जेनजी आन्दोलनपछिको नेपाली बिमा क्षेत्रः अवसर र सम्भावना, हिमालयन एभरेष्टकी सिइओ अनु श्रेष्ठको विचार
- अनु श्रेष्ठ
- 2025 Dec 05 18:14
अर्थतन्त्रका योगदानकर्ता ठूला व्यापार, व्यवसाय एवं उद्योगमा बिमा क्षेत्रले समयमै सहयोग दाबी भुक्तानी पुऱ्याएर देशको आर्थिक पुनरूत्थानमा योगदान दिने र गर्विलो इतिहास बनाउने अवसर छ ।
२०८२ भदौ महिना नेपालको सामाजिक र आर्थिक इतिहासमै अविस्मरणीय भएर रहनेछ। जेनजी आन्दोलन र त्यसपछिको परिवर्तनले देशैभरि एक नयाँ जागरणको छाप छाडेको छ । समग्र बिमा क्षेत्रले ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिए पनि यसले बिमा क्षेत्रमा नयाँ व्यावसायिक ऊर्जा र महत्वपूर्ण दिशासमेत प्रदान गरेको पाइएको छ ।
यो परिस्थितिले आमजनमानस र सरोकारवालालाई बिमाको वास्तविक मूल्य र टड्कारो आवश्यकताको विषय नयाँ सिराबाट हेर्ने मौका जुराउनुका साथै यस क्षेत्रलाई परिवर्तनको अवसर दिएको छ। यसले बीमक कम्पनीलाई समेत चुनौती थपिदिएको छ। यो परिवर्तनले नेपालको बिमा उद्योग, विशेषगरी निर्जीवन बिमा कम्पनीमा इतिहासकै सबैभन्दा ठूलो दाबीको भार ल्याएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार यस घटनाबाट दाबी रकम २०७२ भूकम्प र कोभिड-१९ महामारीको समयको दाबीभन्दा पनि बढी रहेको छ। यो परिस्थितिले बिमा क्षेत्रलाई पुनः एकपटक एकैपटक धेरै ठूला दाबीहरु व्यवस्थापन गर्ने अग्निपरीक्षाको समयमा उभ्याइदिएको महसुस पनि गराएको छ ।
नेपालको निर्जीवन बिमा बजार करिब ४५ अर्ब रूपैयाँ हाराहारी छ । विश्वबजारको तुलनामा नेपालको यो बिमा बजार सानो आकारको हो। तथापि, सानो बजारमा पनि बिमाका यति ठूला दाबी व्यवस्थापन गर्न सक्ने क्षमता हामीले देखाएका छौं । हाम्रोजस्तो सानो आकारको बजारले सीमित स्रोतमा पनि ठूला जोखिम व्यवस्थापन गर्न सक्षम छ भन्ने विश्व बजारमै उदाहरण बनेको छ । साथै, यसले नेपाली बिमा उद्योगको सामर्थ्यलाई पनि अन्तर्राष्ट्रिय स्तरमै उजागर गरिदिएको छ भन्दा कुनै फरक पर्दैन ।
आन्दोलनबाट भएको असरका कारण आएको बिमा दाबीको रकम करिब २४ अर्ब रूपैयाँ नाघिसकेको छ। अहिलेसम्म १६ प्रतिशत अर्थात् करिब ४ अर्ब रूपैयाँको दाबी भुक्तानी गरिसकिएको छ। यो किसिमको दाबी भुक्तानीको क्षमता र चुस्त रेसपोन्स' ले नेपालको बिमा उद्योगले देशको संकटकालीन समयमा ठूलो भूमिका खेल्न सक्छ भनेर प्रमाणित गरेको छ। अर्थतन्त्रमा मुख्य योगदान गर्ने ठूला व्यापार, व्यवसाय र उद्योगलाई बिमा क्षेत्रले समयमै सहयोग दाबी भुक्तानी पुन्याउँदै देशको समग्र आर्थिक पुनरूत्थानमा योगदान दिएको गर्विलो इतिहास बनाउने मौका पनि यसै अवस्थाले दिएको छ ।
यो घटनाले सम्पत्ति र व्यवसायको सुरक्षाप्रतिको बुझाइमा परिवर्तन ल्याउनुका साथै बिमाको महत्वप्रति पनि मानिसमा जागरूकता ल्याएको छ । आमजनता र व्यवसायीले अब बिमाको आवश्यकता र मूल्यलाई अझ गम्भीरतापूर्वक लिन सक्छन् । अहिले बिमा कम्पनीका लागि नयाँ ग्राहकलाई बिमाको दायरामा समेट्ने र आवश्यकताअनुसारका प्रडक्ट विकास गरेर सम्पत्तिको सुरक्षा गरी देशको आर्थिक सुरक्षामा योगदान पुन्याउने उत्तम अवसर हो ।
यस आन्दोलनले सहकार्य र सामूहिक प्रयासको महत्वबारे पनि पाठ सिकाएको छ। बिमा कम्पनीहरुले पुनर्बिमा कम्पनी, सरकारी गैरसरकारी निकाय र अन्य हिताधिकारीसँग हातेमालो गर्दै काम गर्ने अवसर पनि हो, यो। यसले नयाँ जोखिमका लागि समाधान विकास गर्न, सामूहिक जोखिम पुल सिर्जना गर्न र दीर्घकालीन सुरक्षा प्रणाली निर्माण गर्नसमेत मद्दत गर्नेछ ।
बिमा क्षेत्रले डिजिटल दाबी प्रक्रिया, अनलाइन बिमा सेवा र मोबाइल एप्लिकेसनजस्ता नवीनतम प्रविधिहरु प्रभावकारी रूपमा आत्मसात गर्न सक्नुपर्छ । यसले ग्राहक सेवालाई स्तरोन्नति गर्नुको साथै बिमा पहुँचलाई दूरदराजका समुदायसम्म फैलाउन मद्दत गर्नेछ । यो समयले हामीलाई आफूमा र देशमा विश्वास कायम राख्ने, एकअर्कासँग सहकार्य गर्ने, नयाँ अवसर सिर्जना गर्ने र सामूहिक रुपमा समस्या समाधान गर्ने माहोल बनाउने अवसर दिएको छ । हामीले यसलाई बिमा क्षेत्रमा सकारात्मक परिवर्तनको सहयोगीका रुपमा हेर्दै छौं ।
हामीले अब जोखिमको मूल्यांकन र प्रिमियम दर निर्धारणलाई समयसापेक्ष तथा वैज्ञानिक बनाउनुपपर्छ । प्रविधिमा लगानी बढाएर डिजिटल दाबी प्रक्रिया, युवा अनुकूल उत्पादन गरी नयाँ पुस्ताको आवश्यकता पूरा गर्ने बिमा योजना ल्याउनुपर्छ । साना बीमांकले ठूला जोखिमको समेत सामना गर्न सक्ने गरी पुनर्बिमा प्रणालीलाई पनि बलियो बनाउनुपर्छ ।
बिमा क्षेत्रले डिजिटल दाबी प्रक्रिया, अनलाइन बिमा सेवा र मोबाइल एप्लिकेसनजस्ता नवीनतम प्रविधि प्रभावकारी रूपमा आत्मसात् गर्न सक्नुपर्छ । यसले ग्राहक सेवालाई स्तरोन्नति गर्नुका साथै बिमा पहुँचलाई दूरदराजका समुदायसम्म फैलाउन मद्धत गर्नेछ ।
नेपाली बिमा क्षेत्र अहिले गम्भीर परीक्षणको घडीमा छ। यो हाम्रा लागि केवल दाबी भुक्तानी गर्ने मात्र होइन । राष्ट्र निर्माणमा लागेका उद्यमी, साना व्यवसायी र सामान्य नागरिकको विश्वास एवं सुरक्षा कायम राख्ने जिम्मेवारी पनि हो । भाटभटेनी, चौधरी ग्रुप, हिल्टन होटलजस्ता अनेकौँ व्यवसायले विषम परिस्थितिमा आफ्नो व्यवसाय पुनःसञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइसकेको परिप्रेक्ष्यमा बीमकहरुले पनि व्यवसायीलाई आफ्नो क्षेत्रबाट यथासक्य सहयोग गर्ने र देशको आर्थिक पुनरूत्थानमा सहयोग पु-याउने प्रतिज्ञा गर्नुपर्छ ।
जेनजी आन्दोलनपछि व्यापार, व्यवसायमा परेको असरले नेपालको बिमा क्षेत्रलाई रूपान्तरणको अवसर दिएको छ । त्यसैले हामीले यसलाई समस्या वा संकटको रूपमा होइन कि बिमा क्षेत्रलाई अझ मजबुत, पारदर्शी, प्रविधियुक्त र ग्राहक-केन्द्रित बनाउने अवसरका रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ । बलियो, विश्वसनीय र उत्तरदायी बिमा प्रणाली निर्माण गर्ने अवसर सदुपयोग गर्नुपर्नेछ ।
(श्रेष्ठ हिमालय एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । प्रस्तुत लेख आर्थिक पत्रकार समाजले प्रकाशन गरेको अर्थनीति, सेजन स्मारिका २०८२ बाट लिइएको हो)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया