मृत्युदण्डको सजाय सुनाइएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई भारतले बंगलादेश फिर्ता गर्ने ?
- BFIS News
- 2025 Nov 18 08:02
ढाका । मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाइएपछि बंगलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई भारतले फिर्ता बुझाउन माग गरेको छ।
ढाकास्थित अदालतले हसिनालाई अनुपस्थितिमै फाँसीको सजाय सुनाएको केही घण्टापछि बंगलादेश सरकारले भारतसँग आधिकारिक रूपमा सुपुर्दगी आग्रह गरेको हो।
सन् २०२४ को अगस्टमा भएको जनविद्रोहपछि ७८ वर्षीया हसिना पदच्युत भएकी थिइन्। आन्दोलन चर्किएपछि उनी भारततर्फ भागेर नयाँ दिल्ली पुगेकी मानिन्छ। हाल पनि उनी दिल्ली वा अन्य भारतीय शहरमा बसोबास गरिरहेको अनुमान छ। भारतले हसिनालाई सहयोग र आश्रय दिएको दाबी बंगलादेशमा बारम्बार भइरहेका छन्, जसले दुवै देशबीचको कूटनीतिक सम्बन्धसमेत तनावपूर्ण बनेको छ।
मानवताविरुद्धको अपराधमा दोषी ठहर
गत वर्ष विद्यार्थी नेतृत्वमा भएको जनविद्रोहविरुद्ध सरकारी दमनका कारण दर्जनौँ मृत्यु तथा गम्भीर मानवअधिकार उल्लङ्घन भएको आरोपमा हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई ढाका अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। कमलको अवस्थाबारे स्पष्ट जानकारी छैन, तर बंगलादेशले उनी पनि भारतमै रहेको दाबी गर्दै आएको छ।
बंगलादेशको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भारत सरकारलाई ती दुईजनालाई “तत्काल” बंगलादेशी अधिकारीसमक्ष बुझाउन आग्रह गरिएको छ। वक्तव्यमा भनिएको छ, “यी दोषीहरूलाई शरण दिनु अत्यन्त अमैत्रीपूर्ण कदम मात्र होइन, न्यायको पनि अपमान हुनेछ।”
भारतको प्रतिक्रिया
भारतीय विदेश मन्त्रालयले अदालतको फैसलामा ध्यान दिएको बताउँदै बंगलादेशप्रति आफ्नो समर्थन दोहोर्याएको छ। वक्तव्यमा भनिएको छ, “भारत शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरतासहित बंगलादेशका जनताको सर्वोत्तम हितमा प्रतिबद्ध छ।”
हसिनाको १५ वर्षे शासनकाल मानवअधिकार दुरुपयोग, विरोधीहरूको सामूहिक गिरफ्तार तथा गैरन्यायिक हत्या जस्ता आरोपले आलोचित रहँदै आएको थियो।
अन्तर्राष्ट्रिय खोजी र राजनीतिक प्रतिक्रिया
बंगलादेशले हसिनालाई लिएर इन्टरपोलमा ‘अत्यन्त खोजी’ सूचना जारी गर्ने तयारी गरेको जनाएको थियो, तर इन्टरपोलको सूचिमा हालसम्म त्यसको कुनै रेकर्ड नदेखिएको बताइन्छ।
अन्तरिम सरकारका प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अदालतको फैसलाको स्वागत गर्दै यसलाई “ऐतिहासिक निर्णय” भनेका छन्। उनले शान्ति, स्थिरता र सार्वजनिक मर्यादा कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया