बैंकमा संस्थागत सुशासनको सुनिश्चितता अनिवार्य सर्त हो, नेपाल बैंकका अध्यक्ष शर्मासँगको अन्तर्वार्ता
- BFIS News
- 2025 Nov 20 11:22
काठमाडौं। बैंक निकै संवदेनशील क्षेत्र हो किनभने राष्ट्रकै ढुकुटी मानिने बैंक अनुशासनहीनताका कारण लडखडायो भने सिङ्गो राष्ट्र नै आर्थिक रूपले धराशायी हुन पुग्छ । जनताको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको आर्थिक कारोबार गर्नुपर्ने संस्था भएकाले पनि यसका लागि अनुशासन अपरिहार्य मानिन्छ । अनुशासनको सुनिश्चितताविना बैंकले प्रभावकारी कार्य गर्न सक्दैन ।
बैंकका लागि आधारभूत आवश्यकता मानिने संस्थागत सुशासनको सुनिश्चितताका सम्बन्धमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, प्रा. डा. डिल्लीराज शर्मासँग नेपाल बैंक लिमिटेडको ८९ औं वार्षिकोत्सवको विशेष प्रकाशन वार्षिकोत्सव विशेषाङ्गका लागि प्रचार-प्रसार तथा प्रकाशन उपसमितिका संयोजक एवम् सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी तथा वरिष्ठ प्रबन्धक अश्विन कुमार पुडासैनीले लिएको अन्तर्वार्ताको सारांश:
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीमा रहँदा, पहिलो बैंकका रूपमा नेपाल बैंकका सबल पक्षहरू के के अनुभव गर्नुभएको छ ?
सर्वप्रथम नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडमा सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पाउँदा गौरवको अनुभूति भएको छ । बैंकको निर्दिष्ट उद्देश्य पूरा गर्नका लागि आफ्नो अनुभव र भूमिकाको गहन जिम्मेवारी एवम् दायित्वबोध भएको छ। नेपाल बैंकका सवल पक्षहरू भनेका नेपालमा बैंकिङ इतिहास रचेको पहिलो र नेपालीलाई बैंकिङ सेवासँगै बचत संस्कृति र वित्तीय साक्षरता सिकाएको ख्याति र इज्जत-प्रतिष्ठा भएको बैंक हो ।
'क' वर्गका वाणिज्य बैंकहरूले प्रदान गर्ने सम्पूर्ण वैकिङ सुविधासहित देशभर ७१ जिल्लामा शाखा सञ्जाल भएको ऐतिहासिक बैंक हुनाका साथै सबै नेपालीका लागि बैंकको पर्यायवाची जस्तै साख भएको बैंक हो। स्थापनाकालदेखि नै यो बैंक नेपाल सरकार र निजी क्षेत्रको साझेदारी संस्था हो । हामीलाई एकातिर सरकारी बैंकका रूपमा राज्यको बैंक भन्न पाउने अवसर पनि छ भने अर्कातर्फ प्रतिस्पर्धात्मक वजारमा निजी क्षेत्रको समेत सहभागिता भएकाले हामी व्यावसायिक निर्णय प्रक्रिया अवलम्बन गर्ने स्वायत्त एवम् सक्षम व्यावसायिक बैंक हौं भन्ने पहिचान पनि हाम्रो सवल पक्ष हो।
बैंकमा कार्यरत अनुभवी, दक्ष तथा इमान्दार कर्मचारी, व्यवस्थापकहरूका साथै पर्याप्त तरलता, उचित क्षेत्रहरूमा भएका लगानी र देशभरका प्रमुख सहरहरूमा आफ्नै कार्यालय भवन तथा जग्गाजमिन हुनु पनि यस बैंकको अर्को सवल पक्ष हो ।
विगत ८८ वर्ष अर्थात् झन्डै शताब्दीसम्म अविच्छिन्न रूपमा ग्राहकहरूलाई बैंकिङ सेवा प्रवाह गर्दै उद्योग, व्यापार, व्यवसाय, सर्वसाधारण व्यक्तिहरूलाई समेत आर्थिक एवम् वित्तीय साझेदारी, सुरक्षाको अनुभूति दिंदै ग्राहक तथा सेवाग्राहीहरूको विश्वास र भरोसासहितको छवि प्राप्त गर्नु नै नेपाल बैंकका सवल पक्ष हुन् ।
पहिलो बैंक भएकाले पनि नेपाल बैंकले विगतमा थुप्रै आरोह अवरोह व्यहोरेको छ । अहिले बैंकमा सुधार गर्नुपर्ने प्रमुख सवालहरू र बैंकमा के कस्ता चुनौतीहरू देखिरहनुभएको छ ?
निश्चय पनि लामो इतिहास, परिवर्तित सन्दर्भ र सूचना प्रविधिमा भएको क्रान्ति र बैंकिङ वजारको प्रतिस्पर्धालाई सामना गर्न नेपाल बैंकका सामु पनि थुप्रै चुनौती र सुधार गरिहाल्नुपर्ने सवालहरू छन् ।
पहिलो बैंक भईकन पनि हामीले अत्याधुनिक कोर बैंकिङ सफ्टवेयर (CBS) खरिद गर्न सकेका रहेनछौं । बढ्दो प्रतिस्पर्धाको बजार, बढ्दो ग्राहक सङ्ख्या, बढ्दो सेवा सुविधा र डिजिटल बैंकिङको अहिलेको जमानामा हामीले अन्तर्राष्ट्रिय स्तरको कोर बैंकिङ सिस्टम अर्थात् मोडर्न टेक्नोलोजी खरिद गरी बैंकिङ सेवा र कार्य प्रणालीमा आधुनिकीकरण गर्नुपर्ने छ । त्यसका लागि सञ्चालक समितिले व्यवस्थापनलाई आवश्यक निर्देशनसमेत दिइसकेको छ ।
दोस्रो सङ्गठन तथा व्यवस्थापन सर्भे (O&M Survey) का आधारमा कर्मचारी व्यवस्थापन, कर्मचारीहरूको वृत्ति विकासका अवसरहरू तथा कर्मचारीहरूलाई उत्प्रेरणासहित उत्पादकत्व सँगसँगै व्यवसायको विस्तार र मुनाफाको वृद्धि नै हो । बैंक यस्तो व्यवसाय हो जसले गुणस्तरीय सेवा प्रवाह गर्दै लगानीकर्ता सेयरधनीहरूलाई आशातीत लाभांश वितरण गर्नुपर्ने हुन्छ । सोका लागि काम गर्ने जनशक्तिको विकासमा ध्यान दिनुपर्दछ । बैंक व्यवस्थापनले यो काम पनि अगाडि बढाइरहेको जानकारी पाएका छौं।
तेस्रो भनेको गुणस्तरीय कर्जाको विस्तार अर्थात् व्यवसाय विस्तार हो । हामीले कर्जा निक्षेप अनुपात अर्थात् सिडी रेसियो र पुँजी/कर्जा निक्षेप अनुपात अर्थात् सिसिडी रेसियोको सन्तुलन कायम राख्दै जोखिम र प्रतिफलको विश्लेषणसहित अवसरहरू पहिचान गर्दै गुणस्तरीय कर्जा विस्तार र बजारको मागबमोजिमका कर्जा सेवाका प्रोडक्टहरू पनि विस्तार गर्दै जानुपर्ने छ ।
वैकिङ वजारको चुनौती जस्तै हाम्रो पनि खराव कर्जा असुली अर्को चुनौती हो। लामो अनुभव भएका व्यवस्थापकहरूको पहलमा यो कार्य पनि प्राथमिकतामा परेको छ ।
त्यसैगरी, डिजिटल प्रडक्टहरूको विकास, विभिन्न वाह्य साझेदारहरूसँगको सहकार्यमा डिजिटल कारोवारमा वृद्धि, रेमिट्यान्स आम्दानी बढाउनुपर्ने, फि तथा कमिसन आम्दानी वृद्धि, लगानीका क्षेत्रहरूको विस्तार आदिका लागि धेरै कार्यहरू गर्नुपर्ने छ।
बैंक भनेको पैसाको व्यापार/व्यवसाय गर्ने संस्था हो । यो मुनाफाका लागि व्यापार पनि हो। यहाँ कार्यरत सवै कर्मचारीहरूमा व्यावसायिक कौशलसहितको कार्यसंस्कृति हुनुपर्छ न कि जागिरे प्रवृत्ति । त्यसैले कर्मचारीको सिप, क्षमता र दक्षतासहित उत्पादकत्व अभिवृद्धिका साथै बदलिंदो सेवा तथा प्रविधिप्रति अद्यावधिक हुनका लागि निरन्तर तालिम र सिकाइका अवसरहरू प्रदान गर्दै सवैलाई तालिम भन्ने अवधारणासहित व्यावसायिक कार्यसंस्कृतिको विकास र सबै शाखाहरूलाई मुनाफाको केन्द्र बनाउने र समग्र कार्यसंस्कृतिलाई जागिरे होइन कि व्यावसायिक कौशलसहितको व्यावसायिक बैंकिङ कार्यसंस्कृतिमा रूपान्तरण गर्नु अर्को चुनौती देखेको छु ।
सुशासन अहिले नेपालमा सर्वाधिक चासो र राष्ट्रिय बहसको विषय बनेको छ । नेपाल बैंकका सन्दर्भमा संस्थागत सुशासनको सुनिश्चिता र संस्थागत सुशासनको प्रवर्द्धनका लागि के कस्ता पहल भएका छन् ?
यो बैंक भनेको पब्लिक ट्रेजरी अर्थात् जनताको विश्वासको ढुकुटी हो। बैंकमा संस्थागत सुशासनको सुनिश्चिता पहिलो अनिवार्य सर्त हो । सुशासनको विषयमा तर, किन्तु, परन्तु, अपितु आदि केही पनि हुनुहुँदैन । उच्च व्यवस्थापकीय दक्षता, उच्च नैतिक आचरण, पारदर्शिता, सहभागिता, मितव्ययिता, उत्तरदायी, जिम्मेवार एवम् जवाफदेहिता सहितको जिम्मेवारी वहन गर्ने गराउने काम नै सञ्चालक समिति, बैंक व्यवस्थापन र कर्मचारीहरूको हो।
बैंक सञ्चालन तथा कार्यसम्पादनका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकायहरू, सम्मानित अदालत तथा बैंक सञ्चालक समितिवाट बैंक सञ्चालन तथा व्यवस्थापनका ऐन, कानुन, नीति, नियम, निर्देशनहरूको व्यवस्था गरिएको छ । सोको परिपालनको सुनिश्चिताका लागि आन्तरिक तथा वाह्य लेखापरीक्षण, नेपाल राष्ट्र बैंकको निरीक्षण, अनुगमन तथा लेखापरीक्षणसमेत नियमित रूपमा हुनेगरेको छ ।
संस्थागत सुशासन, अनुपालना, जोखिम व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, गुनासो तथा कुनै पनि अनियमितता संवन्धी जानकारी प्राप्त गर्ने समिति जस्ता कार्यगत संरचना र सञ्चालक समितिका विभिन्न उपसमितिहरूमार्फत समेत वैकमा संस्थागत सुशासनको सुनिश्चिताको अनुगमन र मूल्याङ्कन हुनेगरेको छ ।
सञ्चालक समितिका निर्णयहरूको कार्यान्वयन, व्यवस्थापकीय निर्णयहरूको कार्यान्वयनको नियमित अनुगमन तथा मूल्याङ्कन, कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन, प्रोत्साहन, पुरस्कार, पदोन्नति, दण्ड तथा जरिवानासमेतको नीतिगत व्यवस्था गरिएको छ । सम्बद्ध सबै पक्षलाई जिम्मेवार, उत्तरदायी, जवाफदेही, इमान्दार, उच्च नैतिक आचरणसहितको व्यवहारको सुनिश्चिता गर्न प्रयासरत छौं ।
झन्डै नव्ये वर्ष पुग्न लागेको संस्थामा इतिहासमा कहिलेकाहीँ केही अस्वाभाविक घटना भएका पनि हुन सक्छन् । हामी सञ्चालक समिति संस्थागत सुशासनको सुनिश्चिता र प्रवर्द्धनका लागि प्रतिबद्ध छौं। यसका निम्ति वैकमा अत्याधुनिक सूचना प्रविधिको प्रयोग र व्यावसायिक कार्यसंस्कृतिको विकास गर्दै रूपान्तरण गर्नुपर्ने चुनौतीसमेत देखिएको छ।
बैंकको आधुनिकीकरण, अत्याधुनिक सूचना प्रविधिको प्रयोगसहितको व्यावसायिक कार्यसंस्कृति बलियो बनाउन के कस्ता उपाय अवलम्बन गर्नुपर्ला ?
विद्यमान कार्यसंस्कृतिको कुरा गर्दा यदाकदा सरकारी संस्थान जस्तो-जस्तो आभास हुने गरेको पाइन्छ। यो माइन्डसेटको कुरा पनि हो। हो, हामी सरकारी सेयर स्वामित्व भएको बैंक हो। तर यो स्वायत्त व्यावसायिक संस्था पनि हो। यस बैंकमा हामी ग्राहकको सेवाका लागि छौं। अर्थात् हाम्रा लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिनुपर्ने हाम्रो दायित्व हो। उत्पादकत्व अभिवृद्धि गरेर कोषको लागत अर्थात् कस्ट अफ फन्डमा कमी ल्याई कर्जा ग्राहकहरूलाई प्रतिस्पर्धी बजारका तुलनामा सहज, सुलभ र कम व्याजदरमा कर्जा प्रवाह गर्न सक्षम हुनुपर्ने छ । ग्राहक सेवा गुणस्तरमा वृद्धि गरेर सवै नेपाली उद्योगी, व्यवसायी, उद्यमी, व्यापारी, संघसंस्था, पेसाकर्मी एवं सर्वसाधारणहरूको रोजाइको पहिलो बैंक बनाउने व्यावसायिक कार्यसंस्कृति बनाउनु नै अहिलेको हाम्रो चुनौती र अवसर हो ।
यस बैंकलाई पुरानो सरकारी बैंक भन्ने कतिपयको मानसिकतावाट माथि उठेर व्यावसायिक, अत्याधुनिक प्रविधिमा आधारित प्रतिस्पर्धात्मक सेवा सुविधा उपलब्ध गराई दिगो मुनाफा आर्जन गरेर लगानीकर्ताहरूका लागि समेत उचित प्रतिफल वितरण गर्न सक्ने संस्थाका रूपमा विकास गर्न जरुरी छ। नाफामूलक संस्थामा काम गर्ने हामी सबैले ग्राहकसेवाको गुणस्तर र हाम्रो पेसागत दक्षताको अभिवृद्धि गरी अविच्छिन्न सेवा प्रदान गर्नुपदर्छ। अर्को शब्दमा भन्नुपर्दा हामी सवैले विजनेस लाइक भएर काम गर्ने कार्यसंस्कृति बनाउनुपर्दछ ।
बैंकमा क्रियाशील युनियनहरूले समेत बैंकको श्रीवृद्धिमा, पेसागत हकहितमा, उत्पादकत्व वृद्धिमा सकारात्मक एवम् प्रेरणादायी योगदान गरी मर्यादित कार्यवातावरण सहितको कार्यसंस्कृति बनाउनमा सदाझै उहाँहरूको योगदान हुनेछ भन्ने विश्वास मैले लिएको छु ।
अन्त्यमा, पहिलो बैंकको ८९औं वार्षिकोत्सवका अवसरमा सरोकारवालाहरूलाई केही भन्न चाहनुहुन्छ ?
नेपालको पहिलो बैंक २०८२ कार्तिक ३० गतेदेखि आफ्नो ८८ वर्षे यात्रा पूरा गरी ८९औं वर्षमा प्रवेश गर्दै छ। अटुट सेवाको निरन्तरताका साथै अत्याधुनिक प्रतिस्पर्धात्मक वैकिङ सेवा सुविधासहित देशभर शाखा विस्तार गर्दै ७७वटै जिल्लाबाट सेवा प्रवाह गर्न प्रतिबद्ध छौं । नेपाल सरकार र अर्थमन्त्रालयलाई नीतिगत तथा निर्णय प्रक्रियामा भइरहेको निरन्तर सहयोगका लागि आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयसहितका सबै नियमनकारी निकायहरूलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
सम्पूर्ण सेवाग्राही तथा ग्राहक वर्गमा सम्मानसहित निरन्तर वैकिङ सेवा प्रदान गर्ने अवसर प्रदान गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्दै अझै अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । सेयरधनी महानुभावहरूले निरन्तर धैर्य धारण गरेर बैंकलाई उचित एवम् अधिकतम प्रतिफल वितरण गर्न सक्ने बैंक बन्नमा गरेको सहयोग र सहभागिताका लागि उच्च सम्मानसहित उचित प्रतिफल वितरण गर्न प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं ।
सम्पूर्ण व्यवस्थापक तथा कर्मचारीहरूलाई हालसम्मको बैंकको साखः एवम् श्रीवृद्धिमा पुऱ्याउनुभएको योगदानका लागि उच्च सम्मान प्रकट गर्दै हार्दिक बधाईसहित संस्थागत सुशासन कायम गर्दै अनुशासित, मर्यादित एवम् मिहेनतका साथ सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरूलाई निरन्तर उच्च गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने सफलता मिलोस्, हार्दिक शुभकामना !
बैंकको ८९ औं वार्षिकोत्सवको विशेष प्रकाशन वार्षिकोत्सव विशेषाङ्कमा मेरो अनुभव, धारणा, अपेक्षा र प्रतिबद्धता सहितको विचार समावेश गर्नुभएकामा यो प्रकाशनमा संलग्न सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ! नेपाल बैंक लिमिटेडसँग सम्बद्ध सम्पूर्ण सरोकारवालाहरूप्रति आभारसहित बैंकिङ सेवाको ८९ औं वर्ष प्रवेशका अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना !
(प्रस्तुत अन्तर्वाता नेपाल बैंकको ८९ औं वार्षिकोत्सवको विशेष प्रकाशन वार्षिकोत्सव विशेषाङ्कबाट लिएको हो।)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)







प्रतिक्रिया