निष्क्रिय कर्जा घटाउँदै सुशासनमा केन्द्रित गरिमा विकास बैंक, अध्यक्ष दिलिप प्रताप खाँणको विचार
- दिलिप प्रताप खाँण
- 2025 Nov 13 13:24
काठमाडौं। विगत १९ वर्षदेखि यहाँहरुबाट निरन्तर रुपमा प्राप्त सहयोग तथा सद्भावको लागि हृदयदेखि आभार प्रकट गर्दछु । अघिल्लो आर्थिक वर्षको तुलनामा समिक्षा वर्षमा यस विकास बैंकको निक्षेपमा ७.७२ प्रतिशतले बृद्धि भई कुल निक्षेप रकम रु.९२ अर्ब ६८ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा प्रयाप्त लगानीयोग्य रकम रहेको अवस्था विद्यमान रहेता पनि देशको समग्र आर्थिक गतिविधिमा देखिएको शिथिलताको कारण बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी विस्तार अपेक्षित रुपमा बृद्धि हुन नसक्नुको साथै निष्क्रिय कर्जा अनुपात समेत बृद्धि भएको अवस्थामा यस विकास बैंकले कर्जा लगानीतर्फ ७.७९ प्रतिशतको बृद्धि हासिल गरी २०८२ असार मसान्तमा कुल कर्जा लगानी रकम रु.७६ अर्ब ७१ करोड पुगेको छ ।
त्यसैगरी २०८१ असार मसान्तमा ४.८५ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात न्यून बिन्दुले कम भई २०८२ असार मसान्तमा ४.६९ प्रतिशत कायम रहेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा कायम रहेको संचित मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस गरिमामय सभा समक्ष प्रस्ताव गरेका छौं । गरिमा विकास बैंकले हालसम्म हासिल गरेका उपलब्धि तथा गतिविधिहरुका बारेमा वार्षिक प्रतिवेदनमा विस्तृत रुपमा उल्लेख गरिएको व्यहोरा यहाँहरुसमक्ष जानकारी गराउँदछु । यस विकास बैंकले संस्थागत सुशासनलाई सदैव प्राथमिकतामा राखी कार्य गर्दै आईरहेको छ ।
विकास बैंकको आन्तरिक सँगसँगै नियमनकारी निकायहरुबाट विभिन्न समयमा जारी भएका नीति, नियम, निर्देशिका तथा परिपत्रहरुको परिपालना गर्नेदेखि उच्च नैतिकता तथा व्यावसायिक सोच राखी कार्य गर्ने प्रणालीलाई थप सशक्त तथा प्रभावकारी बनाउने प्रयास गरिएको छ । आन्तरिक नियन्त्रण तथा निरन्तर अनुगमन कार्यलाई थप प्रभावकारी बनाउनका लागि केन्द्रीय कार्यालय सँगसँगै देशका १० स्थानमा क्षेत्रीय कार्यालयहरु सञ्चालनमा छन ।
त्यसैगरी जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउने तथा सम्पूर्ण सरोकारवालाहरुको हित संरक्षणका लागि विकास बैंक सदैव प्रविबद्ध रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको माझमा उत्कृष्ट संस्थाको रुपमा स्थापित हुनका लागि व्यावसायको बृद्धि सँगसँगै कर्मचारीहरुको बृत्ति विकास, ग्राहकमैत्री तथा प्रविधिमैत्री सेवा प्रवाह, संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका विषयहरुमा विशेष ध्यान दिईएको छ ।
विकास बैंकको पूँजीकोष थप सशक्त बनाउने सन्र्दभमा आर्थिक वर्ष २०७८/०८९ मा रु. १ अर्बको ऋणपत्र जारी गरिएकोमा हाल उक्त ऋणपत्रको कारोबार दोश्रो बजारमा भैरहेको व्यहोरा यहाँहरुलाई विदित नै छ । विगत केही वर्ष यता Digital Transformation ले बैंकिङ्ग क्षेत्रको विकासमा निकै नै महत्वपूर्ण भूमिका खेलेको र हरेक बैंकिङ्ग कारोबारहरु प्रविधिमैत्री बनाउनुपर्ने अपरिहार्यता भैसकेको छ । यस विकास बैंकले आफ्नो बैंकिङ्ग सेवाहरुलाई आधुनिकरण तथा प्रविधिमैत्री बनाउने सन्दर्भमा ग्राहकहरुलाई प्रवाह गर्ने सेवा तथा विकास बैंकको आन्तरिक कार्यप्रणालीलाई यथाशक्य छिटो स्वाचालित Automation बनाउँदै लैजाने नीति अवलम्बन गरिएको छ । Access to All “सबैको पहुँच” को नारा सहित दुरदृष्टिमा आधारित भई बैंकिङ्ग सेवा प्रवाह गरिरहेको यस विकास बैंकले हालसम्म देशका सातवटै प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । हाल विकास बैंकका १० वटा क्षेत्रीय कार्यालय, १२५ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर, ५१ एटीएम मेसिन मार्फत, ९ लाख ३० हजार भन्दा बढी निक्षेपकर्ता, ३६ हजार भन्दा बढी ऋणी, ४ लाख ९५ हजार भन्दा बढी मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, १ लाख ८८ हजार भन्दा बढी डेविट कार्ड प्रयोगकर्ता ७७ हजार भन्दा बढी क्युआर मर्चेण्टहरु मार्फत ग्राहक महानुभावहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ र आगामी दिनमा बढी भन्दा बढी ग्राहकहरुमा बैंकिङ्ग सेवा विस्तार गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।
बैंकिङ्ग व्यवसाय अनन्त कालसम्म सञ्चालन हुने व्यवसाय रहेको हुँदा व्यावसायिक यात्रामा आईपर्ने आन्तरिक तथा बाह्य चुनौतीहरुको सामना गर्दै प्रभावकारी रुपमा आफ्नो सेवा प्रवाह गर्नका लागि यस विकास बैंकले Resilient Banking को अवधारणा अगाडि सारेको छ । समय र सन्दर्भहरु परिवर्तनशील हुन्छन् । कुनै पनि संस्थाको स्थिरता र सबलता उक्त संस्थाले परिवर्तनशील समय र सन्दर्भहरु अनुकुल स्वयंलाई निरन्तर परिमार्जन गर्दै अगाडि बढ्ने क्षमतामा निर्धारित हुन्छ ।
नयाँ नयाँ अवधारणा, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति अनुसार पार्दुभाव हुने उत्कृष्ट अभ्यास, प्रविधिमैत्री, ग्राहकहरुको स्वभाव र आवश्यकतामा हुने परिवर्तन अनुसार वस्तु तथा सेवा प्रवाह गरी निरन्तर ग्राहकमैत्री अवस्था कायम राख्न सक्ने लचकता एवं क्षमता लगायतका आन्तरिक सुदृढताका साथ बाह्य चुनौती सामना गर्न सक्ने सुस्पष्ट नीति एवं दृढ नेतृत्व क्षमताको समग्रता नै Resilient Banking को अवधारणा हो । यस अवधारणा सहित गरिमा विकास बैंक लिमिटेडले आगामी दिनमा प्रर्याप्त पूँजीकोष, प्रभावकारी जोखिम व्यवस्थापन संरचना, ग्राहकमैत्री प्रविधिको विकास, व्यावसायिक निरन्तरता तथा संकट समाधानको पूर्व तयारी, व्यवसाय तथा लगानीमा विविधिकरण, दिगो व्यावसायिक मोडेल, दृढ नेतृत्व तथा प्रभावकारी संस्थागत सुशासन, पारदर्शिता र समयानुकुल आवश्यक लचकता सहित संस्थागत सुदृढताको सुनिश्चितताको निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
विकास बैंकले आन्तरिक नीति, नियमहरुसँगै नियमनकारी निकायले समय–समयमा जारी गर्ने निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा अनुपालना गरी कार्यहरु गर्दै आईरहेको छ । संस्थागत सुशासन तथा शून्य सहनशीलताको नीतिमा विकास बैंक प्रतिवद्ध रहेको र सूचना प्रविधिको क्षेत्रमा भएको द्रुततर विकास सँगसँगै सम्भावित जोखिमलाई प्रभावकारी व्यवस्थापन गर्नका लागि विकास बैंक सदैव सक्रिय रहेको यहाँहरुलाई अवगत गराउन चाहन्छु ।
अन्तमा, यस गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौँ वार्षिक साधारण सभामा उपस्थित शेयरधनी महानुभावहरु लगायत उपस्थित सम्पूर्ण अतिथि महानुभावहरुमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु । यस विकास बैंकको प्रगति र सफलताको यात्रामा हाम्रा हरेक क्रियाकलापहरुलाई शुक्ष्म विश्लेषण गरी हामीलाई निरन्तररुपमा राय सुझाव दिनुहुने आदरणीय शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, ग्राहकवर्ग, सञ्चार क्षेत्र, सञ्चालक समितिका सदस्यहरु, कर्मचारी लगायत यस विकास बैंकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण शुभच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
आगामी दिनहरूमा पनि सदा झैं यहाँहरूको साथ, सहयोग, शुभेच्छा र मार्गदर्शन प्राप्त भइरहने विश्वास लिएको छु । आगामी दिनहरुमा हामी हाम्रो सेवालाई थप परिस्कृत गर्दै उत्कृष्ट बैंकिङ्ग सेवा प्रवाहमा दृढताका साथ अगाडि बढ्ने व्यहोरा यहाँहरु समक्ष प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
(प्रस्तुत विचार गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले १९ औं वार्षिक साधारणसभाको अवसरमा व्यक्त गरेको विचार)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)

.jpeg)




प्रतिक्रिया