Nepal Life

लमजुङ कारागार मर्मत नहुँदा कैदीबन्दी महिनौँदेखि बाहिरी जिल्लामा बस्न बाध्य

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 15:21
लमजुङ कारागार मर्मत नहुँदा कैदीबन्दी महिनौँदेखि बाहिरी जिल्लामा बस्न बाध्य
National Life

लमजुङ, मङ्सिर १० गते। गत असारमा भत्किएको लमजुङ कारागारको मर्मतकार्य सुरु नहुँदा यहाँका कैदीबन्दी चार महिनादेखि तनहुँ र कास्कीका कारागारमा बस्न बाध्य भएका छन्। जिल्लाबाट टाढा बस्नुपर्दा उनीहरूले अदालत पेशी, स्वास्थ्य उपचार र आफन्तसँगको भेटघाटमा समस्या भोगिरहेका छन्।

Shikhar
NIMB

दशैंअघि पर्खाल मर्मत गरी कैदीबन्दीलाई लमजुङ फर्काइने प्रशासनको लिखित प्रतिबद्धता भए पनि मङ्सिरको पहिलो हप्ता बित्दासम्म कारागार मर्मत सुरु हुन सकेको छैन।

गत असार ३२ गते पर्खाल भत्किएपछि १०८ जना कैदीबन्दीलाई तनहुँ र कास्की कारागारमा अस्थायी रूपमा स्थानान्तरण गरिएको थियो। उनीहरूले जिल्लामै छिट्टै फर्काइने लिखित आश्वासन पाएपछि मात्र स्थानान्तरण स्वीकार गरेका थिए। तर, चार महिना बितिसक्दा पनि मर्मतको कुनै प्रगति नदेखिएको उनीहरूको गुनासो छ।

कैदीबन्दीका आफन्तले भेटघाट, अदालत हाजिरी र उपचारमा समस्या परेको भन्दै चासो व्यक्त गरेका छन्।
फेडरल शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले पठाएको प्राविधिक प्रतिवेदनअनुसार पुरै कारागार पुनर्निर्माणका लागि १७ करोड ७४ लाख रुपियाँ लाग्नेछ। केवल पर्खाल मर्मतका लागि मात्रै १ करोड ३२ लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

तर, प्राविधिक प्रतिवेदन आएपछि टेण्डर, छलफल वा निर्माण प्रक्रिया कुनै अगाडि नबढेको सरोकारवालाहरूको आरोप छ। प्रशासनिक ढिलासुस्तीले कैदीबन्दीहरू लामो समय अन्यत्र बस्न बाध्य भएको उनीहरूको तर्क छ।

वि.सं. २०२८ मा बनेको लमजुङ कारागार ३५ जनाको क्षमता भए पनि पछिल्ला वर्षमा तीनगुना बढी कैदी राखिँदै आएको थियो। संरचना अत्यधिक जीर्ण भएपछि कैदीबन्दीलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको हो।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कारागारको डीपीआर बनाउन पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरिएको र आवश्यक बजेटका लागि गृह मन्त्रालयमा माग पठाइएको जानकारी दिनुभयो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया