NIMB Header 2
Nepal Life

नेपाल वायुसेवा निगमको पुनर्संरचना: कम्पनी मोडेलमा तीन भागमा विभाजन हुने

National Life
  • BFIS News
  • 2025 Nov 10 13:43
नेपाल वायुसेवा निगमको पुनर्संरचना: कम्पनी मोडेलमा तीन भागमा विभाजन हुने
Sanima Reliance

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सिफारिस गरेको छ।

Shikhar
NIMB

समितिले निगमको पूँजी संरचना, स्वामित्व, व्यवस्थापन र सञ्चालन प्रणालीमा आमूल परिवर्तन गरी दक्ष, नाफामुखी र प्रतिस्पर्धात्मक संस्था बनाउने ठोस प्रस्ताव पेश गरेको हो।

समितिको प्रतिवेदन अनुसार, निगमको पूँजीगत आवश्यकता तत्काल पूरा गर्न सरकारका स्वामित्वमा रहेका आर्थिक सेवा प्रदायक संस्था वा कोषमार्फत लगानी गर्नुपर्ने बताइएको छ। निगमलाई कम्पनी ऐन, २०६३ अनुसार रूपान्तरण गरी सार्वजनिक कम्पनीको रूपमा सूचीबद्ध गर्न, स्वामित्व र लगानी व्यवस्थापन व्यवस्थित गर्न सिफारिस गरिएको छ।

समितिले निगमलाई तीन कम्पनीमा विभाजन गर्ने प्रस्ताव गरेको छ। जसअनुसार:

  • नेपाल एयरलाइन्स कम्पनी लिमिटेड – अन्तर्राष्ट्रिय सेवाका लागि, पब्लिक लिमिटेड कम्पनी बनाएर नेप्सेमा सूचीबद्ध।

  • नेपाल उड्डयन सेवा कम्पनी लिमिटेड – ग्राउण्ड ह्याण्डलिङका लागि, पब्लिक लिमिटेड कम्पनी बनाएर नेप्सेमा सूचीबद्ध।

  • नेपाल वायुसेवा निगम (आन्तरिक सेवा) – राज्यको अप्रत्यक्ष नियन्त्रणमा रहने।

बोर्ड संरचनामा ‘कार्यकारी अध्यक्ष’ हटाएर ‘बोर्ड अध्यक्ष’ मात्रै राख्न, प्रमुख कार्यकारी अधिकारीहरू खुला प्रतिष्पर्धाबाट छान्ने र समयसीमित प्रतिफलमुखी करार लागू गर्न सिफारिस गरिएको छ।

ती कम्पनीको पूँजी निर्धारण यस प्रकार प्रस्ताव गरिएको छ:

  • नेपाल एयरलाइन्स कम्पनी लिमिटेड – अधिकृत पूँजी ५० अर्ब, जारी पूँजी ४० अर्ब, चुक्ता पूँजी ३४ अर्ब।

  • नेपाल उड्डयन सेवा कम्पनी लिमिटेड – अधिकृत पूँजी २५ अर्ब, जारी पूँजी २० अर्ब, चुक्ता पूँजी १६ अर्ब।

  • नेपाल वायुसेवा निगम (आन्तरिक सेवा) – पूँजी ५ अर्ब।

समितिले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्रवाह भएका ऋणलाई पूँजीगत लगानीमा रूपान्तरण गर्ने प्रस्ताव राखेको छ। यसले एयरलाइन्स कम्पनीमा ३४ अर्ब र उड्डयन सेवा कम्पनीमा १६ अर्ब गरी कुल ५० अर्ब इक्विटी लगानी सुनिश्चित गर्नेछ।

समितिको सुझाव अनुसार, नयाँ दुई कम्पनीले नाफा आर्जन गर्न सकेपछि नेप्सेमा सूचीबद्ध हुने र त्यसपछि आइपीओमार्फत जनतालाई लगानीको अवसर उपलब्ध गराइनेछ। यसले नागरिक स्वामित्व र लगानी सहभागिता बढाउने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीमा अनुभवी कार्यकारी नियुक्त गर्न र व्यवस्थापन साझेदारीको सम्भावना अध्ययन गर्न सिफारिस गरिएको छ। ग्राउण्ड ह्याण्डलिङ कम्पनीका कर्मचारीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष बनाउने तालिम दिइनेछ।

तराईका ट्रंक रुटका लागि ६४ सिटभन्दा माथिका टर्बो प्रोपेलर विमान प्रयोग गर्न र आन्तरिक सेवामा राज्यको संरक्षकत्व कायम राख्न सुझाव गरिएको छ।

समितिले तीन कम्पनीमा विभाजन गरेर निगमलाई दक्ष, पारदर्शी र प्रतिष्पर्धात्मक मोडेलमा रूपान्तरण गर्न सके, नेपालको हवाई उड्डयन क्षेत्र दीर्घकालीन रूपमा सबल र टिकाउ हुने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया