सेयरधनीको बोनस घटाएर भए पनि नेपाल लाइफका बीमितलाई न्यूनतम ६५ रुपैयाँभन्दा माथि बोनस दिन गणेश अधिकारीको आग्रह
- BFIS News
- 2026 Jan 03 14:01
काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले सेयरधनीको बोनस घटाएर भए पनि बीमितलाई न्यूनतम ६५ रुपैयाँभन्दा माथि बोनस दिन आग्रह गरेका छन्। कम्पनीको २५औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष अधिकारीले आगामी वर्षका लागि सेयरधनीको बोनस घटाएर भए पनि बीमितलाई न्यूनतम ६५ रुपैयाँभन्दा माथि बोनस दिन आग्रह गरेका हुन्। “एक वर्ष बोनस नखुवाए पनि हामी तयार छौं, तर पुराना पोलिसीधारक बीमितको सम्मान हुनुपर्छ,” उनले भने।
कम्पनीको ११औं पृष्ठमा उल्लेख गरिएका दृष्टिकोण र उद्देश्यहरू प्रशंसनीय रहेको बताए। “एक सशक्त जीवन बीमा कम्पनीमार्फत प्रत्येक परिवारको सुरक्षा र समृद्धिको चाहना पूरा गर्दै आर्थिक रूपमा सुरक्षित बनाउने र स्वस्थ, समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्य स्पष्ट रूपमा लेखिएको छ,” उनले भने।
तर ती उद्देश्यअनुसारको व्यवहार भने अनुभूति हुन नसकेको उनको भनाइ थियो। “लक्ष्य राम्रा छन्, तर व्यवहारमा त्यति देखिएको छैन,” भन्दै उनले कम्पनीले सेयरधनीलाई बोनस दिन कन्जुसी नगरे पनि बीमितप्रति भने अपेक्षित ध्यान नदिइएको जिकिर गरे।
हालै कम्पनीले सेयरधनीलाई दिएको १६.५ प्रतिशत र ५ प्रतिशत गरी कुल २१ प्रतिशत बोनसप्रति खुसी व्यक्त गर्दै अधिकारीले आफू २०५८ सालदेखि नै नेपाल लाइफको बीमित भएको स्मरण गराए। “६५ रुपैयाँ छाप लागेको पुरानो पोलिसी अहिले पनि मेरो दराजमा छ,” उनले भने।
उनले बोनसमा मात्रै केन्द्रित हुने कि कम्पनीका समग्र प्यारामीटर मिलेर अघि बढेको छ कि छैन भन्ने प्रश्न पनि उठाए। “२५ करोडबाट हजार करोडको कोष बनाइसक्दा अब बीमितलाई हेर्ने कुरामा कन्जुसी भइरहेको त छैन?” उनले प्रश्न गरे।
२६औं वार्षिक साधारणसभाको अवसरमा कर्मचारी, अभिकर्ता, बीमित र सेयरधनी सबैलाई खुसी पार्ने कार्ययोजना ल्याउने अघिल्लो वर्ष गरिएको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। २५ वर्षसम्म निरन्तर सेवा गरेका अभिकर्ता र कर्मचारीलाई सम्मान गर्ने अपेक्षा भए पनि त्यो नदेखिएको उनको भनाइ थियो।
अभिकर्ता पलायनप्रति पनि अधिकारीले चिन्ता व्यक्त गरे। एक समय करिब दुई लाख रहेका नेपाल लाइफका अभिकर्ता घटेर ६३ हजार, त्यसपछि ३१–३२ हजारमा सीमित हुनु चिन्ताजनक भएको उनले बताए। “अन्य कम्पनीका अभिकर्ता बढ्दै जाँदा नेपाल लाइफका किन घट्दै छन्? ट्र्याक कतै बिग्रेको त छैन?” उनले प्रश्न गरे।
नेपालका १४ बीमा कम्पनीमध्ये अन्य कम्पनीका अभिकर्ता ‘टप अफ द टेबल’ (TOT) मा देखिँदा नेपाल लाइफका अभिकर्ता सो स्तरमा पुग्न नसक्नु पनि व्यवस्थापनका लागि सोच्ने विषय भएको उनले उल्लेख गरे।
कार्यक्रममा उपस्थित सञ्चालक समितिलाई सम्बोधन गर्दै अधिकारीले भने, “हामीसँग छलफल गर्दा सुधारका विषय सोध्नुहुन्छ, आज यही मञ्चबाट ती प्रश्नहरू टेबलमा राख्न चाहन्छु।” उनले कम्पनीलाई यहाँसम्म ल्याउने अभिकर्ता र कर्मचारीको मनोबल जोगाउन तत्काल सोच्न आग्रह गरे।
अध्यक्ष गणेश अधिकारीले नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक तथा व्यवस्थापन टिममाथि गम्भीर प्रश्न उठाउँदै अभिकर्ता, कर्मचारी र बीमितलाई समान रूपमा प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
अध्यक्ष अधिकारीले कम्पनीको व्यवस्थापनसँग अभिकर्ताहरूको पहुँच कमजोर हुँदै गएको गुनासो गरे। “काठमाडौँ गएपछि अत्तोपत्तो पाइँदैन, भेटघाट हुँदैन, हामीले कुरा राख्न पाइरहेका छैनौँ,” उनले भने। आफूहरूले सेयरधनी, अभिकर्ता र बीमित तीनै पक्षको हैसियतले व्यवस्थापनलाई निरन्तर सुझाव दिँदै आए पनि सञ्चालक टिममा त्यसको प्रभाव नदेखिएको उनको आरोप छ।
उनले बीमा प्रोडक्ट बजारमा कसरी लैजाने, कुन प्रोडक्टले अहिलेको प्रतिस्पर्धी बजारमा अभिकर्तालाई प्रभावकारी रूपमा काम गर्न सहज बनाउँछ भन्ने विषयमा गम्भीर छलफल नहुँदा नेपाल लाइफ पछि पर्दै गएको बताए। “बजारमा अरु कम्पनीहरू पनि छन्, तर उनीहरू ढलमलाइरहेका छैनन्,” उनले भने।
अधिकारीले ब्याजदरको विषयमा पनि प्रश्न उठाए। अन्य कम्पनीले बैंकमा पैसा राख्दा बढी ब्याज पाउने तर नेपाल लाइफले कम ब्याज पाउने अवस्था किन आएको हो भन्दै उनले सीईओप्रति संकेतात्मक टिप्पणी गरे। यसैका कारण कम्पनीले बोनस दिन नसक्ने अवस्था देखिएको उनको भनाइ छ।
उनले स्थापना कालदेखि काम गर्दै आएका अभिकर्ताहरूको सेवा–सुविधामा व्यवस्थापनले कुनै ठोस सुधार नगरेको आरोप लगाए। “कानुनले दिएको बाहेक एक रुपैयाँ थपिएको छ त?” भन्दै उनले अभिकर्ताहरूले कम्पनीलाई यहाँसम्म ल्याइपुर्याए पनि उनीहरूप्रति उचित सम्मान र सुविधा नदेखिएको बताए।
बीमितहरूको सरेन्डर भ्यालु घटाइने, कम्प्युटर प्रणालीमा सच्याइने जस्ता प्रक्रियाले बीमित झस्किँदै आफ्नो पैसा फिर्ता लिन बाध्य भइरहेको उनले उल्लेख गरे। यसले कम्पनीको दीर्घकालीन विश्वासमा असर पार्ने भन्दै सञ्चालक टिमलाई गहन छलफल गरेर समाधान निकाल्न आग्रह गरे।
कर्मचारी व्यवस्थापनतर्फ संकेत गर्दै उनले आउटसोर्सिङको अभ्यासप्रति पनि आपत्ति जनाए। नेपाल लाइफले ब्याचलर तथा स्नातकोत्तर पास गरेका युवालाई १६–१८ हजार तलबमा आउटसोर्समार्फत काम लगाएर तालिम दिएपछि अन्य कम्पनीले बढी तलबमा लैजाने प्रवृत्ति बढेको उनले बताए। “बरु कर्मचारी संख्या घटाएर गुणस्तरीय कर्मचारी बनाउनुहोस्,” उनको सुझाव थियो।
अधिकारीले अन्त्यमा अन्य बीमा कम्पनीहरूले अभिकर्तालाई मेरुदण्डको रूपमा मानेर ठूलो कोष निर्माण गरिसकेको उदाहरण दिँदै नेपाल लाइफले पनि अभिकर्ताप्रतिको दृष्टिकोण परिवर्तन नगरे भविष्यमा कम्पनी कमजोर हुने चिन्ता व्यक्त गरे। सबै पक्ष—बीमित, अभिकर्ता, कर्मचारी र सेयरधनी—लाई मिलाएर अघि बढ्न आग्रह गर्दै उनले सञ्चालक, व्यवस्थापन टिम र उपस्थित सेयरधनीहरूलाई धन्यवाद ज्ञापन गरे।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया