NIMB Header 2
Nepal Life

बीमा कम्पनीको मुद्दती निक्षेप ‘एयरमार्क’ प्रणाली स्वचालित बनाइँदै, एपिआइ इन्ट्रेगेसनका लागि बैंकहरुलाई आह्वान

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 01 21:44
बीमा कम्पनीको मुद्दती निक्षेप ‘एयरमार्क’ प्रणाली स्वचालित बनाइँदै, एपिआइ इन्ट्रेगेसनका लागि बैंकहरुलाई आह्वान
National Life

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा गर्ने मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट–एफडी) लगानीलाई थप पारदर्शी, सुरक्षित र स्वचालित बनाउने उद्देश्यले ‘एयरमार्क सिस्टम’ लाई क्रमशः सुधार तथा विस्तार गर्दै लैजाने भएको छ।

Shikhar
NIMB

यसै क्रममा नेपाल बीमा प्राधिकरणले बीमकहरूको मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट–एफडी) लगानीमा लागू हुँदै आएको एयरमार्क प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने उद्देश्यले API Integration सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, बैंक तथा वित्तीय संस्था, बीमक, प्राविधिक सेवा प्रदायक (Vendor) तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बीमकहरूको लगानीसम्बन्धी निर्देशनअनुसार बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा गर्ने मुद्दती निक्षेप प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच नोभेम्बर ११, २०२५ मा API Integration सम्बन्धी सम्झौता भएको थियो।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले API Integration पश्चात मुद्दती निक्षेपको एयरमार्क प्रक्रिया पूर्ण रूपमा स्वचालित, छरितो र त्रुटिरहित हुने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई समेत यस प्रणालीमा आबद्ध हुन आग्रह गरे।

नबिल बैंकको तर्फबाट बैंकले API Integration गर्दा अवलम्बन गरेको प्रक्रिया, प्राविधिक संरचना तथा यसबाट प्राप्त उपलब्धिहरूबारे प्रस्तुतीकरण गरिएको थियो। त्यस्तै, प्राधिकरणका उपनिर्देशक रविन्द्र श्रेष्ठले एयरमार्क तथा API Integration गर्दा ध्यान दिनुपर्ने प्राविधिक पक्षबारे छलफल गरेका थिए।

प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनका अनुसार हाल लागू प्रणालीअनुसार सुरुमा बीमा कम्पनीले बैंकमा मुद्दती खाता खोल्न आवश्यक कागजातहरू अपलोड गरी बीमा प्राधिकरणको एयरमार्क सिस्टममार्फत अनुरोध (रिक्वेस्ट) पठाउँछन्। त्यसपछि प्राधिकरणले ती कागजातहरू जाँच तथा भेरिफिकेसन गरी सम्बन्धित बैंकमा पठाउने प्रक्रिया हुन्छ।

बैंकले प्राधिकरणबाट प्राप्त सो अनुरोधलाई आफ्नो कोर बैंकिङ सिस्टम (CBS) मार्फत ब्लक गर्ने कार्य गर्दछ। यसरी ब्लक गर्ने प्रक्रिया तीन चरणमा सम्पन्न हुन्छ। त्यस्तै, अनब्लक (रिलिज) गर्दा बीमा कम्पनीले मुद्दती निक्षेप म्याच्योर हुनु भन्दा कम्तीमा ७ दिन अगाडि प्राधिकरणमा अनुरोध पठाउनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। सो अनुरोध आवश्यक कागजातसहित प्राधिकरणले भेरिफाइ गरेपछि बैंकलाई इमेल वा सिस्टममार्फत जानकारी दिइन्छ र बैंकले सीबीएस प्रणालीबाट अनब्लक गर्ने कार्य गर्दछ।

लगानी निर्देशिकाअनुसार बीमा कम्पनीहरूले बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्न पाउने व्यवस्था छ। यस क्रममा एफडी एयरमार्क अनिवार्य गरिएको छ। पहिले पत्र काटेर, म्यानुअल रूपमा चेक गर्नुपर्ने प्रक्रिया रहेकामा अब डिजिटल प्लेटफर्ममार्फत लिङ्क गरिएको प्रणाली विकास गरिएको हो।

यसको पाइलट स्टडी नबिल बैंकसँग गरिएको थियो। नबिल बैंकसँग एपिआइ (API) मार्फत प्रणाली जोड्दा शाखा, मानवीय स्रोत, सिस्टम सेक्युरिटी र समय व्यवस्थापनमा ठूलो सुधार आएको प्राधिकरणको निष्कर्ष छ। नबिल बैंकसँगको सहकार्य सफल भएपछि आगामी दिनमा अन्य बैंकहरूलाई पनि यस्तै प्रणालीमा जोडिन अनुरोध गरिएको छ।

महर्जनका अनुसार बैंकहरूको आइटी शाखासँग छलफल गरी निर्देशिकामा उल्लेख भएका एपिआइ, तथ्यांक संकलनमा देखिएका कठिनाइ तथा विद्यमान समस्याहरूको समाधानतर्फ प्राधिकरण अघि बढिरहेको छ। हालको व्यवस्थाअनुसार एफडी खोलेपछि ७ दिनभित्र प्राधिकरणलाई जानकारी दिनुपर्ने व्यवस्था भए पनि अब बैंकमै मुद्दती निक्षेप जम्मा भएपछि सो विवरण स्वतः प्राधिकरणको प्रणालीमा देखिने गरी व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

एपिआइमार्फत बैंक र प्राधिकरणको प्रणाली जोडिँदा कोर बैंकिङ सिस्टममै एफडीसम्बन्धी विवरण देखिने, अटोमेसन हुने र रिपोर्टिङ सहज हुने महर्जनको भनाइ छ। सुरुवातमा प्राविधिक खर्च लागे पनि भविष्यमा मानवीय सहभागिता घट्ने र प्रत्येक एयरमार्कको रिपोर्टिङ छिटो तथा भरपर्दो हुने उनको विश्वास छ।

अबका दिनमा बैंकमा बीमा कम्पनीले एफडी खोल्ने वित्तीकै त्यसको जानकारी तत्काल बीमा प्राधिकरणमा पुग्ने गरी प्रणाली निर्माण गर्ने सोच रहेको महर्जनले जानकारी दिए। यस विषयमा सरोकारवाला निकायसँग बृहत छलफल गर्दै अगाडि बढिने पनि उनले बताए।

कार्यक्रमको समापन गर्दै प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले एयरमार्क प्रणाली तथा API Integration सम्बन्धी छलफल अत्यन्त उपयोगी र सान्दर्भिक रहेको बताए। उनले आगामी दिनमा यस प्रणालीलाई अझ प्रभावकारी बनाई बीमा नियमन तथा निरीक्षणलाई थप दक्ष र पारदर्शी बनाउने आवश्यकता औंल्याउँदै सबै बीमक तथा बैंक तथा वित्तीय संस्थालाई समयमै आवश्यक सुधार गर्न र API Integration मा आबद्ध हुन आग्रह गरे। उनले कार्यक्रममा गरिमामय उपस्थितिका लागि सबैलाई धन्यवाद व्यक्त गरे। उक्त कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक निर्देशक गोकुल राज दहालले गरेका थिए।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया