पृथ्वीराजमार्गमा सवारी आवागमन गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
- BFIS News
- 2025 Nov 22 16:00
तनहुँ, मङ्सिर ६ – पृथ्वीराजमार्गको पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलमा ‘ग्रीडर लन्चिङ’ कार्य सुरु भएपछि मुग्लिन–पोखरा खण्ड शनिबारदेखि मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द गरिएको छ।
मुख्य यातायात मार्ग भएकाले बिहान ६–८ बजे र दिउँसो १२–२ बजे पूर्ण वा आंशिक रूपमा सवारी रोकिएको छ। योजना कार्यालयले वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीयवासी र यात्रुहरूलाई आग्रह गरेको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, अवस्था हेरी प्रत्येक ३० मिनेटमा ट्राफिक खुलाउने व्यवस्था पनि मिलाइएको छ।
दुई पाङ्ग्रे र साना सवारीका लागि बुढीबजार–बेलचौतारा–चाउथे मार्ग खुला गरिएको छ भने ठूला सवारीले लेखनाथ पावर हाउस चोक–बागमारा–बिरौट मार्ग प्रयोग गर्नुपर्नेछ।
सङ्घीय राजधानी काठमाडौँ र पर्यटकीय गन्तव्य पोखरालाई जोड्ने यो मार्ग अहिले मुग्लिन–पोखरा सडक योजना अन्तर्गत तीव्र गतिमा स्तरोन्नति हुँदैछ। पोखरा–जामुने पश्चिम खण्डमा सडक विस्तार र कालोपत्रे काम उल्लेख्य प्रगति भएको छ। ३८ किमि लामो खण्डमा ३७ किमि एकतर्फी कालोपत्र पूरा भइसकेपछि स्थानीयवासी, व्यापारी र दैनिक यात्रुले यात्रा सहज र सुरक्षित भएको अनुभव गरिरहेका छन्।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितका अनुसार, कालोपत्रे कार्य सकिएको क्षेत्रहरूमा यातायात निर्बाध र सजिलो भएको छ। आयोजनाको इन्जिनियर सहनशीला कायस्थले भनेकी छन् कि समग्र भौतिक प्रगति करिब ५९.८९ प्रतिशत, जबकि वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ।
हालसम्म २९.६१ किमि चार लेन र ७.७९ किमि दुई लेन सडक कालोपत्रे सम्पन्न भइसकेको छ। यसमध्ये १८.८ किमि दुई लेन सडकमा दोस्रो ‘अल्फाट’ तह पुरा भएको छ। सर्भिस लेनमा पनि ३.०४ किमि कालोपत्र सकिएको छ। चालु आर्थिक वर्षमै १४ किमि कालोपत्रे कार्य सम्पन्न हुँदा यातायात अझ सुगम भएको छ।
योजनाअन्तर्गत कल्भर्ट र पुल निर्माण पनि समानान्तर रूपमा अघि बढेका छन्। १०५ कल्भर्टमध्ये अधिकांश काम सकिएको छ भने पश्चिम खण्डका १२ पुलमध्ये ११ वटा पूरा भइसकेका छन्। पोखराको सेती नदीमा निर्माण भइरहेका पुलमा ५१.६१ प्रतिशत प्रगति भएको छ। आवश्यक चार पाइलक्याप र १२० पाइल निर्माण भइसकेका छन्, जसले पुल निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ।
सडक र पुल निर्माण, कालोपत्रे, नाला तथा संरचनागत काममा दैनिक ६ सय मजदुर काम गर्दै आएका छन्। मासिक रूपमा झन्डै १८ हजार मजदुर रोजगारी पाउने गरी काम अघि बढिरहेको छ। २० जना परामर्शदाता प्राविधिक काममा खटिएका छन्।
लक्ष्यअनुसार, सेतीपुल–तल्लो गगनगौँडा, दुलेगौंडा र खैरेनीटार क्षेत्रमा ६ लेन सडक निर्माण हुनेछ भने अन्य क्षेत्रमा ४ लेनको आधुनिक सडक बनाइँदैछ। नाला निर्माणमा ५१.५ किमि लक्ष्यमध्ये ४५.२ किमि कार्य सम्पन्न भइसकेको छ।
यद्यपि, केही अवरोधका कारण काम प्रभावित भएका छन्। विशेष गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संरचना, पाईभेट टास्क हाइड्रोल प्रणाली, खानेपानी संरचना सार्ने प्रक्रिया, रुख कटानी अनुमति र स्थायी संरचना हटाउन ढिलाइले प्रगति सुस्त भएको छ। सेतीपुल उत्तरतर्फ तीन घर हटाउन बाँकी हुँदा त्यहाँ काम रोकिएको छ।
२०७८ जेठ ३ गते सम्झौता भएको यस खण्डको काम आगामी पुस १६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडक बन्दका कारण असुविधा भए पनि स्तरोन्नति तीव्र गतिमा अघि बढिरहेको योजना कार्यालयले जनाएको छ। यसका परिणामस्वरूप चाँडै यात्रुहरूले आधुनिक र सुरक्षित राजमार्गको अनुभव गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpeg)






प्रतिक्रिया