NIMB Header 2
Nepal Life

छातीको सङ्क्रमण बढेपछि पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पतालमा भर्ना

National Life
  • BFIS News
  • 2025 Nov 25 11:37
छातीको सङ्क्रमण बढेपछि पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पतालमा भर्ना
Sanima Reliance

ढाका, मंसिर ८ — बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ। बङ्गलादेश न्युज २४ का अनुसार आइतबार राति स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएकी जियाको प्रारम्भिक जाँचपछि तुरुन्तै उपचार सुरु गरिएको हो।

Shikhar
NIMB

उहाँलाई निजी क्याबिनमा राखेर सघन चिकित्सा निरीक्षण भइरहेको छ। मेडिकल बोर्डका सदस्य डा. एफ. एम. सिद्दीकीका अनुसार आगामी १२ घण्टा नै उनको स्वास्थ्यका दृष्टिले अत्यन्त महत्वपूर्ण रहने छ। “खालिदा जिया पछिल्ला महिनाहरूमा बारम्बार अस्वस्थ बन्नुभएको छ। यसपालि विभिन्न समस्या एकसाथ देखिएपछि तुरुन्तै भर्ना गर्नुपर्‍यो,” उनले भने।

डा. सिद्दीकीका अनुसार पुरानै मुटुका समस्या तथा हालको छातीको सङ्क्रमण एकैपटक सक्रिय हुँदा अवस्थालाई जटिल बनाएको छ। “उहाँसँग स्थायी पेसमेकर छ, मुटुको स्टेन्टिङ भइसकेको छ। अहिले मुटु र फोक्सो दुवै प्रभावित भएकाले श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ,” उनले जानकारी दिए।

अस्पताल आइपुग्नेवित्तिकै आवश्यक परीक्षणहरू पूरा गरिएको थियो। प्रारम्भिक रिपोर्ट आएपछि मेडिकल बोर्डले एन्टिबायोटिक सुरु गर्ने र द्रुत तथा गहन हेरचाह प्रदान गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ। आगामी २४ घण्टाभित्र थप परीक्षणका नतिजा आउने अपेक्षा गरिएको छ।

उहाँलाई साँझ ८ बजे भर्ना गरिएको थियो र एभरकेयर अस्पतालका वरिष्ठ विशेषज्ञ प्रोफेसर साहाबुद्दिन तालुकदारको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। भर्नापछि डा. सिद्दीकी, डा. जफर इकबाल, डा. जियाउल हक, डा. मामुन अहमद, सेवानिवृत्त ब्रिगेडियर जनरल सैफुल इस्लाम, विदेशबाट आएकी डा. जुबैदा रहमान तथा संयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स अस्पतालका विज्ञहरू समेत सहभागी हुने गरी विस्तारित मेडिकल बोर्डको बैठक बोलाइएको थियो।

पूर्व प्रधानमन्त्री जियाकी निजी चिकित्सक तथा बिएनपी स्थायी समितिका सदस्य प्रोफेसर एजेडएम जहिद हुसेनले उपचार अत्यन्त सावधानीपूर्वक भइरहेको बताए। “हामी अहिले कुनै गम्भीर प्रतिकूल घटनाक्रमबारे चिन्तित छैनौँ। उपचार सुरु भइसकेकाले मेडिकल बोर्ड १२ घण्टापछि पुनः बसेर आवश्यक परे हेरचाहमा परिवर्तन ल्याउनेछ,” उनले भने।

शनिबारदेखि लन्डनमा रहेका तारिक रहमान तथा जियाकी बुहारी डा. जुबैदा रहमान अस्पतालसँग निरन्तर सम्पर्कमा रहेको बुझिएको छ। दिवङ्गत अराफात रहमान कोकोकी श्रीमती सैदा शमिला रहमानसहित परिवारका अन्य सदस्यहरू पनि उपचार प्रक्रियामा सक्रिय छन्।

७९ वर्षीया खालिदा जिया लामो समयदेखि गठिया, मधुमेह, मिर्गौला, फोक्सोसम्बन्धी समस्या र दृष्टि कमजोर हुने जस्ता स्वास्थ्य चुनौतीसँग जुध्दै आएकी छन्। उनी गत जनवरी ७ मा उन्नत उपचारका लागि लन्डन गएकी थिइन् र ११७ दिनपछि मे ६ मा बङ्गलादेश फर्किएकी थिइन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया