Nepal Life

सोह्र श्राद्ध (पितृ पक्ष) सुरु, श्राद्ध नगरे के हुन्छ ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sat 07:49
सोह्र श्राद्ध (पितृ पक्ष) सुरु, श्राद्ध नगरे के हुन्छ ?
Sanima Reliance

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । 

NIMB

प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । 

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतम बताउछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताए । 

कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ । 

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।  

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए ।  

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । 

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।   

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

कसको श्राद्ध कहिले ?

हुन त दिवंगत पितृलाई सम्झनका लागि कुनै विशेष दिन नै कुर्नुपर्छ भन्नै छैन । यद्यपि हाम्रो हिन्दू संस्कारले केही तिथि भने पितृप्रति श्रद्धा कायम राख्नका लागि उनीहरुका नाममा दान, धर्म र कर्म  गर्ने विशेष अवसर जुटाइदिएको छ ।

सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् ।  जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ मोक्ष अमावस्याका दिन अर्थात् आश्विन कृष्ण पक्षको औंसी तिथिमा श्राद्ध गर्छन् ।

पञ्चमी तिथिमा अविवाहित स्थितिमा मृत्यु भएकाहरुको श्राद्ध गरिन्छ । नवमी तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवंगत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।

एकादशी एवं द्वादशी तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले सन्यास लिएका छन् । चतुर्दशी श्राद्ध अकाल मृत्यु भएकाहरुका लागि गरिन्छ ।

प्रतिपदा तिथि मावलीका बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ ।

विशेषगरी बुवा वा हजुरबुवाको मृत्यु तिथि पारेर श्राद्ध गर्ने चलन छ । यसमा सामान्य आफ्नो कूलका तीन पुस्ता अर्थात् बुवा, हजुरबुवा र बुढो हजुरबुवा तथा मावलीतर्फ तीन पुस्ता अर्थात् मावली हजुरबुवा, बुढो हजुरबुवा र कुप्रो हजुरबुवालाई पत्नीसहित पिण्ड प्रदान गरिन्छ ।

तर्पण भने आफू शास्त्रले निर्देश गरेबमोजिम सबैलाई दिइन्छ । पितृपक्षमा प्रतिपदादेखि औंसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो, तर यस पक्षको चतुर्दशी तिथि र संयोगवश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय मान्यता पाइन्छ ।

सोह्र श्राद्धमा के गर्ने, के नगर्ने ?

श्राद्धभन्दा एकदिन अगाडि नङ, कपाल आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिन अगाडिको दिनलाई ‘एकछाकी’ भन्ने गरिन्छ । श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन ।

त्यस्तै हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि निषेध गरिएको छ । एकछाकी र श्राद्धका दुवै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नु हुँदैन । उक्त दुवै दिन शरीरमा सुन, तेल र साबुनको संसर्ग गर्नु हुँदैन ।

पूर्ण ब्रहृमचार्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राति पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ । यसैगरी यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ ।

पद्म पुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ भन्ने छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नू अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नू, श्राद्धको दिन घरमा दही नमथ्नु, श्राद्धकै दिन कपाल नकाट्नु भनिएको छ ।

महाभारतका अनुसार भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सरस्युँ र चनाको प्रयोग निषिद्ध छ । पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर इनार वा कुवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन ।

घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर सर्ने, विवाह गर्ने र विवाहको कुरा झिक्नसमेत वर्जित छ । भूमि पूजन, इनार पूजा, सन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।

श्राद्धमा प्लास्टिक, स्टील र फलामका भाँडाकुँडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै केराको पात पनि चलाउनु हुँदैन । कर्ताको सामर्थ्यअनुसार श्राद्धमा सुन, चाँदी, काँस वा तामाका पात्र अथवा सालको पातले बनेका दुना टपरीको प्रयोग गर्न सकिन्छ ।

श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । तर अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता छ

यस्तो छ धार्मिक विधि

पितृपक्ष सूर्य दक्षिणायन भएको बेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्ति प्रदान गर्दछन् । त्यसैले पनि पितृहरू आफू दिवंगत भएको तिथिका दिन आफ्ना सन्ततीहरूबाट आफ्नो उद्धारको आकंक्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवंगत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन् ।

पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्नु पर्दछ । तैत्तिरीय संहितामा बताइएअनुसार सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो । अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दाहिने काँधमा जनै भिरेर दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।

कुनै पनि श्राद्धमा गंगाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो, कुश र तिल महत्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।

प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । तर अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने आँगनमा बनाइएको तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन ।

श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । यसमा तुलसी, भृङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि फूलहरू ग्राहृय मानिन्छन् । केत्तकी, करवीर, बकुल, कुन्दक र रातो रङका अन्य फूलहरू प्रयोग गर्नु हुँदैन ।

जसको जन्मकुण्डलीमा सूर्य र राहु वा केतु ग्रहको युतिसम्बन्ध छ  त्यस्तो व्यक्तिलाई पितृदोष रहेको छ भन्ने गरिन्छ । यसबाहेक नीच सूर्य, शनिबाधित सूर्य वा शनिको घरमा रहेको सूर्य हुँदा पनि पितृदोष नै ठहर्याउने गरिन्छ । यसरी पितृदोष हुँदा टाउको वा दिमागी बिमारी, निर्णय क्षमतामा कमी, धन नटिक्ने, उन्नतिप्रगतिमा रोकावट आदि विभिन्न बाधा ब्यहोर्नु पर्ने हुन्छ । पितृपक्षमा श्राद्धकर्मद्वारा पूर्वजहरूलाई दिवंगत भएको तिथिअनुसार पिण्डदान, तर्पण आदि गर्नाले पितृदोषबाट मुक्ति पाइन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया