NIMB Header 2
Nepal Life

बागमती प्रदेशको अर्थतन्त्रका लागि सडक अझै प्रमुख चुनौती

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 12 11:17
बागमती प्रदेशको अर्थतन्त्रका लागि सडक अझै प्रमुख चुनौती
Everest Bank

काठमाडौं – संघीय राजधानी रहेको बागमती प्रदेश अझै पनि सडक पूर्वाधारका समस्याबाट जुधिरहेको छ।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले भौतिक पूर्वाधारलाई बागमती प्रदेशको अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा औंल्याएको हो।

राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८१/८२ को आर्थिक क्रियाकलापसम्बन्धी अध्ययनमा सडक, स्वास्थ्य सेवा, फोहर व्यवस्थापन, खानेपानी र सहर व्यवस्थापनका क्षेत्रमा गुणस्तरीय सेवा नपुग्नु प्रदेशको समग्र आर्थिक विकासका लागि अवरोधक रहेको निष्कर्ष निकालिएको छ।

प्रतिवेदनले प्राकृतिक विपद्का कारण प्रदेशको अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख गर्दै प्रभावकारी विपद् व्यवस्थापन आवश्यक रहेको सुझाव दिएको छ। “बागमती प्रदेशमा गुणस्तरीय शिक्षा, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नु चुनौतीपूर्ण छ,” प्रतिवेदनमा भनिएको छ।

तेज गतिमा बढिरहेको शहरी जनसंख्याका कारण कृषियोग्य जमिन घट्दै गएको र पहाडी तथा हिमाली क्षेत्रमा जमिन बाँझो रहनु चिन्ताको विषय भएको प्रतिवेदनले उल्लेख गरेको छ। कृषियोग्य जमिनको संरक्षण र उपयोगमा सन्तुलित नीति आवश्यक रहेको सुझाव पनि दिइएको छ।

कृषिमा निर्भर जनसंख्याका लागि स्थायी रोजगारी सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रतिवेदनले कृषि उत्पादन वृद्धि अर्थतन्त्रको प्रमुख आधार बन्नुपर्ने जनाएको छ।

जलवायु परिवर्तन र प्राकृतिक विपद्को असर कृषिसँगै जलविद्युत्, उद्योग र सेवा क्षेत्रमा पनि परेको र यसले प्रदेशको आर्थिक वृद्धिलाई सुस्त बनाएको प्रतिवेदनले उल्लेख गरेको छ। उपत्यकासँग नजिकका क्षेत्रमा जग्गाको मूल्य बढ्दा निजी क्षेत्रलाई महँगो भाडामा जग्गा लिनुपर्ने बाध्यता आएको र यसले उत्पादन लागत तथा बजार प्रतिस्पर्धामा असर पारेको पनि उल्लेख गरिएको छ।

यस्ता चुनौतीबीच पनि बागमती प्रदेशमा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना रहेको प्रतिवेदनले जनाएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूले यस क्षेत्रमा पर्यटन विकासको अवसर प्रदान गर्ने उल्लेख गरिएको छ।

नेपालकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल यही प्रदेशमा रहेको र यसले पर्यटन र यातायात क्षेत्रमा योगदान पुर्‍याइरहेको प्रतिवेदनले जनाएको छ। तुलनात्मक रूपमा राम्रो पर्यटन पूर्वाधार भए पनि त्यसको पूर्ण उपयोग गर्न नसकिएको पनि उल्लेख छ।

सूचना प्रविधि र डिजिटल पहुँच विस्तारलाई दीगो आर्थिक वृद्धिको सकारात्मक संकेतका रूपमा प्रतिवेदनले लिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ का लागि बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने अनुमान गरेको थियो। तर वास्तविक वृद्धिदर ३.७ प्रतिशतमा सीमित रह्यो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया