोका दिनमा जसले शेयरधितो कर्जा लिएका थिए, आज ती लगानीकर्ताबाटै बजार तल झरेको हो।” त्यस्तै, हालैका बाढी पहिरोले जलविद्युत कम्पनीहरूमा देखिएको क्षतिले समेत बजारमा नकारात्मक प्रभाव पारेको छ। जुन जुन आयोजनालाई बाढी पहिरोले नराम्रो सँग प्रभावित पारेको छ ति आयोजनाको शेयर मूल्यमा चरम गिरावट छ। अर्को तर्फ जुन जुन कम्पनीको लकिङ परियड सकिएको छ ति कम्पनीमा पनि ओभर सप्लाइकै कारण माथि उठ्न त परको कुरा लगातार घटिरहेको छ।
स्वार्थसमूहको चलखेल र बजार रणनीति
बजारमा सस्तो मूल्यमा शेयर खरिद गर्ने स्वार्थसमूह हाबी भएको विश्लेषण छ। ती समूहले जानाजानी बजार घटाएर पछि पुनः खरिद गर्ने रणनीति बनाइरहेको बताइन्छ। ‘हिजो शेयर बिक्री गर्नेहरूले नै आज बजार घटाउने हल्ला फैलाइरहेका छन्,’ एक विश्लेषकले भने।
राजनीतिक अस्थिरतासँगै बजारको उतारचढाव
नेपालको शेयर बजार राजनीतिक अवस्थासँग संवेदनशील रहँदै आएको छ। माओवादी द्वन्द्व चरम विन्दुमा पुगेको बेला बजार ओरालो लागेको थियो भने, माओवादीले चुनाव जितेर सरकार बनाउँदा पनि राजनीतिक अस्थिरता चुलिँदा बजार फेरि ओरालो लागेको इतिहास छ। जति जति बुल र वियरिस मुभमेन्ट छन् त्यसको पछाडि पहिलो कारण राजनीति र दोस्रो कारण अन्य वित्तीय सूचक हुने गरेको छ। अहिले वित्तीय सूचक शेयर बजारमैत्री छ तर राजनीति पुरै विपरित छ यसले गर्दा बजार बढ्ने समयमै ओरालो झरेको हो।
सावधानीका साथ लगानी गर्न सुझाव
लगानीकर्ता सुभाष कार्कीका अनुसार बजार अहिले पछिल्लो एक वर्षकै न्यूनतम बिन्दुमा पुगेको छ। “बजार बढेपछि घट्छ र घटेपछि बढ्छ, यो बजारको नियम हो। अहिले संयम र सुझबुझका साथ निर्णय लिनुपर्ने समय हो,” उनले भने।
कार्कीका अनुसार २,४४० देखि २,४८० को दायरामा बजार बलियो ‘डिमान्ड जोन’मा छ। “यदि यही बिन्दुबाट बजार फर्कियो भने २,७५० सम्मको ‘बाउन्स ब्याक’ देख्न सकिने सम्भावना छ,” उनले भने।
नियामक सकारात्मक, लगानीकर्ता निराश
चार वर्षअघि बजार ३२०० बिन्दुमा पुग्दा नेपाल राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिपछि बजार ‘बेरिश ट्रेन्ड’मा गएको थियो। अहिले नियामक निकायहरू सकारात्मक देखिए पनि लगानीकर्ताको मनोबल घटेको छ। “जेन्जी आन्दोलनपछि बजारमा लगानीकर्ताको आत्मविश्वास फर्किन समय लाग्नेछ,” कार्कीको भनाइ छ।
राजनीतिक संक्रमण र चुनावको अनिश्चितता
अर्को पक्षमा, प्रधानमन्त्री शुशिला कार्कीको नेतृत्वमा फागुन २१ गते हुने भनिएको निर्वाचनबारे संशय बढेको छ। निर्वाचन नहुने सम्भावनाले राजनीतिक अस्थिरता अझ लम्बिन सक्ने र त्यसको असर बजारमा परिरहेको विश्लेषण गरिएको छ। ठूला लगानीकर्ताहरू यसै कारण बजारबाट बाहिरिने तयारीमा छन् भने केही लगानीकर्ता भने यसै अवसरमा बजारका बाँकी अवरोध हटाउन सक्रिय छन्। हिजो पनि नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताको एउटा समुह सुझाव कार्यदलको सुझाव तत्काल कार्यान्वयन गर्नु पर्ने भन्दै दवाव दिन पुगेका थिए।
विश्लेषकको चेतावनी : ‘यो समय बढ्छ भन्नु मूर्खता’
एक बजार विश्लेषकले भने, “यो समय बजार घट्न रोक्ने हो, बढ्छ भन्नु मूर्खता हो। नेपालमा शेयर बजार कहिल्यै पनि अस्थिरतामा अगाडि बढ्दैन। अहिले बढ्ने भ्रम पाल्दा आफैं फसिन्छ।” बजारमा हाल “पर्ख र हेर”को अवस्था छ। खरिद वा बिक्री दुवै पक्षमा स्पष्टता छैन। लगानीकर्ताहरूलाई अहिलेको अवस्था बुझेर संयमका साथ अघि बढ्न सुझाव दिइएको छ।
प्रतिक्रिया